काठमाडौं : नेपाली कांग्रेसभित्र डेढ महिना अगाडि देखि देखिएको आन्तरिक विवाद सहमतिकै आधारमा समाधान भएको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा शुक्रबार बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म बसेको शीर्ष नेताहरुको छलफलमा विवाद सहमतिका आधारमा समाधान भएको हो ।
विवाद समाधान भएपछि माघ १३ गते सोमबारका लागि कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । शीर्ष नेताहरुका बीचमा भएको छलफलमा गत पुस ११ गतेको केन्द्रीय समिति बैठकले गरेका निर्णय मध्ये महाधिवेशनको कार्यतालिका र कार्यविधी संसोधन गर्ने सहमति भएको छ ।
पुस ११ गतेको केन्द्रीय समितिको बहुमतले गरेको निर्णय मध्ये विभागको संख्या थप गर्ने र तरुण दलको कार्यसमितिको म्याद थप गर्ने विषय आपसी छलफल गरि माघ १३ गतेको केन्द्रीय समितिको बैठक अगावै टुंगो लगाउने सहमति भएको नेता डा मिनेन्द्र रिजालले जानकारी दिए । पुस ११ गते २०७७ साल फागुन ७ गतेदेखि १० गतेसम्म १४ औं महाधिवेशन गर्ने गरी कार्यतालिका तय भएको थियो ।
त्यसैगरि क्रियाशील सदस्य वितरण सम्बन्धी केहि धारा निलम्बन गरेर महाधिवेशनका लागि कार्यविधी तयार गरिएको थियो । सोही बैठकमा कांग्रेसको विभागको संख्या बढाएर ४७ पुर्याइएको थियो भने तरुण दलको बर्तमान कार्यसमितिको म्याद ६ महिनाका लागि थप गरिएको थियो ।
आजको बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति बिमलेन्द्र निधि, महामन्त्रीद्धय डा शशांक कोइराला, पूर्णबहादुर खड्का, पूर्बमहामन्त्रीद्धय सिंह र सिटौला, नेता डा मिनेन्द्र रिजाललगायतको उपस्थित थियो ।
गत पुस ११ गतेको केन्द्रीय समिति बैठकले पार्टीको महाधिवेशन, केन्द्रीय विभाग, भ्रातृ संस्थासम्बन्धी निर्णय गरेको थियो । जुन बैठक बरिष्ठ नेता पौडेल समूहले बहिष्कार गरेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies