सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी अनुशासन कायम गर्न एघार बुँदे आचारसंहिता जारी गरेको छ । अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयुक्त हस्ताक्षरमा जारी संहिताले पार्टी अनुशासनका लागि कठोर नीति लिने देखिन्छ । एघार बुँदालाई राम्ररी अध्ययन गर्ने हो भने व्यक्ति, समाज र राज्यलाई व्यवस्थित गर्ने प्रयास संहितामा व्यवस्था गरेको प्रष्ट बुझ्न सकिन्छ । संहिता संवैधानिक बाध्यता नभए पनि पार्टीको प्रावधानअनुसार, सदस्यता लिएका र शपथ ग्रहण गरेकाहरुलाई नेकपाको आचारसंहिताले महत्वपूर्ण अर्थ राख्छ ।
नेकपाले आफ्ना सदस्यले कस्तो आचार व्यवहार गर्ने, मनोविज्ञानको निर्माण कसरी गर्ने देखि समाज र राज्यसँग कस्तो सम्बन्ध राख्ने भन्ने सम्म उल्लेख गरिएको छ । नेपाली समाजले हेपिएको अनुभव गर्ने शब्दावली ‘तँ’ प्रयोगलाई पूर्णत बन्देज गर्न पार्टी पंक्तिमा सर्कुलर जारी गरेको छ भने सामुहिकताको भावना विकास गर्ने अभ्यास परिवारबाटै थाल्न उर्दी गरिएको छ । पाँच वर्ष पुगेका बालबालिकालाई अनिवार्य विद्यालय पठाउने बातावरण तय गर्नुपर्नेमा जोड दिइएको छ । जातीय, क्षेत्रीय, लैंगिक, धार्मिक लगायत कुनै पनि विभेद नगर्ने र गरेमा त्यस्ता सदस्यलाई पार्टीबाट निष्कासन गर्न प्रदेश र जिल्ला कमिटीका नेताहरुलाई निर्देशन नै जारी गरिएको छ ।
श्रमिक वर्गको सम्मान गर्न र कुनै पनि श्रममा आवद्ध हुने बानीको विकास गर्न तथा नेकपा आवद्ध नेताहरुले न्यूनतम पारिश्रमिकको व्यवस्था गर्नुपर्ने जस्ता कठोर संहिता नेकपाले निर्माण गरेको छ । घरायसी काममा श्रमिक सकेसम्म प्रयोग नगर्ने र गरिहालेमा विभेद नगर्ने संहिता समेत जारी भएको छ । अझः कमाईबाट राज्यलाई कर तिर्ने आदर्शवादी शब्द प्रयोग सुन्दा नेकपा अत्यन्तै आदर्शवादी मार्गतर्फ चलेको आभास दिने प्रयास गरिएको छ ।
तर मूल प्रश्न हो, कार्यान्वयन होला ? किनभने अहिलेको नेपाली समाजको चरित्र बहुलवादी, खुला र उदार लोकतन्त्र हो । यस्तो समाजमा नेकपाको संहिता कार्यान्वयन सजिलो छैन । त्यो भन्दा मूल प्रश्न त, नेतृत्व पंक्तिले अहिले जे गरिरहेका छन्, त्यसैमाथि उठ्छ । भ्रष्टाचार, फजुल खर्च, अनावश्यक तडकभडक, व्यभिचार देखि सुशासन विरोधी तत्व सँग सम्बन्ध राख्नेमा नेकपाका तल्ला तहका कार्यकर्ता होइन, नेतृत्व नै अग्रपंक्तिमा देखिन्छन् । यो संहिता कार्यान्वयन भए नेपाली समाजले नै रुप फेर्नेछ । किनभने, नेकपा शक्तिशाली सत्तारुढ दल मात्रै नभएर, नेपाली समाजको जरासम्म फैलिएको संगठन पनि हो । यसमा हुने परिवर्तनले सिंगो राज्यको परिवर्तन हुन सक्छ । तर, कार्यान्वयन भएन भने इतिहासका लागि झुटा दस्तावेज र अन्तर्राष्ट्रिय जगतमा भ्रम मात्रै पर्न जान्छ । देश भने झनै पछाडि धकेलिन सक्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies