काठमाडौँ : राष्ट्रियसभा सदस्यको निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गठबन्धनले क्लिन स्वीप गरेको छ । ६ वटा प्रदेशमा नेकपाले एक्लै १४ सिट जितेको छ भने प्रदेश दुईमा नेकपा र राजपाको गठबन्धनले दुई–दुई सिट जितेको छ ।
बिहीबार भएको निर्वाचनमा स्थानीय तहतर्फ ९९.१९ प्रतिशत मतदान भएको थियो भने प्रदेशसभा सदस्यतर्फ ९९.१५ प्रतिशत मत खसेको थियो । प्रदेश २ मा भने शतप्रतिशत मत खसेको छ । राष्ट्रियसभा सदस्यको १८ पदका लागि मतदान भएको थियो । निर्वाचनका लागि मुलुकका सातै प्रदेशका उच्च अदालत रहेका जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको थियो ।
प्रदेश २ मा नेकपा : राजपा विजयी
राष्ट्रियसभाका रिक्त ४ पदका लागी प्रदेश २ को निर्वाचनमा नेकपा–राजपा गठबन्धन विजयी भएको छ । घोषित मतपरिणाम अनुसार महिला कलस्टरतर्फ नेकपाकी तुलसा दाहाल विजयी भएकी छन् । दाहालले ५ हजार २ सय ८ मतभार प्राप्त गरेकी थिइन् भने उनको प्रतिद्वन्दी नेपाली कांग्रेसकी नगिना यादवले ४ हजार ७ सय ४० मत प्राप्त गरिन् ।
दलित क्लस्टरतर्फ नेकपाका राधेश्याम पासवान विजयी भएका छन् । पासवानले ५ हजार २ सय ९२ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्दी संघीय समाजवादी पार्टीका रामप्रीत पासवानले ४ हजार ७ सय ४ मत प्राप्त गरेका थिए ।
अन्य समूहबाट राजपाका मृगेन्द्र सिंह यादव ५ हजार ४ सय मतभार प्राप्त गरी विजयी भएका थिए भने उनका प्रतिद्वन्दी अनिरुद्ध यादवले ४ हजार ५ सय १२ मतभार प्राप्त गरेका थिए । यसैगरी अल्पसंख्यक समूहबाट राजपाका शेखरकुमार सिंह ५ हजार ५ सय २ मतभार प्राप्त गरी विजयी भएका छन । उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका भोला पजियार ४ हजार ५ सय १२ मत प्राप्त गरेका छन् ।
गण्डकी प्रदेश : दुबै सिटमा नेकपा
गण्डकी प्रदेशबाट राष्ट्रियसभाको दुई सिटका लागि भएको निर्वाचनमा नेकपाका उम्मेदवारहरु विजयी भएका छन् । नेकपाका प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् । निर्वाचनलगत्तै भएको मतगणनामा श्रेष्ठले ३४६२ र न्यौपानेले ३३६६ मतभार ल्याएको निर्वाचन कार्यालयले जनाएको छ ।
प्रदेश ५ : नेकपा तीनै सिटमा विजयी
प्रदेश ५ बाट राष्ट्रियसभा सदस्य निर्वाचनमा नेकपाका उम्मेदवार विजयी भएका छन् । नेकपाबाट महिलातर्फ बिमला घिमिरे, अपांग तथा अल्पसंख्यकमा जगप्रसाद शर्मा र अन्यबाट गोपाल भट्टराई विजयी भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए । अपांग/अल्पसंख्यक कोटाबाट शर्मा ५ हजार ४ सय २४ मतभारसहित विजयी भएका छन् ।
शर्माका प्रतिस्पर्धी नेपाली काँग्रेसका मेराज अहमद हलवाई १ हजार ९८६ मतभार प्राप्त गरेर पराजित भएका छन् । संघीय समाजबादी पार्टीका सुनिल सिंघलले ४२० मतभार प्राप्त गरेका छन् । महिलातर्फ घिमिरे ५ हजार ७ सय ७८ मतभार ल्याएर विजयी भएकी छन् । नेपाली काँग्रेसकी गिरिजादेबी न्यौपाने २ हजार १ सय मतभारसहित पराजित भएकी छन् ।
अन्य समूहका भट्टराई ५ हजार ३ सय ८२ मत ल्याएर विजयी भएका छन् । कांग्रेसका बालकृष्ण पाण्डे २ हजार ५२ मतभार प्राप्त गर्दा संघीय समाजवादीका कृष्णप्रसाद यादवले ४ सय ४४ र राष्ट्रिय जनमोर्चाका शिव पौडेलले १ सय ५६ मतभार प्राप्त गरेका छन् । प्रदेश ५ बाट तीन पदका लागि ९ जनाको उम्मेद्वारी परेको थियो ।
कर्णाली प्रदेश : दुबै सिटमा नेकपा
कर्णालीमा राष्ट्रियसभा सदस्यको चुनावमा नेकपाका उम्मेद्वार माया प्रसाद शर्मा र सुमित्रा बिसी विजयी भएका छन् । आचार्यले ३ हजार ६ सय १८ र बिसीले ३ हजार ६ सय ८४ मतभार प्राप्त गरेका छन् । यसैगरी नेपाली कांग्रेसका उम्मेदार डिल्लीराज पाठकले ९ सय ७६ र महिला उम्मेदार गणेश कुमारी बस्नेतले एक हाजर २१६ मतभार प्राप्त गरेका छन् ।
कर्णालीमा ९८.४८ प्रतिशत मत खसेको थियो । सुर्खेतका निर्वाचन अधिकृत राजेन्द्रप्रसाद आचार्यका अनुसार कुल १ सय ९८ मतदातामध्ये १ सय ९५ जना मतदाताले मतदान गरेका हुन् । कर्णालीमा कुल मतदातामध्ये तीनजना मात्रै उपस्थित भएनन् ।
निर्वाचन कार्यालयका अनुसार कालिकोटको तीलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपाली, डोल्पाको डोल्पो बुद्ध गाउँपालिका उपाध्यक्ष मल्लटासी गुरुङ र हुम्लाका नाम्खा गाउँपालिमका उपाध्यक्ष पेमा तामाङ मतदानमा उपस्थित नभएका हुन् ।
प्रदेश १ : नेकपा विजयी
राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ बाट सबै नेकपाका उम्मेदवार निर्वाचित भएका छन् । नेकपाका उम्मेदवारहरु गोपी अच्छामी, इन्दिरा गौतम र देवेन्द्र दाहाल निर्वाचित भएका हुन् । अच्छामी दलिततर्फका सदस्यमा, गौतम महिला र दाहाल अन्यतर्फका सदस्यमा निर्वाचित भएका हुन् ।
अच्छामीले ६ हजार ३ सय ३० मतभार पाए । उनका प्रतिद्वन्द्वी नेपानी कांग्रेसका निरबहादुर विकले २७ सय १८ र समाजवादी पार्टीका ज्ञानबहादुर परियारले ६ सय ६४ मतभार पाए । महिलातर्फ विजयी इन्दिरा गौतमले ६ हजार ४ सय २२ मतभार पाइन् । अन्यतर्फ विजयी दाहालले ६ हजार २ सय ३४ मतभार पाए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवेन्द्र घिमिरेले २ हजार ७ सय ६६ र समाजवादी पार्टीका भरतबहादुर दाहालले २ सय ६४ मतभार पाए ।
सुदूरपश्चिम प्रदेश
राष्ट्रियसभामा सुदूरपश्चिम प्रदेशको अन्य समूहबाट नेकपाका तारामान स्वाँर र महिला समूहबाट नेकपाकै शारदा भट्ट निर्वाचित भएका छन् । स्वाँरले ३७ सय २० मतभार पाए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रतापसिंह ठगुन्नाले १८ सय ४२ मतभार पाए ।
यसैगरी भट्टले ३ हजार ७ सय ३८ मतभार पाई विजयी भएकी भट्टले प्रतिद्वन्दी नेपाली कांग्रेसका तुलसी देवकोटाले भन्दा १८ सय ८४ मतभारले पराजित गरिन् । देवकोटाले १८ सय ५४ मतभार पाए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies