इमरान खान/मध्यान्ह
कपिलवस्तु : विगत केही महिनादेखि कपिलवस्तुको कृष्णनगर नगरपालिका कर्मचारी विहीन भएपछि उक्त नगरपालिका मातहतका सामुदायिक तथा धार्मिक विद्यालयका शिक्षकहरुले तलव पाएका छैनन् । तलव नपाएपछि शिक्षकहरुले आन्दोलन शुरु गरेका छन् ।
आज कृष्णनगर नगरपालिकाकाे कामकाज ठप्प पारेर नगरपालिका भित्रका कुल २७ सामुदायिक र २२ धार्मिक विद्यालयका शिक्षकहरु चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । नगरपालिका भित्रका शिक्षकहरुले नगरपालिकामा तालाबन्दी गरी जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा ज्ञापनपत्र समेत बुझाएका छन् । चार महिनासम्म घर खर्च समेत उधाराेमा चलाउँदै आएका शिक्षक वर्गकाे मर्का मन्त्रालयले समेत बुझिदिनुपर्ने राष्ट्रिय शिक्षक संघका नगर अध्यक्ष प्रह्लाद प्रसाद पाण्डेयकाे भनाइ छ ।
तलब लगायत विद्यालय पुर्वाधार, खाजा ,छात्रवृत्ति लगायतका रकम निकासाकाे समस्या छिट्टै समाधान नभए नगरभित्रका सम्पुर्ण विद्यालय बन्द गरी सडकमा उत्रिन बाध्य हुने शिक्षक प्रदीप सिंहले बताए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पटक पटक पत्रचार गरेपनि कृष्णनगर नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत र लेखा अधिकृत नपठाएका कारण शिक्षक, कर्मचारी, उपभोक्ता समिति तथा अन्य याेजनाहरुकाे काम ठप्प रहेकाे नगरप्रमख रजतप्रताप शाहले जानकारी दिए । मन्त्रालयलाई आफ्नाे राजनीतिका स्वार्थमा चलाउन खाेज्ने केही स्थानीय नेताहरुका कारण कर्मचारी आउन नसकेको र चार महिनादेखि तलव खान नपाएका शिक्षकहरु आन्दाेलित हुनु स्वाभाविक रहेकाे नगरप्रमुख शाहकाे भनाइ छ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट प्रदेश कै पहिलाे मुस्लिम महिला उपप्रमुख रहेकाे कृष्णनगर नगरपालिकामा साे दलकाे नेतृत्वमा रहेकाे मन्त्रालयले नै बाईपास गरेर गइरहेकाे उपप्रमुखका सल्लाहकार तुफेल खांकाे आराेप छ। प्रशासकिय अधिकृत, लेखा अधिकृत लगायतका कर्मचारी नआउँदा नगरपालिकामा स्वास्थ्य संस्थामा औषधिकाे कमी हुनुका साथै नगरपालिकाकाे सम्पुर्ण याेजनाहरु ठप्प भएका छन् । याेजनाहरु संचालनमा नआउँदा बजेट फ्रिज हुने खतरा बढ्ने अनुमान छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies