-ज्ञानमणि नेपाल कालोटोपी
नेपालको संविधान, २०७२ ले नेपालमा पूर्ण संघीयताको ढाँचा अवलम्बन गरी संविधानको धारा ५६ बमोजिम तीन तहका सरकार गठन हुने व्यवस्था गरेको छ । केन्द्रमा संघीय सरकार, सातवटा प्रदेश सरकार र ७ सय ५३ वटा स्थानीय सरकारको व्यवस्था गरी सोको अधिकार, कर्तव्य र कार्य पद्धतिको समेत व्यवस्था नेपालको संविधानमा उल्लेख भएको छ । यसैअनुरूप प्रदेश नं. २ को गठन भएको छ । यस प्रदेशमा तराईका ८ जिल्ला सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा रहेका छन् । यो पहाड र हिमाल नभएको एकमात्र प्रदेश हो भने यहाँका सबै जिल्लाले भारतसँगको सिमाना छोएका छन् ।
प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरमा रहेको छ । यहाँ १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १ सय ३६ स्थानीय तह छन् । यहाँको जनसंख्या नेपालको कुल जनसंख्याको २०.४५ प्रतिशत अर्थात् ५४ लाख ४ हजार १ सय ४५ छ । आकारका हिसाबले यो सबैभन्दा सानो प्रदेश हो । कुल भूभागको ५.७५ प्रतिशत क्षेत्रफल यसले ओगटेको छ । प्रदेशमा कुल ९ लाख ३२ हजार ३ सय ८ घरधुरी रहेको छ । नेपाल राष्ट्र बैंकले बताएअनुसार प्रदेशको प्रतिव्यक्ति आय ७ सय ९९ डलर छ, जुन राष्ट्रिय आय औसत अमेरिकी डलर १ हजार ४ भन्दा धेरै कम हो । प्रदेशको समग्र गरिबी दर २७.७५ छ, जुन राष्ट्रिय गरिबी दर २५.२५ भन्दा बढी छ । प्रदेश नं. २ ले चालू आर्थिक वर्ष २०७६÷७७ का लागि ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारको बजेट ल्याएको छ ।
कृषि यस प्रदेशको मुख्य आर्थिक आधार हो । यस प्रदेशको कुल ९ हजार ६ सय ६१ वर्ग किलो मिटर भू–भागमध्ये ५४.४५ प्रतिशत जमिन खेतीयोग्य छ । कृषि यहाँको मुख्य पेसा र जीवन निर्वाहको सबभन्दा ठूलो स्रोत हो । यहाँ सानो–सानो टुक्रामा विभाजित जमिनका कारण कृषि उपकरण र यन्त्रको प्रयोग आवश्यक मात्रामा हुन सकेको छैन । नेपालको कृषि उत्पादनमा यस प्रदेशको योगदान करिब १३ प्रतिशत रहेको देखिन्छ । प्रदेशको जीडीपीमा भने कृषिक्षेत्रको योगदान ३९ प्रतिशत छ । देशको कुल उत्पादनमध्ये करिब २१.६१ प्रतिशत खाद्यान्न, २०.७५ प्रतिशत फलफूल र २५.८८ प्रतिशत तरकारी यसै प्रदेशमा उत्पादन गरिन्छ । यो प्रदेशको चुरेक्षेत्र जडीबुटीहरूको पनि स्रोत हो ।
प्रदेश नं. २ को ६ लाख २ हजार ३ सय ६ हेक्टर कृषियोग्य जमिनमध्ये ५ लाख ६५ हजार ९१ हेक्टर जमिन सिँचाइयोग्य छ । तर, हालसम्म यहाँ ३ लाख ७२ हजार १ सय ३८ हेक्टरमा मात्र सतह र भूमिगत जलस्रोत उपयोग गरी सिँचाइ सुविधा पु¥याउन सकिएको छ । प्रदेशको कुल कृषिभूमिमध्ये ७० प्रतिशत क्षेत्रफलमा कोसी पश्चिम, कमला, वागमती सिँचाइ नहरहरूबाट र अन्य साना कुलोपैनीहरूबाट मौसमी सिँचाई सुविधा उपलब्ध छ । तथापि अधिकांश सिँचाइ योजना प्राकृतिक नदी प्रणालीको अवधारणामा निर्माण गरिएकाले वर्षैभरि एकै नासले सिँचाइको भरपर्दो सेवा उपलब्ध हुन सकेको छैन । जलविद्युतमा भने यहाँ अन्य प्रदेशमा जस्तो सम्भावना कम छ । यहाँ जम्मा २ सय मेगावाट मात्र विजुली उत्पादन हुन सक्ने सम्भावना रहेको विभिन्न अध्ययनले देखाएको छ ।
देशको कुल औद्योगिक उत्पादनमा प्रदेश नं. २ को योगदान २४ प्रतिशत रहेको छ । कुनै पनि देश वा प्रदेशको तीव्रतर आर्थिक वृद्घिमा उद्योग विकासको ठूलो भूमिका हुने गर्छ । औद्योगिक नगरी वीरगन्ज यसै प्रदेशमा छ । राष्ट्रिय औद्योगिक गणनाले देखाएअनुसार देशमा विद्यमान उद्योगमध्ये १९.९ प्रतिशत उद्योग यस प्रदेशमा रहेको छ । घरेलु तथा साना उद्योगहरू भने अझै उल्लेख्य मात्रामा रहेका छन् । प्रादेशिक कुल गार्हस्थ्य उत्पादनमा उद्योगक्षेत्रको योगदान सबैभन्दा बढी यसै प्रदेशमा छ । एक तथ्याङ्कअनुसार प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा समग्र उद्योगको योगदान २२.१ प्रतिशत छ । देशको कुल राजस्वमध्ये यहाँ ३०.१२ प्रतिशत सम्म राजस्व संकलन भएको देखिएको छ ।
मुलुकको पर्यटकीय गतिविधि अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको बारा जिल्लामा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजना २०७१÷७२ मा सुरु भई आ.व. २०७८÷७९ मा सम्पन्न हुने लक्ष्य छ । आयोजनाको कुल अनुमानित बजेट १ खर्ब २० अर्ब छ । यसमा आ.व २०७६÷७७ मा १ अर्ब ५० करोड विनियोजन गरिएको छ । यहाँ वन क्षेत्रभित्र रहेको रुख कटान गर्न अनुमति प्राप्त नभएको र मुआब्जाका लागि सबै घरधनीबाट हकदाबीको निवेदन प्राप्त हुन सकेको छैन । निर्माणको मोडालिटी तय हुन नसक्दा ठेक्का प्रक्रिया अझै अघि बढाउन सकिएको छैन । यो राष्ट्रिय महत्व बोकेको गौरवको आयोजना पनि हो ।
यस्तै बारा जिल्लाको निजगढदेखि काठमाडांैसम्म चार लेनमा निर्माण हुने तराई–मधेस द्रुत मार्गको कुल लम्बाई ७६.४ कि.मि. रहेको छ । यो सडकलाई तराईका जिल्लाहरू काठमाडौंसँग जोड्ने द्रुतमार्गका रूपमा लिइएको छ । आ.व. २०६४÷६५ मा सुरु भई २०७७÷७८ सम्ममा सम्पन्न हुने अनुमान रहेको यस आयोजनाको कुल लागत १ खर्ब ११ अर्ब रहने अनुमान गरिएको छ । आ.व. २०७६÷७७ मा यस आयोजनाका लागि १५ अर्ब विनियोजन गरिएको छ । यो मार्ग निर्माण सम्पन्न हुने हो भने केन्द्रीय राजधानीसँग तराईका जिल्लाहरू जोड्न छिटो र छोटो हुने निश्चित छ ।
प्रदेश नं. २ प्रशस्त पर्यटकीय सम्भावना बोकेको प्रदेश हो । प्रदेशमा उपलब्ध विशिष्ट ऐतिहासिक सांस्कृतिक, धार्मिक एवं प्राकृतिक सम्पदाहरूलाई पर्यटकीय प्रयोजनमा ल्याउन सकिने सम्भावनालाई दृष्टिगत गरी यस्ता सम्पदाको यथोचित संरक्षण गर्नु आवश्यक छ । मिथिला संस्कृति यहाँको मूल संस्कृति हो । जनकपुरको जानकी मन्दिर प्रदेशको मात्र नभएर देशकै ठूलो विशेषता बोकेको धार्मिक गन्तव्य हो ।
यहाँको धार्मिक पर्यटन प्रवद्र्घनका लागि रामायण सर्किट विस्तार गरी रामनवमी धार्मिक उत्सवहरूको प्रवद्र्घन, अन्तर प्रदेश धार्मिक सर्किट विकासका साथै जनकपुरको जानकी मन्दिर, धनुषाधामलगायतबाट फाइदा लिन सकिन्छ । यस प्रदेशका धार्मिक गन्तव्यहरू मध्ये जानकी मन्दिरका अतिरिक्त बाराको गढीमाई पनि मुख्य छ, जहाँ विश्वमै सबैभन्दा धेरै पशुबलि दिइने गरिएको छ ।
नयाँ पर्यटकीय गन्तव्यहरूको खोजी र विकास गर्न सके र प्रदेशमा भएका विविध समुदायका संस्कृतिहरूलाई पर्यटन व्यवसायसँग आबद्घ गर्न सके यसबाट प्रदेशले राम्रो फाइदा लिन सक्नेछ । पर्यटन विकासका लागि सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक, तालतलैया, मनोरञ्जन, बैठक, सम्मेलन, पर्व उत्सवलगायतलाई मध्यनजर गरी प्रदेश सरकारले प्याकेजका कार्यक्रमहरू तयार गर्ने हो भने अरू प्रदेशभन्दा कम छैन प्रदेश नं. २ ।
१४ औं शताब्दीका राजा सलहेसको सम्झनामा सिरहामा प्रत्येक वर्षको वैशाखमा मेला लाग्छ । नयाँ वर्ष पारेर लाग्ने मेलामा सिरहाका पराक्रमी राजा सलहेसको गाथा गाउने गरिन्छ । हरेक वर्ष वैशाख २ गते एक दिनमात्र मेला लाग्ने यस ऐतिहासिक एवं धार्मिक स्थलमा सिरहा, सप्तरी, उदयपुर, धनुषा र भारतका विभिन्न स्थानबाट हजारौं श्रद्धालुको घुइँचो लाग्छ । ती स्थानमा राजा सलहेस गाथासँग जोडिएका पात्रहरूको हात्तीमा सबार मूर्ति देख्न पाइन्छ ।
मिथिलाञ्चलमा सलहेसलाई लोकदेवताका रूपमा मान्ने गरिन्छ । सलहेस जयन्तीको पूर्वसन्ध्यामा सिरहाको पतारीस्थित फूलबारीमा रहेको हारमको रूखमा फुल्ने दुर्लभ सुनाखरीको फूललाई सलहेस र उनकी प्रेमिका मालिनी बीचको प्रेमको प्रतीकका रूपमा व्याख्या गरिन्छ । हारमको रूखमा प्रत्येक वर्ष वैशाख १ गते मात्र फुल्ने सुनाखरी फूलको माला सलहेस र मालिनीबीचको प्रेमको साइनो हो ।
यो प्रदेशको उत्तरतर्फ चुरेको ठीक मुनि ढुंगा, कंकडयुक्त ठाउँ भएकाले त्यहाँ खेती हुँदैन र जंगलले ढाकेको छ, जसलाई चारकोशे झाडी भनिन्छ । ४८ हजार हेक्टर क्षेत्रफलमा फैलिएको जंगल कुनै बेला देशकै उत्कृष्ट रहेकोमा अहिले विस्तारै विनाशको चपेटामा परी साँघुरिंदै गएको छ । अवैध रूख कटानीका कारण घना जंगल पातलिएको हो । राजनीतिक द्वन्द्व र बढ्दो दण्डहीनताको मौका छोपेर जंगलमाथि आधिपत्य जमाउने र यसलाई स्रोत बनाएर अवैध फाइदा लिने क्रमले चारकोसे जंगल मेटिन लागेको छ ।
वनमा रुख कटानी तीव्र रूपमा बढेपछि पहिले देखिने ठूला रूखहरू अहिले भेट्न सकिंदैन । एक तथ्यांक अनुसार विगत ११ वर्षमा यहाँको जंगल पनि बर्सेनि ११ सय हेक्टर अतिक्रमणमा पर्दै आएको छ । यहाँको वनलाई जोगाउन ठूलो चुनौती थपिएको छ । जंगल वरिपरिका सिमरा, काँटगाउँ, निजगढ, रतनपुरी, भरतगन्ज सिगौल, हरैया, रामनगर, मधुवन, टाँगियाबस्ती, डुमरवानालगायतका क्षेत्रमा जंगल फँडानी गरी अतिक्रमण गरिएको छ । यो जंगल पर्सा राष्ट्रिय निकुन्जबाट पूर्व हुँदै धरान, कोसीटप्पु र झापा जिल्लासम्म नै फैलिएको छ ।
प्रदेश नं. २ र वागमती प्रदेशमा पर्ने चितवन, मकवानपुर र पर्सा जिल्लाका केही भागहरू समेटेर पर्सा राष्ट्रिय निकुन्ज फैलिएको छ । यसको स्थापना वि.सं. २०४० समा भएको हो । यसको क्षेत्रफल ६ सय २७ वर्ग किमि छ । यो चितवन राष्ट्रिय निकुञ्जको पूर्वपट्टिको विस्तारित क्षेत्र हो । ५ सयदेखि ९ सय ५० मिटरसम्म अग्लो चुरे पर्वतले यसको सबैजसो भूमि ढाकेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies