काठमाडौँ : कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानका कर्मचारी जयबहादुर तामाङको निधन भएको छ । उनको उपचारका क्रममा गए राति निधन भएको हो ।
मिर्गौला रोगबाट पीडित तामाङको दुई सातादेखि वीर अस्पतालमा उपचार भइरहेको थियो । राति नै निधन भएको तामाङको परिवारजनले खबर गरेको नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।
क्यानले उनको उपचारका लागि आर्थिक सहयोग गर्दै आएको थियो । यस्तै नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस)ले ‘तामाङ सहयोग अभियान’ सञ्चालन गरेको थियो ।
यस क्रममा तामाङलाई रु ५० हजार सहयोग गरेको थियो । समाजले उक्त रकम तामाङकी श्रीमती निरमायालाई हस्तान्तरण गरेको थियो । “थप रकम हस्तान्तरण गर्ने तयारीमा थियौँ”, समाजका अध्यक्ष भानु सिग्देलले भने ।
यसैगरी तामाङको उपचारका लागि नेपाल क्रिकेट खेलाडी सङ्घ (सीप्यान)ले समेत रु एक लाख ३३ हजार सहयोग गरेको थियो । दुवै मिर्गौलामा समस्या आएपछि अस्पताल भर्ना भएका तामाङ डेढ दशकदेखि त्रिवि क्रिकेट मैदानको रेखदेख गर्दै आएका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies