काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटकै कर्मचारी संगठनहरुले निवर्तमान सञ्चार मन्त्री गोकुल बास्कोटामाथि कारवाहीको माग गरेका छन् । बास्कोटाको अभिव्यक्तिको विषयमा छानविन गरी उनीमाथि कारबाही हुनु पर्ने कर्मचारीहरुले माग गर्दै प्रेस विज्ञप्ति नै जारी गरेका हुन् । सेक्युरिटी मेशीन खरिद प्रकरणमा एक एजेण्टसँग सेटिङ मिलाउने क्रममा बास्कोटाले कर्मचारीकोबारेमा अश्लिल शब्द प्रयोग गरेका थिए ।
ट्रेड युनियन अधिकार पाएका शाखा अधिकृत तह र त्यो भन्दामुनिका कर्मचारीहरूले संस्थागत रुपमै बास्कोटाको अभिव्यक्तिको विरोध गरेका छन् । उपसचिवभन्दा माथिका कर्मचारीहरु भने अनौपचारिक रुपमा बास्कोटाको भनाइप्रति आपत्ति जनाएका छन् । हाल लागु भएको निजामती सेवा ऐन २०४९ ले शाखा अधिकृत र शाखा अधिकृतभन्दा मुनिका कर्मचारीलाई ट्रेड युनियन संगठन खोल्न अधिकार दिएको छ । उक्त अधिकारको प्रयोग गर्दै विभिन्न दल नजिक कर्मचारी संगठन खोलिएका छन् ।
तत्कालिन नेकपा (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनले विज्ञप्ति निकाली बास्कोटालाई हदैसम्म कारबाही गर्न माग गरेको छ । संगठनका महासचिव प्रभाव साहले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘अश्लिल अभिव्यक्ति दिने र कमिशनमा लिप्त मन्त्रीलाई हदैसम्म कारबाही गरी कानुनी राज्यको प्रत्याभुति गराउदै कर्मचारी तथा आम जनतालाई राज्यसत्ताप्रति निराश हुनबाट जोगाउन माग गर्छौ ।’ बास्कोटाको उक्त अभिव्यक्तिबाट जन प्रतिनिधिहरुको उत्तरदायी र जिम्मेवारीमा प्रश्न उठाएको र कानुनी राज्यको उपहास भएको विज्ञप्तिमा जनाइएको छ ।
तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट नेपाल निजामती कर्मचारी संगठनले भने संस्थागत रुपमा विज्ञप्ति निकालेको छैन । तर उक्त संगठनबाट आधिकारिक ट्रेड युनियनमा प्रतिनिधित्व गरेको आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोला पोखरेलले भने बास्कोटाको भनाइको कडा निन्दा र भत्सर्ना गरेका छन। बास्कोटाले दिएको उक्त भनाइको विषयमा छानविन गरी यथार्थ बाहिर ल्याउन उनले माग गरेका छन् । बास्कोटाको भनाइबाट कर्मचारी क्षेत्र दुखित भएको उनको भनाइ छ ।
एमाले निकट कर्मचारी स्रोतका अनुसार संस्थागत रुपमा विज्ञप्ति निकाली बास्कोटाको अभिव्यक्तिको विषयमा विरोध गर्ने कि नगर्ने भन्ने विषयमा नेपाल राष्ट्रिय कर्मचारी संगठनभित्र दुइ धार छ । केपी निकट धार विज्ञप्ति निकाल्ने पक्षमा छैन भने माधव नेपाल धार विज्ञप्ति निकाली विरोध गर्ने पक्षमा छ । केन्द्रमा तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकीकरण भए पनि दुई कर्मचारी संगठनवीच भने एकीकरण हुन सकेको छैन । अहिले पनि तत्कालिन एमाले र तत्कालिन माओवादी निकट छुट्टाछुट्टै कर्मचारी संगठन अस्तित्वमा छन् ।
नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन (संघ)ले भने बिहीबार दिउँसो विज्ञप्ति निकाली बास्कोटाको भनाइको विरोध गरेको छ। बास्कोटालाई कानुनी कारबाहीमा नल्याए सार्वजनिक रुपमा बहिस्कार गर्ने स्थिति नओओस भन्दै युनियन (संघ) ले सरकारलाई चेतावनी दिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies