काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले संविधान संशोधनको गृहकार्य गर्न कार्यदल बनाएको अनौपचारिक छलफल सँगै तीव्र आलोचना शुरु भएको छ । नेकपा स्रोतका अनुसार, वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको छ । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कञ्चनपुर–१ बाट नेपाली काँग्रेसका उम्मेद्वार सञ्जयकुमार गौतमसँग पराजित नेकपाका उपाध्यक्ष बामदेव गौतमको माग पुरा गर्न संविधान संशोधनको गृहकार्य गर्न कार्यदल गठन गरिएको हो ।
शनिबार बसेको नेकपाको सचिवालय बैठकले संविधान संशोधन कार्यदल गठन गर्ने निर्णय गरेको थियो । कार्यदल गठनको जानकारी आइतबार मात्रै सार्वजनिक गरिएको छ । कार्यदलमा नेकपाका नेता सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटा सदस्य छन् । देवकोटाका अनुसार, आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएर संविधान संशोधनका विषयमा जानकारी गराएका थिए । सोमबार पनि छलफल हुने देवकोटाले जानकारी दिएका छन् ।
नेकपा सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन प्रस्ताव लगेका थिए । उनको प्रस्तावमाथि प्रधानमन्त्री एवं अध्यक्ष ओलीले सहमति जनाएका थिए । नेकपा उपाध्यक्ष बामदेव गौतमलाई ध्यानमा राखी संविधान संशोधन गर्न लागिएको बुझिएको छ ।
गौतमलाई राष्ट्रियसभामा लैजाने र राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बनाउन सक्नेगरी संविधान संशोधन गर्न लागिएको जनाइएको छ । नेकपाले मधेश केन्द्रीत दलले उठाएको माग बमोजिम संविधान संशोधनका लागि छलफल हुने जनाएको छ । मधेश केन्द्रीत दलहरु राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टी नेपालले संविधान संशोधनको माग गर्दै आएका छन् । उनीहरुले प्रदेशको सीमांकन, भाषा र नागरिकता लगायतको विषमया संविधान संशोधनको माग उठाएका हुन् । सत्तारुढ नेकपाले शासकीय स्वरुपमा कार्यकारी राष्ट्रपतिको लविङ गर्दै आएको छ । कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्न पनि संविधान संशोधन गर्न खोजिएको कतिपयको बुझाई रहेको छ ।
तर, नेकपाकै नेता विष्णु रिजालले पार्टीले कुनै पनि कार्यदल नबनाएको दाबी गरेका छन् । रिजालले भनेका छन्, ‘मैले बुझे अनुसार नेकपाले औपचारिक रूपमा कुनै कार्यदल बनाएको छैन । छलफल हुनु र निर्णय हुनु फरक कुरा हो । बैठकमा उठेका कुरालाई ‘स्रोत’ हरूले आफू अनकूल प्रचार गराएर वातावरण उत्तेजित नबनाएको राम्रो ।’ माघ १९ मा सकिएको केन्द्रीय कमिटी बैठकबाट गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेपनि व्यक्तिका लागि पार्टी विधान र देशको संविधान संशोधन गर्न नहुने अधिकांश केन्द्रीय सदस्यहरुले अडान लिएका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies