काठमाडौं : वैदेशिक रोजगार विभागका निवर्तमान महानिर्देशक डा. भीष्मकुमार भुसालले कम्तीमा ६ महिना विभागका काम कारबाहीलाई आफूले सुक्ष्म रूपमा निगरानी गर्ने बताएका छन् ।
१० महिना विभागको महानिर्देशकका रूपमा बिताएका डा. भुसाल त्यहाँबाट अख्तियार दुरूपयोग अनुसन्धान आयोग सरुवा भएका हुन् । विभागका नवनियुक्त महानिर्देशक कुमार दहालले बुधबार भुसालको बिदाइ गरे ।
तर, भुसालले अख्तियार सरुवा भए पनि विभागको निगरानी गर्न नछाड्ने बताए । ‘वैदेशिक रोजगार प्रशासनलाई मर्या्दित र पारदर्शी बनाउन सुधारका काम थालिएका छन् । त्यसमध्ये वैदेशिक रोजगार सूचना प्रणालीको प्रयोग र त्यसको स्थायित्वको प्रश्न महत्वपूर्ण छ, कम्तीमा आगामी ६ महिना त्यसमाथि मेरो सुक्ष्म नजर रहनेछ,’ बिदाइ कार्यक्रममा भुसालले भने ।
महानिर्देशक डा. भुसालले आफ्नो कार्यकालमा विभागका काम–कारबाहीमा धेरै सुधार भएको दाबी पनि गरे । ‘मुलुकका अन्य केही बद्नाम सरकारी कार्यालयको सूचीमा विगतमा विभागलाई पनि गन्ती गरिन्थ्यो । तर मेरो प्रवेश भएसँगै सुधारका कार्यक्रमहरूले विभागको सार्वजनिक छवि उज्यालो बनाउन धेरै हदसम्म सफल भएजस्तो अनुभूत हुन्छ । यसका लागि म विभागका कर्मचारी साथीहरूप्रति आभारी छु ।’
डा. भुसाल वीरगञ्ज उपमहानगरपालिकाको प्रमुख कार्यकारी अधिकृतबाट सरुवा भई गत चैतमा विभागको महानिर्देशकको जिम्मेवारीमा आएका थिए ।
जिम्मेवारी सम्हालेलगत्तै उनले वैदेशिक रोजगारीका श्रम स्वीकृतिको कामलाई अनलाइन प्रणालीमा प्रवेश गराउनेदेखि ठगी नियन्त्रण गर्न कामदार छनोट र एटेस्टेसन मोड्युलदेखि अनलाइनबाटै म्यानपावर व्यवसायीहरूले श्रम स्टीकर पाउनेसम्मको व्यवस्था मिलाएका थिए ।
१० दिनमा ३ सयभन्दा बढी म्यानपावरको मर्जरसँगै विभागमा रहेका पुराना उजुरी फछ्र्यौट, म्यानपावरको अनुगमन, वैदेशिक रोजगारीका ठगीका उजुरी, प्रहरी चौकीमा दर्ता गराउन नेपाल प्रहरीसंँग संझौतालगायत आन्तरिक सुधारका धेरै काम अघि बढाए । १० महिने कार्यकालमा शुभलाभको विषय ठानिने नयाँ म्यानपावर कम्पनीको दर्तामा उनले एउटा पनि लाइसेन्स जारी गरेनन् ।
उनले विभागले लागू गरेको अनलाइन प्रणालीको सफलता आफ्नो प्रशासनिक क्यारियरको सफलता मापनको आधार हुने भन्दै त्यो जुनसुकै हालतमा सफल हुनुपर्ने बताए । सूचना प्रणालीमा वैदेशिक रोजगारीमा कामदार पठाउने म्यानपावर कम्पनीसहित विदेशस्थित नेपाली दूतावास, बैंक, बीमा कम्पनी, अध्यागमन विभागलगायत १८ वटा पक्ष आबद्ध रहेका छन् । त्यसमा परराष्ट्र मन्त्रालयअन्तर्गतका विदेशस्थित नियोगहरूको पूर्ण सहयोग नभएको गुनासो विभागको छ ।
निवर्तमान महानिर्देशक डा. भुसालले लोभ लालचबाट बचाउन कार्यालयको टेबुलमा भागवत् गीताको पुस्तक राख्ने गरेका थिए ।
नवनियुक्त महानिर्देशक दाहालले आफूले पनि निबर्तमान महानिर्देशकले जस्तै टेबुलमा गीता राखेको र सधैं गीताको सन्देश अवलम्वन गरी वैदेशिक रोजगार प्रशासनलाई अघि बढाउने बताए ।
वैदेशिक रोजगार मुलुकको अर्थतन्त्र र आमनागरिकसँग प्रत्यक्ष सम्बन्ध राख्ने विषय भएकाले यसमा ढिलासुस्ती हुन नदिन आफू निरन्तर क्रियाशील रहने महानिर्देशक दहालको भनाइ थियो ।
विद्युतीयकरण (डिजिटलाइजेसन) गर्न बाँकी रहेका सुधारका विभागीय कामलाई निरन्तरता दिने भन्दै महानिर्देशक दाहालले वैदेशिक रोजगारका नीतिगत र प्रशासनिक सुधारका कामलाई अघि बढाउन आफूले निवर्तमान महानिर्देशक डा. भुसालबाट निरन्तर सुझाव पाउने अपेक्षा राखेको बताए । महानिर्देशक दाहालले अन्य क्षेत्रको सुधारसँगै विभाग मातहत कर्मचारीहरूको जिम्मेवारीमा पनि आफूले निगरानी राख्ने बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies