काठमाडौं : गीतकार शोभा केसीको राष्ट्रिय गीत ‘नेपाललाई माया गरौं...’ सार्वजनिक भएको छ । शनिबार राजधानीको रातोपुलस्थित रकहाउस क्याफे एन्ड पार्टी प्यालेसमा आयोजित एक कार्यक्रमबीच गीतको भिडियो सार्वजनिक गरिएको हो ।
वरिष्ठ साहित्यकार भद्रा घलेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गीतकार संघका अध्यक्ष चुण्डामणि देवकोटा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम लेकाली, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, निर्देशक तथा कलकार लय संग्रौला, मिलापका सम्पादक कृष्ण भुसाललगायतले गीत सार्वजनिक गरेका थिए ।
आनन्द कार्की र विमला राईको स्वर रहेको गीतको भिडियोलाई मन्जिल श्रेष्ठले निर्देशन गरेका छन् । गीतको भिडियोमा विभिन्न देश विदेशमा बस्ने वरिष्ठ कलाकारदेखि समाजमा योगदान पुर्याएका व्यक्तित्वहरुको अभिनय छ । स्रमाट थापाको संगीत रहेको गीतमा श्याम रायमाझी र जयराम थापाको छायांकन रहेको छ । गीतको भिडियोलाई विदेशका विभिन्न भाग र नेपालमा छायांकन गरिएको छ ।
अतिथिहरूले राजनीतिले हामीलाई अलग थलग गर्न खोजे पनि यस्ता राष्ट्रिय गीतले हामी सबैलाई जोड्ने काम गर्ने भन्दै स्रष्टा शोभा केसीलाई बधाई तथा शुभकामना दिएका थिए । सो अवसरमा स्रष्टा शोभा केसी, साहित्यकार राधेश्याम लेकाली र गायक सीताराम पोखरेललाई मिलाप कभर हस्तान्तरण गरिएको थियो ।
चलचित्र पत्रकार संघ उपाध्यक्ष गीता अधिकारीले सहजीकरण र मिलाप क्रियशनले आयोजना गरेको कार्यक्रममा स्रष्टा समाजका अध्यक्ष विधान आचार्य, वरिष्ठ कलाकार कृष्ण मल्ल, शर्मिला मल्ल, अनेसास नेपाल च्याप्टर उपाध्यक्ष गीता मैनाली, गायक आन्नद कार्की, सीताराम पोखरेल, गायिका विमला राई, कलाकार उत्तम केसी, चेतराजा सङ्गीतकार सन्तोष श्रेष्ठ, सागर अधिकारी ‘शरद्’, नरहरि प्रेमी, हेम प्रभास, सरोज प्याकुरेल, राम सिटौला, गायिका देवीका वन्दना, विमला राई, मेलमिलाप अभियन्ता केशवप्रसाद चौलागाईं, साहित्यकार खेमनाथ दाहाल, दामोदर न्यौपाने, लेखनाथ पोखरेललगायत सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies