काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले कुवेतको एक निर्माणस्थलमा ६ जना नेपालीहरूको मत्यु हुनेगरी भएको घटनाको यथार्थ जानकारी गराउन नेपाल सरकारसँग आग्रह गरेको छ । आयोगले शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई एकसाथ पत्राचार गर्दै घटनाबारे चासो राखेको हो ।
आयोगले वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरूको सुरक्षा तथा कार्यस्थलमा उनीहरूको मानव अधिकारको सुनिश्चितताको लागि दीर्घकालीन कार्ययोजना र नीति बनाएर आवश्यक सुरक्षा व्यवस्था मिलाउन सरकारलाई सुझाव दिएको छ ।
आयोगले घाइते भएकाहरूको प्रभावकारी र निःशुल्क उपचार गर्न, आवश्यक राहत, क्षतिपूर्ति उपलब्ध गराउन पनि माग गरेको छ । गत माघ २९ गते चिनियाँ कम्पनीले सञ्चालन गरेको निर्माणस्थलमा ढुंगासहितको ढिस्कोले पुरिँदा ६ जना नेपालीको मृत्यु भएको थियो भने २ जना घाइते भएका थिए । उनीहरू कुवेतस्थित युनिभर्सल लेडर्स ट्रेडिङ एण्ड जनरल कन्ट्याक्टिङ कम्पनी’ मार्फत अल–मुत्ला सिटी प्रोजेक्टमा कार्यरत रहेको नेतापली दूतावासले जनाएको छ ।
घटनामा सिरहाका गंगाराम चौधरी, दाङका श्यामनारायण चौधरी, पाल्पाका एकबहादुर गाहा, ताप्लेजुङका वसन्त गुरुङको मृत्यु भएको भएको हो । दूतावासका अनुसार, मृतकमध्ये २ को अझै पहिचान भएको छैन । दुर्घटनामा मनोरथ मण्डल र धर्मेन्द्रकुमार शाह घाइते भएका छन् । घाइतेमध्ये शाहको कुवेतस्थित जाहरा अस्पतालमा उपचार भइरहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies