-खेमराज निरौला
नेपाली जनजीवनको मुख्य आयस्रोत कृषि नै भएकाले कृषिको विकासबिना नेपालीहरूको जीवनस्तर उठाउन नसकिने कुरा स्पष्ट नै छ । कृषिको विकासबाट स्वदेशभित्र बचत र विनियोग बढी हुन सक्ने अवस्थाको सृजनालाई औद्योगिक विकासलाई सीमित आधार कायम हुने भएकाले नेपालमा कृषि विकासलाई बढी प्राथमिकता प्रदान गरिनुपर्ने हुन्छ । नेपालमा योजनाबद्ध विकासको प्रक्रिया प्रारम्भ हुनुभन्दा पूर्व पनि छिटपुट रूपमा कृषि विकास निमित्त केही प्रयत्न गरिएका छन्, जसमा केही सिँचाइ आयोजनाहरूको निर्माण भएको देखिन्छ । योजनाबद्ध विकास प्रक्रिया प्रारम्भ हुनुभन्दा पूर्व कृषि विकासको क्षेत्रमा उल्लेखनीय काम केही हुन सकेको पाइँदैन । योजनाबद्ध विकासको प्रक्रिया सुरु भएदेखि विकास कार्यहरूमा गरिने कुल लगानीको ठूलो अंश कृषि विकासमा लगानी गरिएको छ । आधारभूत सुविधाहरूको अभावमा विगत आवधिक योजनाहरूमा कृषिलाई प्रथम प्राथमिकता प्राप्त हुन नसके तापनि कुल लगानीको राम्रै अनुपात कृषि विकासमा उपयोग गरिएको छ ।
देशको जनसंख्याको करिब ६७ प्रतिशत जनता कृषि व्यवसायमा निर्भर रहेको नेपालजस्तो देशका लागि यस क्षेत्रको विकास र व्यवसायीकरण एक ठूलो चुनौतीका रूपमा रहेको कुरालाई अस्वीकार गर्न सकिँदैन । राष्ट्रिय उत्पादनको ४३ प्रतिशत र कुल निर्यातको ८० प्रतिशत अंश पनि कृषिक्षेत्रले ओगटेकाले यसको द्रुततर विकासमा नै नेपाल र नेपाली जनताको समृद्धि जोडिएको कुरा निश्चित छ । यसबाहेक हाल नेपालमा विद्यमान चिनी, जुट, चिया तथा अन्य कतिपय स–साना उद्योगहरू पूर्णतया कृषिमा आधारित छन् र कृषिक्षेत्रको विकासबाट मात्र यी उद्योगहरू फस्टाउन सक्ने कुरा निर्विवाद छ । कृषिमा आधारित यी उद्योगहरूमा हजारौं व्यक्तित्वले प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा रोजगारी पाइसकेका छन् । कृषिमा आधारित उद्योग जुट नेपालको प्रमुख निर्यात हुने वस्तु हो र नेपालले निर्यात व्यापारबाट आर्जन गर्ने परिवत्र्य मुद्राको धेरै भाग जुटले नै ओगटेको छ ।
खाद्यान्नको हिस्सा कुल कृषि गार्हस्थ्य उत्पादनमा करिब ४२ प्रतिशत र कुल बाली उत्पादनमा ७६ प्रतिशत हुन आउँछ । अतः खाद्यान्न उत्पादन र उत्पादकत्वमा थोरै परिवर्तन हुँदा कुल बाली उत्पादनका साथै सम्पूर्ण राष्ट्रिय उत्पादनमा नै यसको प्रत्यक्ष तथा व्यापक प्रभाव पर्छ । कुल गार्हस्थ्य उत्पादनको करिब २९.३७ प्रतिशत आय कृषिक्षेत्रबाट प्राप्त हुने भएकाले गरिबी न्यूनीकरण र खाद्य सुरक्षामा यस क्षेत्रको विकासबाट महत्वपूर्ण योगदान पुगेको छ । नेपालको अर्थतन्त्र समृद्ध बनाउनका लागि कृषिक्षेत्रको अत्यन्त महत्वपूर्ण योगदान रहेको भए तापनि यस क्षेत्रको उत्पादनको वृद्धिदर अपेक्षाकृत अझै सन्तोषजनक रूपमा अघि बढ्न सकेको छैन । कृषिक्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि आशातीत बनाई व्यवसायीकरणतर्फ लैजान सके मात्र देशको अर्थतन्त्र सबलीकरणतर्फ अग्रसर हुन्छ । हाम्रो जस्तो कृषिका लागि अनुकूल हावापानी, माटो, वातावरण भएको ठाउँमा पनि कृषिका नयाँनयाँ रणनीति र योजनाहरू बनाएर अघि बढ्न नसक्नु दुःखद छ । कृषि व्यावसायिक बन्न सकेको छैन ।
देशलाई कृषि उपजमा आत्मनिर्भर बनाउन सकिएन भने देश कसरी समृद्धिको बाटोमा अघि बढ्ला ? वैदेशिक रोजगारीको मोहले अहिले कृषियोग्य जमिन बाँझोमा परिणत भएका छन् । सिँचाइ, कुलोको राम्रो प्रबन्ध भएका ठाउँका जग्गाहरू पनि अहिले धमाधाम बाँझिने क्रममा छन् । गाउँघरमा कृषिको काम गर्ने जनको अभावले कतिपय जमिन बाँझिने क्रम जारी छ भने अर्कातर्फ सामान्य पढेलेखेको मानिस खेतबारीमा काम गर्न र पशुपालन गर्नलाई इज्जत र प्रतिष्ठासँग जोडेर हेर्ने प्रचलनले पनि गाउँघरका खेतबारी बाँझो बन्दै गएका छन् । यस्तो अवस्था रहिरहने हो भने मुलुकको अर्थतन्त्र कस्तो होला, चिन्ताको विषय बनेको छ ।
नेपाली अर्थतन्त्रमा समग्र कृषिक्षेत्रले खेलिआएको भूमिका प्रमुख रहेको छ । मुख्यतया ग्रामीण स्तरमा रहेको आम कृषक समुदायमा कृषिक्षेत्रबाट प्राप्त हुन गएको रोजगारीको अवसर मुलकलाई समष्टिगत रूपमा प्रदान हुने खाद्य सुरक्षाका कारण कृषिक्षेत्रको भूमिका महत्वपूर्ण रहेको छ । खुला बजारको अन्तर्राष्ट्रिय परिवेशमा मुलुकको कृषिक्षेत्रलाई व्यवसायीकरण तथा विविधीकरण गरी तुलनात्मक लाभ एवं प्रतिस्पर्धाको माध्यमबाट सक्षम बनाउनु आजको अपरिहार्य आवश्यकता बनेको छ ।
नेपालको अर्थतन्त्रको मेरुदण्ड कृषि नै हो भन्ने कुरा विभिन्न योजनाको लक्ष्य, उद्देश्य तथा रणनीतिहरूबाट प्रस्ट हुन्छ । हरेक योजनामार्फत कृषिक्षेत्रलाई प्रोत्साहन गर्ने प्रयास गरिएको छ । छुट्टै दीर्घकालीन कृषि योजनाको निर्माणले पनि नेपाली अर्थतन्त्रमा कृषिको भूमिका महत्वपूर्ण रहेको स्पष्ट हुन्छ । नेपालको हावापानी, जमिन, माटो र प्रचलनअनुसार विभिन्न प्रकारका कृषिबालीहरू लगाइन्छन् । नेपालमा एउटै प्रदेशमा पनि खेतीको स्वरूप भिन्न–भिन्न देखिन्छ । यसो हुनुको कारण खेतीलाई आवश्यक पर्ने वर्षा, आद्र्रता, माटोको स्वरूप, भूमिको स्थिति, हावापानी र सिँचाइको सुविधा फरक–फरक देखिनु हो । यस्तो विषमतायुक्त हावापानी भएको मुलुकमा कृषिक्षेत्र उपेक्षित हुनुले राष्ट्रिय अर्थतन्त्र नै प्रभावित भएको छ । नेपालको कृषिक्षेत्रमा अत्यन्त सीमित यान्त्रीकरण गर्न सकिएको देखिन्छ । हलो, कुटो, कोदालो विस्थापन हुन सकेको देखिँदैन ।
कृषिक्षेत्रमा प्राविधिक पछौटेपन कायम रहेको छ । यातायात र सञ्चारको असुविधाले गर्दा पनि प्रविधिका बारेमा जागरण ल्याउन सकिएको छैन । कृषिमा सूचना–प्रविधिको प्रयोगले कृषकहरूबीच सञ्चार आदानप्रदान गर्न, अनुभव साटासाट गर्न सहयोग पुग्छ । इन्टरनेटमार्फत कृषि उत्पादनहरूको बजार विस्तार गर्न तथा कृषिका नयाँ–नयाँ प्रविधिको जानकारी उपलब्ध गराउन सहज हुन्छ । विभिन्न भिडियोमार्फत कृषकहरूलाई उत्पादनको व्यावहारिक ज्ञान दिन सहज हुन्छ, तर यस्ता कुरा केवल गर्ने गफमा मात्र सीमित भएका छन् ।
कृषिलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा परिभाषित गरिन्छ, तर आज हाम्रो देशमा न कृषि उत्पादनले बजार पाएको छ, न कृषकले सहुलियत कृषि कर्जा पाएका छन्, न त सीप र प्रविधि नै भित्र्याउन सकिएको छ । कृषि विकासका लागि राज्यले पूरा गर्नुपर्ने अझै धेरै दायित्व पूरा भएकै छैनन् । जस्तै— कृषिउपजको उचित सङ्कलन, प्रशोधन, भण्डारण, विषादी परीक्षण केन्द्रको व्यवस्थापनजस्ता न्यूनतम सर्तहरू पनि पूरा भएका छैनन् । समस्या आइलागे एकले अर्कालाई देखाएर आफू उम्किने प्रवृत्तिले यो क्षेत्र उपेक्षित नै रहेको छ । अझ हामीकहाँ उद्यमशील संस्कृतिको विकास अपेक्षाकृत रूपमा हुन सकिरहेको छैन ।
केही नभए वैदेशिक रोजगारी त छँदै छ भन्ने ढुक्कको मानसिकताले लाखौं ऋण लिएर बिदेसिने युवा स्वदेशमै उद्यम गर्न तत्पर नहुनुले पनि यो क्षेत्र उपेक्षित बनेको छ । हाम्रो जस्तो प्रविधिको प्रयोगमा पछाडि रहेको मुलुकमा कृषि गर्नका लागि मानव संसाधन पर्याप्त मात्रामा उपलब्ध हुनुपर्छ । तर, देशका होनहार युवाशक्ति आफ्ना करेसाबारी बाँझै पारेर बिदेसिनुले मुलुक आत्मनिर्भर बन्न नसकेको हो । यस्तो परिस्थितिमा मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन कृषिक्षेत्रलाई आधुनिकीकरण गर्दै व्यावसायीकरणको बाटोतर्फ डो¥याउनु अपरिहार्य छ । कृषि शिक्षालाई विद्यालय तहको पाठ्यक्रमदेखि उच्च तहसम्म नै प्राथमिकतामा राखी आकर्षक बनाई निर्वाहमुखी कृषिलाई नाफामूलक, दिगो एवं व्यावसायिकतामा रूपान्तरण गर्नेतर्फ ध्यान जानु जरुरी छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies