६ वर्षे कार्यअवधि तोकिएको राष्ट्रियसभाको निर्वाचन बिहीबार सकिएको छ । निर्वाचन सकिए लगत्तै परिणाम पनि आइसकेको छ । प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख निर्वाचक मण्डल रहेको राष्ट्रियसभाको परिणाम निश्चित प्रायः थियो । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेद्वार विजयी भएको बारे थप विश्लेषणको आवश्यकता नै रहेन । पराजित हुन सक्ने प्रदेश नम्बर दुईमा राष्ट्रिय जनता पार्टी (राजपा) सँग गठबन्धन गरेकाले त्यहाँ समेत नेकपा गठबन्धन नै विजयी भयो ।
राष्ट्रियसभा रिक्त नगर्ने संवैधानिक प्रावधान राखिएकाले तीन चरणमा निर्वाचन गर्ने व्यवस्थाअनुसार, पहिलो पटक १८ सदस्यका लागि निर्वाचन भएको छ । संविधान जारी भए पछि पहिलो पटक गठन गरिएको राष्ट्रियसभामा पहिलो पटक दुई, चार र ६ वर्षे समयअवधि राखेर गोला टिपाइएको थियो । त्यस मध्ये दुई वर्षे कार्यकालको गोला तान्ने सांसदहरुको स्थानमा निर्वाचन भएको हो ।
यो निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस नेतृत्वको गठबन्धन पराजित भएको छ । यो पराजय पनि पूर्व निर्धा्रित जस्तै थियो । किनभने, राष्ट्रियसभाका लागि मतदान गर्ने स्थानीय तहका प्रमुख तथा उपप्रमुख र प्रदेशसभा सदस्यमा काँग्रेस अल्पमतमा थियो । उसले अर्का प्रतिपक्षी दल समाजवादी पार्टी, नेपालसँग सहकार्य गरे पनि जित संभावना नजिक थिएन । त्यसैले, राष्ट्रियसभाको परिणाममा परिवर्तन ल्याउनलाई प्रदेश तथा स्थानीय तहमा काँग्रेसले बल लगाउनुपर्नेछ ।
सँगै, नेकपाले यसपटक जसरी जितेको छ, यो जित कायमै राख्न पनि जनमतमा जानैपर्नेछ । अर्थात्, अव तीन वर्ष पछाडि हुने प्रदेशसभा निर्वाचन र साढे दुई वर्ष पछाडि हुने स्थानीय तह निर्वाचनमा जनताको मन जित्नेगरी दुवै तर्फले काम गर्नुपर्नेछ । त्यसका लागि प्रतिपक्षी दलले त मेहनत गर्नुपर्ने नै छ । त्यो भन्दा ठूलो प्रश्न भने सत्ता पक्षमाथि नै उठ्छ । अहिले विजयको माला पहिरिएका राष्ट्रियसभा सदस्यहरु सँग समेत जनमतको प्रश्न जोडिन्छ ।
किनभने, प्रवुद्ध व्यक्तिहरु सामेल हुने कल्पना गरिएको राष्ट्रियसभाले समेत जनताको हितमा काम गर्न नसकेको आरोप लाग्दै आएको छ । जस्तो– संविधान प्रदत्त केही अधिकार खोसिनेगरी विधेयकहरु आइरहेको छ । यसको विरोध पनि भइरहेको छ । तर, प्रवुद्ध सदस्य भनिएको राष्ट्रियसभाले यसबारे जनताको भावना बुझ्नेगरी काम गरेको देखिदैन । तसर्थ, बिहीबार विजय माला सहित राष्ट्रियसभा भित्रिएका सांसदहरुले यसबारे गम्भीर हुन जरुरी छ । जनताका प्रतिनिधिले लगाइदिएका मालाको सम्मान, तिनै प्रतिनिधिहरुलाई सही मार्ग देखाउन सक्दा मात्रै सार्थक हुनेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies