कर्ण कुमाल/मध्यान्ह
कालिकोट : कालिकोट जिल्लाको अत्यन्तै बिकट मानिने पलाँता गाउँपालिकाले विकास निर्माण र पलाँताको समृद्धिमा एकपछि अर्को गर्दै पाइला अगाडि चलिरहेको छ । संघीय संरचना अनुसार स्थानीय सरकार आएपछि जिल्लाको बिकट पलाँता भनेर चिनिने पलाँता गाउँपालिकाको मुहार फेरिँदै गएको छ । जिल्लाका ९ वटै पालिकाले विकास निर्माणका कार्यमा पहिलो प्रथामिकता सडकलाई दिने गरेका छन् । पलाँता गाउँपालिकाका स्थानीय तथा जनप्रतिनिधिहरु पनि नागरिकको समस्यालाई मध्यनजर गर्दै पलाँताको विकासका लागि प्रतिबद्ध भएर अघि बढेका छन् ।
यसैबीच पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर बमले पलाँतामा रहेका २ हजार ८ सय घरधुरीहरुको बीमा गर्ने घोषणा गरेका छन् । उनले पलाँताको वडा नं १ खाडामा आगलागीबाट बिचल्ली भएका परिवारको अवस्थालाई मध्यनजर गर्दै अरु कुनै पनि ठाउँमा पलाँताले जस्तो दुःख देख्नु नपरोस् भनेर बीमा कार्यक्रम शुरु गरेको अध्यक्ष बमले बताए । पलाँता गाउँपालिकामा रहेका २ हजार ८ सय घरधुरीको बीमा गर्नका लागि गाउँपालिकाको कुनै पनि बजेट खर्च नगर्ने उनले बताए । उनले बीमाको लागि आवश्यक पर्ने बजेट आफुले व्यक्तिगत रुपमा लगानी गर्ने बताए ।
अध्यक्ष बमले आफु पलाँतामा राजनीति गर्न र राजनीतिक भविश्य निर्माण गर्न नभएर पलाँताको सेवा गर्नका लागि आफु गाउँपालिकाको अध्यक्ष बनेको बताए । उनले पलाँताको समृद्धिका लागि आफु लेबरको रुपमा काम गर्न समेत पछि नहट्ने बताए । पैसा कमाएर आरामको जिन्दगी जिउनका लागि अध्यक्ष बनेको नभई पलाँताको दुःख पीडालाई सम्झेर अध्यक्ष बनेको बमको भनाइ छ ।
उनले कुनै पनि अमानविय वा प्राकृतिक प्रकोपका कारण घरमा क्षति भयो भने क्षति अनुसार बीमा बापतको रकम पाउने बताए । पलाँताको विकास र समृद्धिका लागि आफुले गरेका कामहरु र चालेका पाइलाहरु पलाँताका नागरिकहरुको हक हित र अधिकारका लागि मात्र हुने उनले बताए । आफुले पलाँताको समृद्धिका लागि जनप्रतीनिधिको दायित्व निर्वाह गरेको उनको भनाइ छ ।
उनले आफु अध्यक्ष भएदेखि पलाँताको विकास निर्माण र समृद्धिका लागि ऋण बोकेको बताए । उनले भने, ‘२८ सय घरधुरीको बीमा गर्नका लागि गाउँपालिकाको बजेटको आवश्यक छैन । बरु म ऋण आफै बोक्छु, पलाँताका नागरिकहरुले दुःखको भार बोक्न नपरोस् ।’ नागरिकहरुको दुःख पीडालाई आत्मसात् गर्दै पलाँताका २ हजार ८ सय घरधुरीको बीमा गर्ने कार्यक्रम ल्याएको अध्यक्ष बमले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies