निरङ्कुश जहानीय राणा शासनको कठोर कालरात्रि तोड्दै रैतीबाट जनता प्रजा बनेको ७० वर्ष पुगेको छ । २००७ सालको प्रजातन्त्रले राणा शासनको अन्त्य गर्दै संवैधानिक राजतन्त्र सहितको प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते विशेष उत्सव मनाइदै आएको छ । यस वर्ष पनि संघीय सरकारको मन्त्रिपरिषदले निर्णय गरी ७५३ वटै स्थानीय सरकार र प्रदेश सरकारले समेत विशेष उत्सवको आयोजना गर्दैछ । संघ, प्रदेश र स्थानीय गरी ७६१ वटा सरकारले प्रजातन्त्र दिवस मनाउने तालिका तय भएको छ ।
प्रजातन्त्र स्थापना दिवसको अवसरमा राष्ट्रिय झण्डा फहराउने, ब्यानर सहित प्रभातफेरी, सांस्कृतिक झाँकी प्रदर्शन लगायत कार्यक्रम देशभर तय भएको छ । उत्सव झल्कने गतिविधि गरी सरकारले प्रजातन्त्र दिवस मनाइरहँदा नेपाली सेनाले राजधानी उपत्यकामा विशेष कार्यक्रमको आयोजना गरेको छ । अर्थात्, सरकारले ७० वर्षे यो दिवस अनुभूति हुनेगरी मनाउने तयारी गरेको छ । राजालाई खोपीमा राखेर गरिएको राणा परिवारको निरङ्कुश शासन विरुद्ध जनताले विद्रोह गरी जनताको अधिकार स्थापित भएको पहिलो ऐतिहासिक घटनाको सम्झना अविछिन्न रुपमा मनाइदै आएकाले यो वर्ष पनि निरन्तरता दिइएको छ । गएको माघ २६ गते नै दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र गंगालाल श्रेष्ठको सम्झना गर्दै शहीद दिवस मनाइसकिएको छ ।
तर, तिनै शहीदले दिएको प्राणको आहुती र नेपाली काँग्रेस नेतृत्वको राजनीतिक मोर्चाले गरेको संघर्षबाट राणाशासनको अन्त्य भएको थियो । कम्युनिष्ट पार्टीको पनि उतिकै ठूलो योगदान छ, प्रजातन्त्र स्थापनामा । काँग्रेस, कम्युनिष्ट र प्रजा परिषदका संयुक्त संघर्ष स्वरुप २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको थियो । त्यस यता नेपाली राजनीतिले ठूलै उतार(चढ़ाव बेहोरेको छ । खोपीको राजालाई २००७ पछि संवैधानिक श्रीपेज लगाउँदा फेरि जनताको राजनैतिक अधिकार खोस्नेगरी पञ्चायत शासन स्थापित हुन पुग्यो । २०१५ को पहिलो आम निर्वाचनबाट गठित जननिर्वा्चित सरकार अपदस्त हुन पुग्यो । फेरि ३० वर्षे पञ्चायत चल्यो । २०४६ मा जनआन्दोलन मार्फत् फेरि प्रजातन्त्र स्थापना भयो, फेरि २०५९ मा आएर शाही ‘कू’ लादियो ।
माओवादी जनयुद्ध, २०६२÷०६३ को दोस्रो जनआन्दोलन, मधेश आन्दोलन र मधेश आन्दोलन सँगै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । अतः यो ७० वर्षमा जनता रैतीबाट सार्वभौम सम्पन्न गणमा रुपान्तरित भएका छन् । मुलुकमा परिवर्तनकारी शक्ति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको शक्तिशाली सरकार कायम छ । तर, फेरि पनि संविधानमा प्रदत्त अधिकारबाट नागरिक कति अधिकार सम्पन्न भएका छन् त ? राजनीतिक विश्लेषकहरुको निष्कर्ष हुन्छ– कुनै पनि व्यवस्थाको आयु स्वयम् उसले अख्तियार गर्ने नीतिमा भर पर्छ । आज देशभर मनाइने उत्सवमा शासकीय पंक्तिबाट यसतर्फ उचित ध्यान पुग्न आवश्यक छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies