-नारायण घिमिरे
स्वाद र पौष्टिकताको हिसाबमा भातसँग दाल वा तरकारीका रूपमा ग्वामग्वाम्ती मुछेर खान उत्कृष्ट रहेको भेटिएकाले राइस बिनको नामले चिनिने मस्याङको गेडा पौष्टिक उत्कृष्टताले भरपुर गेडागुडीमा पर्छ । पौष्टिक उत्कृष्टता हुँदाहुँदै पनि मस्याङ अत्यन्त कम प्रयोगमा आएको खानामा पर्छ ।
अझै पनि यसको पौष्टिकता र अन्य फाइदाहरूबारे धेरै मानिसमा जानकारी पुगेको छैन । हाम्रा किताबहरूमा यो कोसेबालीलाई न्याय पुग्ने गरी पूर्ण पोषण विवरणहरू समेत उपलब्ध हुने गरी प्रकाशित भएको नदेखिनु दुर्भाग्यपूर्ण छ । यसको पोषण उत्कृष्टताबारे जनस्तरमा जानकारी पुग्न सक्दा नेपालको कुपोषणविरुद्धको अभियानमा यो दलहन बालीको परोपकारी भूमिका रहन सक्छ ।
मस्याङको गेडाको औसत कार्बोहाइड्रेड ६० प्रतिशत, प्रोटिन २१ प्रतिशत, फ्याट २ प्रतिशत र क्रुड फाइबर ६ प्रतिशत थियो । क्रुड फाइबरमा मिनिरलहरूको मात्रा ५ प्रतिशत रहेको देखाएको थियो । खनिजहरूमा यसमा क्याल्सियम, फस्फेट, पोटासियम, फलाम, जिङ्क आदि पाइन्छ । मस्याङमा हुने क्याल्सियम दलहन बालीमा हुनेमध्ये उच्च हो । मस्याङ भिटामिन बी विशेष गरी थायमिन, राइबोफ्लेविन, नियासिन, प्यान्टोटेनिक एसिड र फोलेटको राम्रो स्रोत हो ।
खानामा प्रयोगशालामा परीक्षण गर्दा कति पोषण तत्व भेटिए भन्दा पनि रहेका उक्त पोषण तत्वमध्ये कति शरीरले प्राप्त गर्ने वा बायो–डाईजेसटेबल भेटियो, त्यो महत्वपूर्ण हुन्छ । गेडाको सुन्दर पक्ष के भने यसमा भेटिने क्याल्सियमको शरीरमा सोसिने क्षमता लगभग ६० प्रतिशत (गेडागुडीमा हुने औसत मात्रा २५ प्रतिशत), प्रोटिनको ५४ प्रतिशत हुने हुन्छ । मस्याङमा पाइने प्रोटिनमा मानवका लागि आवश्यक पर्ने धेरै एमिनोएसिड युक्त छ ।
मस्याङमा निकै कम चिल्लो पदार्थ हुन्छ तर जति हुन्छ स्वस्थ फ्याट्टी एसिड दयाक रहेको देखिन्छ । चिल्लोमा हुने फ्याटी एसिडमा शरीरलाई नभई नहुने लिनोलिक र लिनोलेनिक अनसेचुरेटेड फ्याटी एसिड हुन्छ । प्रोटिनमा आल्बुमिन लगभग ७ प्रतिशत, ग्लोबुमिन १४ प्रतिशत हुन्छ । अति महत्वपूर्ण कुरा के भने मस्याङमा कुनै विषयुक्त वा एलर्जी दिने तत्व भेटिँदैन ।
प्रायः सबै गेडगुडीमा रहने एन्टी–निउट्रिसनल फेक्टर्स हुने गर्छ । मस्याङमा फिनोलिक १.७ प्रतिशत, टोटल टेनिन १.४ प्रतिशत, ट्रिपसिन इनहिबिटर ३० मिलिग्राम प्रतिग्राम, फाइटिक एसिड ८ मिलिग्राम प्रतिग्राम, लिपोक्सिनेज एक्टिभिटी ८५० युनिट प्रतिमिलिग्राम र सपोनिन कन्टेन्ट २.५ मिलिग्राम प्रति १ सय ग्राम भेटिन्छ । फाइटेटजस्ता इन्जाइम इनहिबिटरको मात्रा अन्य दाल बालीभन्दा तुलनात्मक रूपमा मस्याङमा कम छ । सामान्य पकाउने तरिकाले फाइटेट धेरै हद सम्म घट्ने गर्छ ।
त्यस्तै प्रायः सबै गेडगुडीमा खाँदा पेटमा पुगेर पाद या ग्यास उत्पादन गर्ने तत्व समेत रहने गर्छ । मस्याङमा पाद या ग्यास उत्पादन गर्ने तत्व ओलिगोस्याकराईड रेफिनोज २ प्रतिशत, स्टाचिलोज १.५ प्रतिशत र भरबेसकोज १ प्रतिशतको हाराहारीमा हुन्छ । कोसे, दाल बालीमा भन्दा मस्याङमा पाद उत्पादन गर्ने तत्व कम भेटिन्छ, जुन फकाउँदा घट्छ । भुटेर भने घट्दैन ।
कुनै पनि खाना आफैंमा कति पौष्टिकताले भरपुर छ भन्ने कुरा पोषणको हिसाबमा सामान्य महत्वको, खानाको पौष्टिकता शरीरले कति सोसेर लिन सक्छ भन्ने कुरा अत्यन्त महत्वको र उक्त खानामा मानसिक, मनोवैज्ञानिक तन्दुरुस्ती व्यवस्थापन गर्न जरुरी हुने एन्टिअक्सिडेन्ट युक्त यौगिकहरू कति छन् भन्ने कुरा अत्यधिक चासो र महत्वको रहन्छ ।
खानाबाट प्राप्त गरिने एन्टिअक्सिडेन्ट युक्त यौगिक भन्नाले खानामा रहेका निश्चित विशेष तत्वहरू भन्ने बुझिन्छ । त्यस्ता निश्चित विशेष तत्वहरू जुन शरीरको नियमित गतिविधि सञ्चालनका क्रममा उत्पन्न हुने फ्री रेडिकलहरू उत्पन्न हुनासाथ तन्तुको कोशिका–कोशिका पक्डने, अयोन र मलिकुलहरूलाई धातुहरूसँग जोडी निष्क्रिय पार्ने, शरीरलाई चाहिने अक्सिजन उत्पादनमा सहयोग गर्ने साथै त्यस्ता रेडिकल मिश्रित यौगिकहरूलाई कोशिका, तन्तु र अङ्गहरूलाई हानी पुर्याउन नदिने गरी शरीरबाट बाहिर निकाल्न सहयोगी हुने गुण र क्षमतालाई जनाउँछ ।
एन्टीअक्सिडेन्ट क्षमताले सरिरमा उत्पन्न हुने फ्री–रेडिकलबाट शरीरको कोशिकाको हानि हुनबाट जोगाउँछ । मस्याङमा क्याटेचिन, इपिक्याटेटिचिन, किउमारिक एसिड, फेरुलिक एसिड, भिटेक्सिन, आइसोभिटेक्सिन, सिनापिक एसिड, क्युएरसेटिनजस्ता आठ प्रकारका एन्टिअक्सिडेन्टयुक्त फिनोलिक यौगिकहरू उल्लेखनीय मात्रामा भेटिनुले यो कोसे बालीलाई उत्कृष्ट कोसे बालीको दर्जा दिलाउँछ । मस्याङको औसत एन्टिअक्सिडेन्ट गतिविधि ४२ युनिटजति देखिएको छ, जुन स्वस्थ जीवनका लागि अत्यन्त सुखद समाचार हो ।
खानामा रहने ग्लुकोसिडेज गतिविधिको प्रतिरोधी क्षमताले मानिसमा टाइप–टु मधुमेह उत्पन्न हुने प्रक्रिया रोक्न सहयोगी हुन्छ । मस्याङको ग्लुकोसिडेज गतिविधिको प्रतिरोधी क्षमता औसत ५५ युनिट हाराहारीमा भेटिन्छ । खानाको गलाइकेसन हुने प्रक्रियाको प्रतिरोधी क्षमताले मिर्गौलाको रोग हुनबाट जोगाउँछ । मस्याङको गलाइकेसन हुने प्रक्रियाको प्रतिरोधी क्षमता औसत ६० भेटिएको छ । गलाइकेसन हुँदा खानामा हुने प्रोटिनको आणविक संरचना बिग्रने हुन्छ । आणविक संरचना बिग्रेको प्रोटिनले शरीरमा ट्युमर र क्यान्सरजस्ता विकृति जन्माउँछ । तसर्थ मस्याङको गलाइकेसनप्रतिरोधी क्षमता क्यान्सरप्रतिरोधी समेत रहन्छ । यो डाटाले मस्याङ अन्य गेडागुडीको तुलनामा पौष्टिकतापूर्ण गेडगुडी रहेको पुष्टि गर्छ ।
परम्परागत चिनियाँ औषधी विज्ञानको दाबाअनुसार मस्याङको गेडामा हुने औषधीय क्षमता अन्य सबै कोसे बालीका गेडामा हुने औषधीय गुणहरूभन्दा उत्तम रहन्छ । मस्याङको औषधीय गुणहरू शरीरमा लाभदायक तरल पदार्थ उत्पादन गर्ने, पिसाब खुलाउने, शरीरको सुजन अथवा सुन्निने कम गर्ने, बान्ता रोक्ने, पखाला हुँदा र मदिराको नशाको उपचारमा प्रयोगमा आउने, चिसो गडेको निको गर्ने, घाउमा पिप आउन घटाउने, रगत पातलो पार्ने र धेरै दूध आउने बनाउने आदि हुन् ।
मस्याङजस्ता गेडागुडीहरूको पौष्टिकताको सदुपयोगको विकल्पबारे चर्चाको सन्दर्भमा नेपालमा विद्यमान डरलाग्दो कुपोषण जोडिन आउँछ । कुपोषणको मूल कारक बच्चा जन्मनु अगावै र जन्मेको तीन वर्षभित्र उसले पाएको स्याहारसुसारमा पुग्न नसकेको कमजोरी हुने गर्छ । वर्तमान कथित कुपोषणविरुद्धको सरकारी र गैरसरकारी निकायबाट देखाइएको टालटुले समाधानको विकल्प भने कुपोषणको मूल कारकले पैदा गरेको लक्षण दबाउन केन्द्रित छ ।
आमाको पेटभित्र एक बच्चाको स्वस्थ भ्रुण बसाउन महिला गर्भवती हुनुअघि गर्भाशयमा रहेको डिम्बको स्वस्थ, पुरुष वीर्यको तन्दुरुस्ती, गर्भवती हुँदै गरेकी महिलाको शारीरिक र मानसिक स्वस्थ अवस्था आदिबारे ध्यान पुर्याउनु जरुरी छ । गर्भवती बनिसकेकी महिलाको कोखमा रहेको गर्भको सन्तुलित र सुरक्षित विकासमा भने गर्भवती महिलाले लिने चिन्ता, श्वास–प्रश्वास, पानी, खाना, जीवन पद्धति, वरिपरिको वातावरण र त्यसले पु¥याएको मानसिक र शारीरिक स्वस्थ तथा तन्दुरुस्तीले भूमिका खेल्छ ।
महिला गर्भवती भएको १६ औं दिन आसपासमा एम्ब्रोइनिक तन्तुबाट निउरल प्लेट बनी मानिसको स्नायु प्रणाली विकास हुन् थाल्छ । त्यसको दुई–चार दिनभित्रै निउरल ग्रोभको स्पष्ट स्केच विकास हुँदै २१ सांै दिन पुग्दा–नपुग्दा निउरल ग्रोभ निउरल प्लेटसँग जोडिँदै निउरल ट्युब बनिसक्छ । निउरल ट्युबअगाडिको भागबाट टाउकोमा हुने अगाडिको, बीचको र पछाडिको मस्तिष्क बन्छ भने बाकी मेरुदण्ड भित्रको स्पिनलकर्ड बन्ने गर्छ ।
मात्र ७ हप्ता पुग्दा नपुग्दा मस्तिष्कको तिनै भागको तीव्र विभाजन हुने क्रम सुरु हुने र सशक्त स्नायु प्रणालीको विस्तारको अभियान सुरु हुने गर्छ । स्नायु प्रणाली विकास हुने क्रममा प्रत्येक मिनेट कम्तीमा २ लाख ५० हजार निउरोनको केसीका बन्ने गर्छ । बच्चा जन्मेको दुई वर्षसम्म यो तीव्र विकास क्रम जारी रहन्छ । यही दुई वर्षभित्र मानिसको जीवन भर हुने दिमागको वृद्धिको ८० प्रतिशत वृद्धि हुने गर्छ । दुई वर्षभित्रै ८० प्रतिशत दिमागको वृद्धि हुने चक्रमा पहिलो तीन वर्ष बाल बालिकाहरूमा हुने मानसिक र शारीरिक विकासमा पुग्ने अवरोध वा संक्रमण उसको जीवनभर हुने शारीरिक तन्दुरुस्तीको ९० प्रतिशतभन्दा धेरै हिस्सा ओगटेको हुन्छ ।
कुपोषणविरुद्धको समाधानको विकल्प भनेको सामाजिक सचेतना जगाउने, मस्याङजस्ता रैथाने विकल्प पहिल्याएर आमाको पोषणमा ध्यान दिने, स्तनपानलाई महत्व दिने, रैथाने उत्पादनमा आधारित बाल पौष्टिकतामा ध्यान दिने, सुदृढीकरण वा फोर्टिफाइडभन्दा पूरक आहारको विकल्प अनिबार्य छ । अत्यधिक वा अल्ट्रा प्रशोधित चाउचाउ, चिप्स, कुरकुरेजस्ता जङ्क खानाविरुद्ध ग्रामीण स्तरसम्म अभियान सञ्चालन गर्नु जरुरी छ । स्थानीय स्तरमै उब्जेको भए पनि कीटनाशक र स्टेरोइडदायक खाद्य प्रयोग निषेधका लागिसमेत सचेतना अनिवार्य बनेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies