कर्ण कुमाल/मध्यान्ह
कालीकोट : कालिकोटको नरहरिनाथ गाउँपालिकामा बसोबास गर्ने महिला तथा किशोरीहरुका लागि सेनेटरी प्याड वितरण गर्ने कार्यक्रम गाउँपालिकाले ल्याएपछि यसलाई कसरी व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले अभिमुखिकरण गोष्ठीको आयोजना गरिएको छ । नरहरिनाथ गाउँपालिका अन्तर्गत आधारभुत स्वास्थ्य तथा सरसफाई शाखाको आयोजना, स्वास्थ्य शाखाका प्रमुख अमर बटालाको अध्यक्षता, गाउँपालिकाका अध्यक्ष धीर बहादुर बिष्टको प्रमुख आथित्यता र गाउँपालिकाका उपाध्यक्ष मनशोभा बुढाको विशेष आथित्यता सेनेटरी प्याड निशुल्क वितरण गर्नका लागि सेनेटरी प्याड वितरण अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा गाउँपालिका भित्रका ५ वटै स्वास्थ्य चौकीका प्रमुख र ९ वटै वडाका ४९ जना महिला स्वास्थ्य स्वयंसेविकाको उपस्थितिमा सेनेटरी प्याड वितरण सम्बन्धी अभिमुखिकरण गोष्ठी सम्पन्न गरिएको हो ।
स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य संवयसेविकाहरुले गाउँका महिलाहरुलाई सेनेटरी प्याडको महत्व र औचित्यका बारेमा प्रष्ट पार्न र यसको प्रयोगका लागि यो कार्यक्रमले विशेष भूमिका खेल्नेमा गाउँपालिका अध्यक्ष बिष्टले विश्वास समेत व्यक्त गरे । सेनेटरी प्याडका कारण विद्यालयमा अध्ययन गर्ने किशोरी र महिलाहरुलाई सार्वजनिक स्थलमा पर्ने समस्यालाई न्यूनिकरण गर्ने उद्देश्यले सेनेटरी प्याड वितरण अभियानको पूर्व सन्ध्यामा यो अभिमुखिकरणले गाउँका महिलाहरुका लागि राहत हुने लक्ष्य राखिएको उनले जानकारी दिए ।
गाउँपालिका भित्रका किशोरी तथा महिलाहरु महिनावारी हुँदा बाहिरिनुपर्ने, महिनावारीको बेला अकल्पनिय घटनालाई न्यूनिकरण गर्ने उद्देश्यले र महिलाको आफ्नै प्रकारको पीडालाई सहज बनाउनका लागि स्तरीय सेनेटरी प्याड वितरण गर्दा महिलाहरुको स्वास्थ्यमा सुधारसँगै छाउगोठ सर्नुपर्ने बाध्यतालाई अन्त्य गर्नका लागि यो कार्यक्रम सञ्चालनमा अझै थप प्रभावकारिता ल्याइने गाउँपालिकाका उपाध्यक्ष मनशोभा बुढाले बताइन् ।
नेपाल पत्रकार महासंघका उपाध्यक्ष नमराज योगीले महिलाहरुलाई वितरण गरिने सेनेटरी प्याडको महत्वको बारेमा आमसञ्चारले खेल्नुपर्ने भूमिकामा महिला दिदीबहिनीहरुको हितको लागि सञ्चारमाध्यम सधैं सकारात्मक रहेको बताए ।
महिलाहरु महिनावरी हुँदा रगतको खालमा बस्नुपर्ने दिनको अन्त्य गर्न यो कार्यक्रम गाउँका महिलाहरुका लागि बहुउपयोगी हुने, सेनेटरी प्याड प्रयोग गरेपछि सुरक्षित तवरले नष्ट वा डिस्पोजल गर्नका लागि विशेष सतर्कता अपनाउनुपर्ने र ८ घन्टासम्म यसलाई उचित रुपमा विसर्जन वा गाड्न नसकेमा हानी हुने समेत गोष्ठीमा सहभागी स्वास्थ्यकर्मी हरि रेग्मीले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies