-गोविन्द चापागाईं
मुलुकले अहिले नेपाल भ्रमण वर्ष–२०२० भव्यताका साथ मनाउँदै आइरहेको अवस्थामा पछिल्लो केही समयदेखि नेपाल घुम्न आउने चिनियाँ पर्यटकको संख्या भने निकै कम मात्रमा देखिएको अवस्था छ । विगत केही महिनादेखि चिनको हुबे प्रदेशको वुहान सहरमा देखिएको कोरोना भाइरसका कारण चीनमा मात्रै अहिलेसम्म १ हजारभन्दा बढी मानिससले ज्यान गुमाइसकेको तथ्याङ्क छ भने हजारौं मानिस कोरना भाइरसबाट संक्रमित रहेका छन् ।
कोरोना भाइरसका कारण धेरै मानिसको मृत्यु भएकाले अहिले छिमेकी राष्ट्र चीनमा विषम परिस्थितिको सामना गर्नुपरेको अवस्था छ । उक्त कोराना भाइरसको संक्रमण फैलिन नपाओस् भनेर चीन सरकारले तत्कालै सोही स्थानमा सुविधासम्पन्न २ हजारभन्दा बढी शय्याको अस्पताल समेत निर्माण गरेको छ । जति पनि कोरोना संक्रमित मानिस छन् तिनीहरूलाई सोही अस्पतालमा उपचार गर्ने व्यवस्थाले गर्दा पछिल्लो चरणको तथ्याङ्कअनुसार हजारौंको संख्यामा रहेका कोरोना भाइरस संक्रमित मानिसहरूको स्वास्थ्य अवस्था अहिले सुधार हुँदै गइरहेको विभिन्न संचारमाध्यमले बताएका छन् ।
त्यति मात्रै होइन, चीन सरकारले कोरोना भाइरसबाट संक्रमित हुन नपरोस भनेर मुलुकबाहिर जाने धेरै आफ्ना नागरिकलाई समेत कडाइ गरेको छ । हाम्रो मुलुकले पनि यथाशीघ्र चाँडो त्यहाँ रहेका हाम्रा नगरिकलाई स्वदेशमा ल्याई सुरक्षित स्थानमा सार्ने सरकारले योजना अगाडि बढाएको छ ।
चीनबाट जति पनि मानिस नेपाल भित्रिने गर्छन्, विमानस्थलमा उचित चेकजाँच तथा कोराना भाइरस परीक्षण, डिजिटल स्क्यानिङ परीक्षण गरी प्रवेशमा पनि कडाइ गरेको छ । विडम्बना के छ भने हाम्रो मुलुकमा जति पनि चिनियाँ पर्यटक भ्रमण वर्ष मनाउन भनेर आउँछन्, तर यसपालि भने कोराना भाइरसको संंक्रमणका कारण निकै कम मात्रमा चिनियाँ पर्यटक नेपाल आउने देखिन्छ ।
हुन त कोरोना भाइरसका कारणले मात्र चिनियाँ पर्यटकमा कमी आउने भने पक्कै होइन । पछिल्लो चरणको अवस्थालाई मूल्याङ्न गर्ने हो भने भ्रमण वर्षको सुरुको महिनामा नै मुलुकमा पर्यटकको संख्या घटेको नेपाल पर्यटन बोर्डको तथ्याङ्कमा उल्लेख छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२० को जनवरीमा ७९ हजार ६ सय ८६ पर्यटक नेपाल भित्रिएका छन् भने गत वर्ष यही समयमा ८१ हजार २ सय ६४ जना पर्यटक नेपाल भित्रिएका थिए । अघिल्लो वर्षको जनवरीको तुलनामा यो वर्षको जनवरीमा नेपाल आउने पर्यटकको संख्यामा करिब १६ सयले घटेको देखिन्छ ।
भारत तथा चीनको प्रमुख बजारमध्ये भारतका पर्यटक नघटे पनि चिनियाँ पर्यटक भने घटेको देखिन्छ । केही महिनाअघि मात्रै सरकारले मुलुकमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो । सुरुको महिनामा भारत बाट आउने भारतीय पर्यटकको तुलनामा पनि १६ हजार ८ सय ८२ जना भारतीय पर्यटक नेपाल आएका छन् र सन् २०१९ मा १४ हजार ६ सय ५० जना पर्यटक नेपाल आएका थिए ।
२०१९ मा नै १३ हजार ६ सय ८८ चिनियाँ पर्यटक नेपाल आएका थिए । हाल २०२० को पहिलो महिनामा नेपाल भित्रिने चिनियाँ पर्यटकको संख्या ३ सय ८५ ले कमी भई १३ हजार ३ सय ३ जना मात्र नेपाल आएका छन । अझ कोरोना भाइरसकै कारण अघिल्लो वर्षको तुलनामा यो वर्ष चिनियाँ पर्यटक कम मात्रामा नेपाल भित्रिने आशंका गरिएको छ ।
तर, यथाशीघ्र कोरोना भाइरस निर्मूल भए सबैभन्दा धेरै पर्यटक पनि चीनबाटै आउने प्रस्ट देखिन्छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले केही महिनाअघि नेपालको राजकीय भ्रमणमा छँदा भनेका थिए, “नेपाल पर्यटनका दृष्टिकोणले प्रचुर सम्भावना बोकेको मुलुक हो । आगामी दिनमा हाम्रा नागरिकलाई पनि नेपाल घुम्न जानका लागि प्ररित गर्नेछु ।” आशा छ, चीनमा भएको कोरोना र्भारस चाँडै निर्मूल होस् । त्यहाँका सबै जनता निरोगी होऊन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies