एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आजबाट भारतको दुई दिने भ्रमण शुरु गर्दैछन । उनी आज विहान ११ बजेर ४० मिनेटमा भारतको अहमदावाद पुग्ने कार्यक्रम छ । उनीसँग श्रीमती मेलानिया, छोरी इवान्का र ज्वाइँ जेरेड कुसनर पनि हुनेछन् ।
प्रस्थान गर्नुअघि ट्रम्पले भारत भ्रमण गर्न पाउँदा आफु अत्यन्तै खुसी र उत्साहित भएको प्रतिक्रिया दिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफु ट्रम्पलाई भारतीय भूमीमा स्वागत गर्न आतुर रहेको बताएका छन् । ट्रम्पले आज अहमावादमा विश्वकै सबैभन्दा ठूलो क्रिकेट रंगशालाको उदघाटन गर्ने कार्यक्रम छ ।
खेलमैदानमा एक लाख मानिसको उपस्थितिमा ‘नमस्ते ट्रम्प’ कार्यक्रमको पनि आयोजना गरिएको छ । त्यस लगत्तै ट्रम्प नेतृत्वको टोली आगरा पुग्नेछ । करिब ५० मिनेटको ताजमहलको अवलोकनपछि राष्ट्रपति ट्रम्प नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
नयाँदिल्लीमा रहँदा राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीबीच द्धिपक्षीय वार्ता हुनेछ । तर, पूर्व अपेक्षित व्यापार सम्झौता भने नहुने बताइएको छ । राष्ट्रपति ट्रम्पको भ्रमणले दुई पक्षीय सम्बन्ध विशेष गरेर व्यापारको क्षेत्रमा सुधार हुने अपेक्षा गरिएको छ । ट्रम्पका लागि भारतले विशेष सुरक्षा प्रबन्ध गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies