काठमाडौं : चालू आर्थिक वर्ष ०७६/७७ को ६ महिनामा वैदेशिक रोजगारमा जाने नेपालीको संख्या वृद्धि भएको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ । सरकारले स्वदेशमा रोजगारी सिर्जना गर्ने बताइरहेका बेला वैदेशिक रोजगारीमा जाने क्रम थप बढेको हो ।
बैंकले संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरणको विभिन्न प्रक्रिया पूरा गरी प्रदान गरिने श्रमस्वीकृतिका आधारमा यसबारे तथ्यांक संकलन गरेको थियो । यस क्रममा चालु आर्थिक वर्षको ६ महिने अवधिमा अघिल्लो वर्षभन्दा १७.७ प्रतिशतले वृद्धि भएको पाइएको छ । अघिल्लो वर्षको सोही अवधिमा वैदेशिक रोजगारीमा जाने कामदारहरूको संख्या ३७.३ प्रतिशतले घटेको थियो ।
पुनः श्रमस्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने घटेको पाइएको छ । अघिल्लो आर्थिक वर्षको ६ महिनामा ४.५ प्रतिशतले बढेको पुन : श्रमस्वीकृति चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा भने ०.५ प्रतिशतले मात्र बढेको राष्ट्र बैंकले जनाएको छ ।
वैदेशिक रोजगारीमा जाने कामदारहरूको संख्यामा वृद्धि भएसँगै नेपाल आउने रेमिट्यान्समा पनि सुधारको संकेत देखिएको बैकले जनाएको छ । चालु आर्थिक वर्षको भदौ, असोज र कात्तिकमा घटेको रेमिट्यान्स पुसमा महिनासम्म आइपुग्दा ०.९ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्षको ६ महिनाको तथ्यांकमा आधारित समष्टिगत आर्थिक तथा वित्तीय स्थितिबारे जानकारी दिँदै राष्ट्र बैंकले यस अवधिमा ४ खर्व ४७ अर्ब २६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको बताएको छ ।
बैंकले पछिल्ला महिनाहरूमा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरूको संख्यामा वृद्धि हुँदै गएकोले आगामी महिनामा विप्रेषण आप्रवाहमा सुधार भई नेपालको आर्थिक अवस्था सुदृढ हुनसक्ने अनुमान गरेको छ । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म अघिल्लो वर्षको सोही अवधिको तुलनामा २ दशमलव ३ प्रतिशतले कमी आएर रेमिट्यान्स ३ खर्ब ४ अर्ब ९७ करोड रुपैयाँमात्र भित्रिएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies