काठमाडौं : आप्रवासी घरेलु कामदार घर फर्किन खुरुज भनिने एक्जिट पर्मिट नचाहिने भनी कतारले गरेको घोषणालाई मानव अधिकारवादी अन्तर्राष्ट्रिय संस्था ह्युमन राइट्स वाच तथा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले स्वागत गरेका छन् । कतारले गत जनवरी १६ मा मालिकको सहमति विना नै उक्त मुलुकमा घरेलु कामदारको हैसियतमा रहेका आप्रवासी कामदार घर फर्किन सक्ने व्यवस्था गरेको थियो ।
उक्त व्यवस्थाले कतारमा रहेका कृषि श्रमिक, निजी सवारी चालक, माली, बगैंचे जस्ता घरेलु कामदारलाई घर फर्किन सहज भएको थियो । ह्युमन राइट्स वाचकी वरिष्ठ महिला अधिकार अनुसन्धानकर्ता रोटाना बेगमले कतारको नयाँ व्यवस्थाको प्रभावकारी कार्यान्वयन भएका आप्रवासी कामदारहरुलाई उनीहरुको स्वतन्त्रता र इच्छा विपरित नियन्त्रणमा राखेर बाध्यकारी श्रममा लगाई शोषण गर्ने परिपाटीको अन्त्य गर्ने बताएकी छन् ।
अन्तर्राष्ट्रिय श्रम संगठन(आइएलओ) ले कतारको पछिल्लो कदमको स्वागत गर्दै त्यसको व्यवहारिक कार्यान्वयनमा जोड दिएको छ । कतारले स्वदेश फर्किन चाहने घरेलु कामदारले कतार छोड्नु भन्दा ७२ घण्टा अगाडि मात्र रोजगारदातालाई जानकारी दिए हुने व्यवस्था गरेको थियो । ह्युमन राइृट्स वाचले ७२ घण्टा अगाडि नै जानकारी नदिए आप्रवासी कामदारले मालिकबाट पाउने तलव लगायतका बाँकी रकम र हवाई टिकट नपाउने व्यवस्था विभेदकारी भएको र त्यसले कामदारलाईं शोषणबाट मुक्त नगर्ने टिप्प्णी गरेको छ ।
नेपाली कामदारको प्रमुख गन्तव्य मुलुकमा पर्ने कतारले आप्रवासी कामदारको अधिकार थप गर्दै जाँदा त्यसले नेपालीहरुलाई लाभ पुग्ने विश्लेष्ण गरिएको । कतारले न्यूनतम तलवमा पनि संशोधन र सुधार गर्ने भएको छ । कतारको संसद् शुरा काउन्सिलमा सोमबार त्यस विषयमा गम्भीर छलफल भएको कतारी सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यसका लागि कतारको श्रम मन्त्रालय अन्तर्गत ज्याला समिति गठन गर्ने भएको छ ।
उक्त समितिले कतारी मन्त्रिपरिषद्को निर्णय अनुसार आप्रवासी कामदारहरुको न्यूनतम तलव तोक्ने र तोकिएको तलवबारे अध्ययन गर्ने छ । त्यहाँको शुरा काउन्सिलले श्रम कानूनको मस्यौदामा विधायिका मामिला समितिबाट छलफल गराउने बताएको छ । कतारको पछिल्लो कदमलाई श्रम कानूनको सुधारमा उल्लेखनीय सुधारका रुपमा हेरिएको कतारको राष्ट्रिय मानव अधिकार समितिमा नेपाली डेक्स हेर्दै आएका प्रोफेसर रमजान अलि मियाँले बताएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies