काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गठन गरेको संविधान संशोधन कार्यदलमा विवाद देखिएको छ । बरिष्ठ नेता माधव कुमार नेपालको नेतृत्वमा गठन भएको कार्यदलका सदस्यद्वय सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटाले कार्यदलमा बस्न अस्वीकार गरेका छन् । उनीहरुले कुनै व्यक्तिका लागि संविधान संशोधन गर्नु उपयुक्त नभएको जानकारी दिँदै समितिमा बस्न अस्वीकार गरेका हुन् ।
कार्यदलमा विवाद देखिएसँगै नेकपा उपाध्यक्ष वामदेव गौतमको प्रधानमन्त्री बन्ने सपनामा तुसारापात भएको छ । पछिल्लो आम चुनावमा पराजित गौतमले हरेक पटक संसदमा प्रवेशको प्रयास गरे पनि त्यो बीचमै दुर्घटनाग्रस्त हुने गरेको छ । त्योसँगै उनको छवि पनि विवादित बन्न पुगेको छ । काठमाडौँ ७ का नेकपाका सांसद रामवीर मानन्धरलाई राजीनामा गराई उपनिर्वाचनबाट सांसद बन्ने गौतमको गत वर्ष कात्तिकमा भएको प्रयास असफल भएको थियो ।
डोल्पास्थित नेकपाका सांसद धनबहादुर बुढालाई राजीनामा दिन लगाएर त्यहाँबाट चुनाव लड्ने अर्को प्रयासले पनि असफल भएको थियो । हाल आएर राष्ट्रपतिद्वारा मनोनित राष्ट्रियसभाको सदस्य बन्दै प्रधानमन्त्रीका रुपमा बालुवाटार यात्राको प्रयास काम सुरु हुनु अगावै दुर्घटनाग्रस्त बन्न पुगेको छ ।
नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको इच्छाविपरीत गौतम र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमा उनलाई प्रधानमन्त्री बनाउन राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधनको गृहकार्य सुरु गरिएको थियो । कार्यदलको सदस्य रहेका भनिएका ओलीका अत्यन्तै निकट नेम्वाङ र देवकोटाले पारदर्शीरुपमा कार्यदल गठन नभएको र कुनै एक व्यक्तिका लागि संविधान संशोधन वाञ्छनीय नहुने भन्दै लिखित पत्र नआएसम्म कार्यदलमा नबस्ने जानकारी नेता नेपाललाई गराएका छन् ।
नेता नेपालले सोमबार कार्यदलको बैठक बस्नु पर्यो भन्दै नेम्वाङलाई फोन गरेका थिए । नेम्वाङले कार्यदलको बैठक भए आफूहरु नआउने बताएपछि नेता नेपालले अनौपचारिक छलफल त गरौँ भनेपछि नेम्वाङ कोटेश्वरस्थित नेपाल निवास पुगेका थिए । छलफलका क्रममा नेता नेम्वाङले पारदर्शीरुपमा कार्यदल गठन नभएको र आफूहरुलाई कुनै लिखित पत्र नआएको बताएका थिए । र, कुनै एक व्यक्तिका लागि संविधान संशोधन गर्न नसकिने तर्क नेम्वाङले राखेपछि त्यसमा अर्का सदस्य भनिएका देवकोटाले पनि समर्थन जनाएका थिए ।
साथै नेम्वाङले यस्तो अपारदर्शी काममा नलाग्न नेता नेपाललाई समेत सुझाएको बुझिएको छ । जवाफमा नेता नेपालले यसबारे सल्लाह गरौँला भनेका थिए । नेपालले कार्यदलका सदस्यहरुले त्यसलाई अवज्ञा गर्नुको पृष्ठभूमिमा अध्यक्ष ओलीको हात रहेको बुझेका छन् ।
नेपाल निकट एक नेताका अनुसार गौतमलाई राष्ट्रियसभा सदस्य बनाउन ओली तयार भएपनि स्वभाविक रुपमा उनलाई प्रधानमन्त्री बनाउन चाहिरहेका छैनन् । आफ्नो इच्छाविपरीत जर्वजस्त गठन गरिएको कार्यदल भंग गर्न भित्री रुपमा ओली लागेको र आफ्ना विश्वासपात्र नेम्वाङलाई त्यसको अवज्ञा गर्न निर्देशन दिएको नेपाल पक्षको बुझाइ छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies