सहबान अन्सारी/मध्यान्ह
नवलपराली : नवलपरासीको साबिक गुठी परसौनी २०७२ साल जेष्ठ ६ गते खुल्ला दिशा मुक्त गाविस घोषणा भयो। तर अहिले पनि यहॉका हजारौ मानिसहरुलाई दिसा - पिसाब गर्न खुला ठाउँमा जान बाध्य भएका छन् । भारतबाटसमेत दिनहुँ हजारौं मानिसहरुको आवत जावत हुने प्रतापपुर गाउँपालिको मुख्य नाका गुठी परसौनी नाका मानिन्छ । तर दिनहुँ हजारौ मानिसहरुकोलागि शौचकालागि दु:खदायी बन्दै गएको उक्त बजारमा शौचालयको उचित संरक्षण तथा व्यवस्थापन हुन नसकेको हुँदा स्थानीयको साथै आवत जावत गर्ने हजारौं यात्रीहरुले निकै कठिनाई भोग्नु परेको छ ।
विशेष गरी मुख्य बजार तथा मुख्य नाकाको रुपमा चिनिने उक्त स्थानमा यात्री तथा स्थानीयसहजको लागी आर्थिक बर्ष २०७२/७३ मा सांसद कोटाबाट करिब ५ लाख रुपैयॉ अनुदान रकमबाट सार्वजनिक प्रतिक्षालयसँगै शौचालय निर्माण भएको थियो । तर उचित संरक्षण विना नै प्रयोगमा आएपछि दिनहुँ बजार दुर्गन्धित बन्दै गएको स्थानीयहरुले गुनासो गरेका छन् ।
करिब दुई सय भन्दा बढीको संख्यामा व्यापारीहरुको दिनहुँ करोडौको कारोबार हुने ठाँउ भएपनि हालसम्म बजार ब्यबस्थापन समिति नभएको हुँदा शौचालय ब्यबस्खापन चुनौती बन्न पुगेको स्थानीय व्यापारी कन्हैया कुमार हरिजन बताउँछन् । स्वच्छ खानेपानी जस्तै शौचालयको उचित व्यवस्थापन नहुँदा बजार नै सरसफाईको दृष्टिकोणले चुनौती बन्न पुगेको छ ।
जिल्लाको मुख्य नाका महेशपुर पछिको प्रमुख नाका मानिने उक्त बजारबाट छोटो दुरीसँगै लामो दुरीको यात्रा गर्न सकिने मुख्य थलो बनेको परसौनीमा यस किसिमको अव्यवस्थाप्रति सम्बन्धित निकायको ध्यानाकर्षणको लागि पटक-पटक यस बारे समाचार प्रकाशन भएपनि करिब ५ बर्ष सम्म यसबारे कुनै निकायको ध्यान नपुगेको स्थानीय प्रहलाद कुशवाहाँ बताउँछन् ।
उक्त ठाँउमा गुठी, परसौनी छोटी भन्सार कार्यलय, सशस्त्र प्रहरी बोर्डर आउट पोष्टको चेक प्वाईन्ट, पश्चिम नेपाल बस व्यवसायी संघको टिकट काउण्टर समेत रहँदै आएपनि हालसम्म शौचालयले मुहार फेर्न सकेको छैन ।
यसबारे स्थानीय वडा नं. ६ का वडाध्यक्ष रामहरि उपाध्यायसँग प्रतिक्रिया माग्दा उनले आगामी आर्थिक वर्षमा शौचालयको व्यवस्थापनको लागी थप केही बजट बिनियोजन गर्ने बताए । साथै उक्त शौचालयको निर्माण पिपलको बोट नजिक भएको हुँदा हिन्दु धर्मको मान्यता अनुसार सो ठाउँ शौचकालागि उपयुक्त नभएकाले शौचालय नै सार्नुपर्ने स्थानीयहरु बताउँछन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies