सन्जिव कार्की
प्राकृतिक रूपमा नारी पुरुष भिन्न छन । असमान छन । आ–आफ्ना विशेष क्षमताले सुसज्जित छन् । तर नारा लाग्छ । नारी पुरुष बराबर हुन्, छन् र हुनुपर्छ । यो बिरोधाभाषपूर्ण समानताको नारासँग म असहमत छु । यद्यपि नारी अधिकार, नारी स्वतन्त्रता, नारी हक र नारी सुरक्षाको लागि मेरो आवाज सँधै उठ्छ ।
विशेष क्षमता र गुण नारीमा रहेको हुन्छ । यही विशेष गुणकै कारण शारीरिक क्षमतामा नारी पुरुषमा भिन्नता छ । पुरुषले जस्तै कडा शारीरिक परिश्रम सबै महिलाले गर्न सक्दैनन् । तर केही महिलाले पुरुषले भन्दा ज्यादा कठिन शारीरिक क्षमता प्रदर्शन गर्न सक्छन् । यसको अर्थ यो होइन कि नारी र पुरुष बराबर शारीरिक क्षमताका हुन्छन् ।
मलाई लाग्छ असमान तर विशेष भूमिका र फरक–फरक क्षमताले स्त्री र पुरुष भिन्न छन् । महिलाको सबाल र पीडा बुझ्न महिला हुनु आवश्यक हो । तर सबल र सक्षम महिला अत्यावश्यक हुन्छ । यहाँ कोरम पुर्याउन र समावेशी देखाउन मात्रै हर स्थान र हर क्षेत्रमा महिला प्रतिनिधित्व गराइन्छ, जुन सर्बथा अनुचित र अस्वाभाविक हो ।
निर्णय क्षमता विहिन नारीलाई प्रतिनिधित्व गराएर नारी हक र अस्मिता छिन्ने निर्णय गराउन लगाउने परिपाटी हानीकारक छ । प्रतिनिधित्व थोरै रहोस्, तर निर्णय क्षमता प्रवल होस । आम नारीले ध्यान दिनुपर्ने र स्मरणमा राख्नुपर्ने कुरा के हो भने प्रतिनिधित्व अहम विषय होइन प्रभावकारी र हस्तक्षेपकारी प्रतिनिधित्व चाँहि मुख्य सबाल हो ।
यहाँ नारीलगायत जात जातिको प्रतिनिधित्व केवल ल्याप्चे लगाउन र छडके किनाराको साक्षी बस्न मात्रै प्रयोग र उपयोग गरेको पाइन्छ । आफ्नो समुदाय, आफ्नो वर्ग र क्षेत्रको पक्षमा बोल्न लेख्न र हस्तक्षेप गर्न नसक्ने प्रतिनिधित्व र समावेशीता केवल विधान र संविधानको प्राबधान उलंघन गरेको नदेखिन र कारवाहीबाट बच्न मात्र सहयोगी हुनेछ ।
महिला र विभिन्न जातजातिको प्रतिनिधित्व देखाएर कुटिल राजनीति गर्न छक्काउन भुलाउन काम लाग्छ वास्तविक पीडामा मलम लगाउन सक्दैन । प्रतिनिधित्वले व्यक्तिको उन्नति होला हुन सक्ला । तर सबल र सक्षम प्रतिनिधित्वले मात्रै महिला समुदायको हित गर्न सक्छ । समग्र महिलाको ध्यान दिन सक्छ समुदायको हितको पक्षमा निर्णय गराउन सक्छ ।
समानता, स्वतन्त्रता र स्वाधीनता केवल शब्दमा आदर्श फलाक्न देख्न पाइन्छ तर व्यबहारमा पाउन सँधै कठिन छ । नारी माथि शोषण दमन अन्याय र अत्याचार गरिने संस्कार हाम्रो देशमा मात्रै होइन, छैन विगतदेखि नै नारीलाई दोश्रो दर्जाको नागरिक ठान्दै आइएको सत्य हो आज पनि संविधान र नियम कानुनमा बराबरी र समान हैसियत लेखिए पनि व्यबहारस्यो लागू भएको छैन ।
पुरुषवादी मानसिकताबाट महिलालाई आज पर्यन्त हेयको दृष्टि राख्छ । जनप्रतिनिधि मुलक संस्थामा नारीको प्रतिनिधित्व आकर्षक नारा बनेको छ । स्थानीय निकायमा करिब ४१ प्रतिशत प्रतिनिधित्वको हौवा फिजाएर अन्यत्र ३३ प्रतिशत सुनिश्चितता केन्द्रिय मन्त्रीमण्डल गठन गर्दादेखि प्रदेस स्तरीय मन्त्रीमण्डलसम्ममा पुर्याउन सकिएको छैन ।
पार्टीहरुको केन्द्रिय नेतृत्वमा पनि महिला प्रतिनिधित्वको सबालमा बिजोग छ । तर पनि महिला अधिकार र महिला मुक्तिको कुरा पार्टीहरु लाज नमानेर नै गर्छन् । महिलाहरु पत्याएर नै पार्टीको पछि लाग्छन् र नयाँ रुप र स्वरुपमा ठगीमा पर्छन् । आफ्ना लागि र आफ्नो समुदायका लागि महिलाहरुले के बुझ्नु जरुरी हुन्छ भने पार्टीको बधुवा मजदुर र कमरा कमारी जस्तै बनेर विवेक बन्धक राखेर पार्टी ह्वीपमा सरण पर्दा महिलाले महिलाको बारेमा निर्णय गर्न सक्तैनन् र महिला मुक्तिको आन्दोलनले छिटो गन्तव्य पाउन सक्दैन ।
आफ्नो पार्टीको कमजोर पुरुषलाई भोट दिने अरु पार्टी र स्वतन्त्र तर अब्बल नारीलाई भोट नदिने नारी र महिलाअधिकारकर्मीले नारी दिवस र महिला प्रतिनिधित्व पुगेन भनेर चिच्याउनु हास्यास्पद छ । सार्थक नारी अधिकारको पक्षमा रहने सबै नर नारीहरुलाई नारी दिवसले रचनात्मक र सिर्जनात्मक सहयोगी अनि परस्परमा विश्वासयोग्य बन्न प्रेरित गरेर महिला अधिकारको रक्षार्थ पार्टीको बन्धन र साँङ्लो चुढाएर स्वतन्त्र विवेकको प्रयोग गर्न सक्नुपर्छ ।
नारी दिवसमा यो संकल्प सबै महिला अगुवा र महिला नेतामा हुनुपर्छ अन्यथा नेताले छुट्टायाएको कोटामा आफ्नो भाग सुरक्षित गर्न खोजेर महिला प्रतिनिधित्व र महिला मुक्ति हुन नसक्ने प्रष्ट छ । महिलाहरु आफ्ना कमजोरीको कारण पनि नेतृत्वदायी पदमा पुग्न सक्तैनन् जसको उदाहरण शिवमाया तुम्बाहाम्फेको सभामुख पदमा रोकावट रहयो । संसद भित्र र बाहिरका सबै महिलाहरूले, महिलाअधिकारवादीले एक स्वर र एक मुखमा बोल्नुपर्नेमा स्वंय नेकपा भित्रका महिलाहरूले समेत एक भएर बोल्न सकेनन् ।
पार्टीलाई दवाव दिन सकेनन । उल्टो गुटगत राजनीतिको शिकार बनेर सभामुखमा महिला पुग्ने अवसरमा घात गरे । सबल र सक्षम महिला उम्मेद्वार छोडेर कमजोर पुरुष पात्रलाई भोट गर्ने पार्टीहरुको व्हिप र लगाम रहुन्जेल, पार्टीको त्यो टाइपको दासता स्वीकारगरुन्जेल महिला स्वतन्त्रता र समानताको आन्दोलन निर्बल र विचरा बनिरह्न्छ ।
मौसमी नारीवाद र नारी अधिकारकर्मीहरुले सदावहार महिला अधिकार कर्मीमा आफूलाई रुपान्तरण गरेर गम्भीर समीक्षा नगरेसम्म आज नारीहरु जुन हबिगत र अवस्थामा छन अरु दशकौ यस्तै अवस्था रहन सक्छ । ‘इक्वोल फर एर्भीवन’ अर्थात् ‘प्रत्येकका लागि समान’ नारा दिएर हरेक वर्ष जस्तै यो वर्षपनि अन्तर्राष्ट्रिय नारी दिवस संसारभरी मनाइएको छ ।
संयुक्त राष्ट्र संघले यस वर्षको नारा ‘म आत्मसात गर्दैछु महिला अधिकार समानता दशक’ राखेको छ । यसको पालना शासन प्रशासन र घर मुलिको डाडु पन्यू लिएर बसेका आम पुरुषले आफ्नो घर देखि कार्यलयसम्म गर्नुपर्ने देखिन्छ । पुरुषले मेरो हक खोज्न आएकी भनेर महिलालाई बुझ्ने र सो मुताबिक व्यबहार गरेको कारण महिलाहरुको हक र स्वतन्त्रता कुन्ठित भएको यथार्थ मनन गरेर जानुमा सामाजिक न्याय प्रतिबिम्बित हुन सक्छ । महिलालाई प्रोत्साहन, महिलालाई अधिकार, महिलालाई शिक्षा र महिलालाई अवसर प्रदान गर्न सकियो भने घर, समाज सभ्य र देश सभ्य हुने वास्तविकता नभुलौ ।
सन् १९१० मा डेनमार्कको राजधानी कोपनहेगनमा भएको विभिन्न देशका समाजवादी महिलाहरुको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनले हरेक वर्ष विश्वभर ८ मार्चलाई श्रमिक महिला दिवसको रूपमा मनाउन माग गर्यो ।
सन १९११ मा रास्ट्रसंघले उक्त प्रस्ताव पारित गरि मनाउन सुरु गरे यता मार्च ८ लाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउँदै आइएको छ । सन् १८५७ मा अमेरिकाको गार्मेन्ट कारखानामा काम गर्ने श्रमिक महिलाहरुले कामको आधारमा निश्चित ज्यालाको मागसहित गरेको प्रदर्शनलाई विश्वका महिलाहरुको आन्दोलनको सुरुवातको रुपमा लिने गरिएको छ ।
आज पनि नेपालमा महिला र पुरुषले सामान काममा पाउने ज्याला असमान छ । दैनिक १७ घन्टा काम गरेपनी कामको मुल्यांकन छैन । श्रम र ज्यालामा भएको असमानताको अन्त्य नहुँदा सम्म लैंगिक हिंसा पनि अन्त्य हुँदैन । यहि सत्यलाई बोध गर्दै यस बर्ष महिला रोकिए संसार रोकिन्छ भन्ने नारा लिएर बिबिध कार्यक्रम हुनेछ । सन्तान उत्पादन देखी सबै कामहरुमा महिला रोकिने हो भने पक्का संसार रोकिन्छ । त्यसैले महिलाको मावनअधिकारको सम्मान गरौं ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies