-द्वैपायन रेग्मी
केही समय अगाडि मात्र निष्कासन भएको जलविद्युत्को प्राथमिक शेयरमा करीब ३० प्रतिशत मात्र आवदेन पर्यो । ऋणपत्र होस्, या नेपाल बैंक लिमिटेडको १ वर्षअगाडि आएको एफपीओ होस् यी सबैमा आवेदन अपेक्षित मात्रामा पर्न छाडेको छ । मेरो शेयरबाट आवेदन दिन पाउने व्यवस्था आउनुअघि प्राथमिक शेयरको आवेदन दिन घण्टौं लाइन बस्नुपथ्र्यो । बिदा नै लिएर प्राथमिक शेयरको आवेदन दिनेसम्म चलन थियो । चाहे जलविद्युत्को प्राथमिक शेयर होस्, या अन्य कुनै संस्थाको, घण्टौं लाइन नबसी आवेदन हाल्न सम्भव नै थिएन । तर, अहिले शेयर आवेदन दिन निकै सहज भए पनि आवेदन दिनेको संख्या र परिमाण भने घटेको छ । किन प्राथमिक शेयरप्रति लागनीकर्ताको आकर्षण घट्यो त ?
लगानीकर्ता त्यही हुन् र यहीँ छन् । तर, उनीहरूलाई प्राथमिक शेयरप्रति रुचि जाग्दैन । हिजो जस्तो सीमित शहरबाट मात्र आवेदन दिन मिल्ने बाध्यात्मक अवस्था पनि छैन । लगानीकर्ताले मेरो शेयरलाई बैंक खातासँग आबद्ध गराएर संसारको जुनै कुनाबाट आवेदन दिन सक्छन् ।
प्राथमिक शेयरका आकर्षण घटेको देखिनुका कारण जलविद्युत् कम्पनीहरूको अवस्था हो । लोडसेडिङ अन्त्य भएर अहिले नेपाल विद्युत् बेच्न सक्ने हैसियतमा पुग्दै छ । नेप्सेमा सूचीकृत धेरैजसो जलविद्युत् कम्पनीले अहिलेसम्म कुनै लाभांश दिन सकेका छैनन् । कम्पनीहरू घाटामा देखिन्छन् । त्यस्ता शेयरमा रुचि घट्नु स्वाभाविक हो । अझ, १०० रुपैयाँ भन्दा तल रहेका त्यस्ता शेयरहरू देखेर लगानीकर्ताको मनोबल घटेको छ भन्दा फरक नपर्ला । लगानीकर्ता हिजोभन्दा निकै बुझ्ने भइसकेका छन् ।
लगानीबाट कति प्रतिफल आउँछ भन्ने हेरेर मात्रै लगानी गर्न सक्ने भएका छन् । यस्तोमा जलविद्युत्को शेयरप्रति आकर्षित नहुनु स्वाभाविक हो । १ सय रुपैयाँमा किनेको शेयर अहिले त्योभन्दा निकै सस्तोमा दोस्रो बजारमा किन्न पाइन्छ । १८०० बिन्दुभन्दा माथि पुगेको नेप्से परिसूचक आज १२०० भन्दा मुनि पुगी फेरि माथि उक्लने क्रममा छ । अहिले बजार बढेको देखिन्छ तर पुराना लगानीकर्ता अझै घाटामा छन् । दोस्रो बजारमा घटेको उत्साहले प्राथमिक बजारमा पनि केही मात्रामा असर पारेको हुन सक्छ ।
अहिले ऋणपत्र खरीदमा पनि त्यति चाप देखिँदैन यद्यपि विक्री गर्न राखिएका सबै ऋणपत्र बिकिरहेका छन् । ऋणपत्रको ब्याजदरकै हाराहारीमा मुद्दती निक्षेपमा बचतकर्ताले ब्याज पाइरहेका छन् । यस्तोमा शेयरबजार धेरै माथि जान्छ भन्ने विश्वास लगानीकर्ताले लिएको पाइँदैन । अझ अहिले निष्कासन भइरहेका प्राथमिक शेयर कि जलविद्युत् कि त लघुवित्त कम्पनीका मात्र देखिन्छन् । जलविद्युत्को शेयरको मूल्य घट्ने र लघुवित्तको सीमित शेयर हुने हुँदा नपर्ने बढी सम्भावना रहेको स्पष्ट देखिन्छ ।
शेयर आवेदन घट्नुको प्रमुख कारण दशकित्ते नीति हो । चाहे १० कित्ता भर्नुहोस्, या १००० कित्ता, लघुवित्तको पर्ने मात्रा सीमित हुने गर्छ । यसले गर्दा, प्राथमिक शेयर साना लगानीकर्ताका लागि मात्रै लक्षित रहेको बुझाइ बजारमा देखिन्छ । अलि ठूला कम्पनीको प्राथमिक शेयर निष्कासन हुँदा पनि सम्भावित आवदेश संख्याको हिसाब गरेर मात्रै लगानी गर्ने गरिएको छ । धेरै भर्नेलाई धेरै शेयर नपर्ने भएकाले न्यूनतम जति शेयर पर्न सक्छ त्यति नै आवेदन पर्न थालेको छ । उत्पादनमूलक कम्पनीको शेयरबजारमा खासै आएको छैन । शिवम् सिमेन्टले प्रिमियम राखी महँगो मूल्यमा प्राथमिक शेयर जारी र्गयो । डिसहोमदेखि नेपाल आयल निगमसम्मको प्राथमिक शेयर आउने चर्चा चले पनि नतीजा स्पष्ट देखिएको छैन । बजारमा नयाँ आउने शेयर भनेको जलविद्युत् र लघुवित्तको मात्रै देखिन्छ । बीमा, उत्पादनमूलक संस्था, सेवाप्रदायक संस्थाहरूको प्राथमिक शेयरबजारमा देखिएको खण्डमा प्राथमिक शेयरमा उत्साहपूर्ण सहभागिता देखिन सक्छ ।
शेयर बजारप्रति सरकार त्यति सकारात्मक नदेखिएका कारण वर्तमान सरकारमाथि लगानीकर्ताले विश्वास गर्न नसकेको देखिन्छ । अहिले करको दायरामा कडाइ गरिएको छ । सामान्य कर्मचारीमाथि पनि करको भारी बढेको देखिन्छ । करका कारण उनीहरूको वास्तविक आम्दानी घटाएको हुन्छ । आम्दानी पर्याप्त हुँदा बचत हुन्छ र त्यो बचत शेयरबजारमा लगानी हुन सक्छ । तर, बचत नै कम भएको अवस्थामा त्यस्तो लगानी कम हुनु स्वाभाविक हो ।
प्राथमिक शेयरमा रुचि घटेको जस्तो देखिनुको अर्को कारण ज्ञानको अभाव पनि हुन सक्छ । शेयरबजार चम्किएका बेला आवेदन गर्नेहरू प्रशस्त हुने र बजार ओरालो लागेका बेला प्राथमिक शेयरमा समेत वास्ता नगर्ने गरेको त विगतका प्रवृत्तिले पनि देखाउँछ । वित्तीय साक्षरता अभियानबाट वित्तीय ज्ञान दिन सके बचत बढ्न सक्छ र त्यसबाट लगानी पनि बढ्न सक्छ । शेयरबजार त्यस्तो ठाउँ हो जहाँ घरजग्गा जस्तो ठूलो रकम आवश्यक पर्दैन, सानो रकम पनि लगानी गर्न सम्भव हुन्छ ।
अन्त्यमा, शेयरबजारमा रहेको प्राविधिक कठिनताले गर्दा पनि शेयरमा अपेक्षित भीड नबढेको हो भन्न सकिन्छ । भर्खर मात्र परिमार्जित मेरो शेयरमार्फत नेपालको जुनसुकै ठाउँबाट किनबेच गर्न सकिन्छ । तर, त्यसको निमित्त दलालकोमा गएर खाता खोल्नुपर्ने हुन्छ । ताप्लेजुङको हाङपाङबाट त्यो निकै गाह्रो पर्छ ।
लगानीकर्ताले प्राथमिक शेयर किन्न त सक्छन् तर विक्री गर्न भने अझै झन्झट छ । खाता नखोली ब्रोकरले बिक्री गरिदिँदैन । र, खाता खोल्न शहर नै धाउनुपर्छ । खाता खोली सकेको अवस्थामा पनि फोनबाट विक्री गर्न अनुरोध गर्न सक्छन् तर दलालहरूले सामान्य लगानीकर्ताको त्यस्तो अनुरोधबाट विक्री गरिदिँदैनन् । मेरो शेयरबाट शेयर ट्रान्सफर पनि गर्न सक्छन् । तर, त्यसका लागि पनि केही प्राविधिक ज्ञान भने आवश्यक हुन्छ । त्यसले गर्दा इच्छा भएर पनि शेयरमा आवेदन दिन गाह्रो मानेको पाइन्छ । समयसँग आउने सुधारले यस विषयको समाधान त निकाल्छ होला । तर, पनि शेयरबजारप्रति आकर्षण बढाउने सरोकारवालाहरूले विशेष कार्यक्रम सञ्चालन गर्न ढिला गर्नु हुँदैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies