काठमाडौं : मानव अधिकार तथा शान्ति समाज रुपन्देही शाखाले वुटवल ११ स्थित हात्तिसुड सुकुम्बासी टोलका विपन्न परिवारलाई चामल, तेल, नुन, आलु, सोयाविन, साबुन, चाउचाउ, मास्कसहित ५० हजार मुल्यको राहत सामग्री सहयोग गरेको छ। शुक्रबार समाजका केन्द्रिय वरिष्ठ उपसभापति गोविन्द खनाल, रुपन्देही शाखा सभापति डिपी खनाल, सचिव अर्जुन ज्ञवाली, सह सचिव कपिल ज्ञवाली, सदस्य कृष्ण पाण्डे सम्मिलित टोलिले उक्त बस्तिमा गई टोल बिकास संस्था मार्फत ७० परिवारलाई राहत सामग्री बितरण गरेको हो ।
समाजले एक बिज्ञप्ति जारी गर्दै दक्षिणी सीमानामा अलपत्र सयौ नेपालीलाई नेपाल प्रवेश गर्न नदिएको घटनाको शान्ति निन्दा पनि गरेको छ । यस्तो आपराधिक नीतिलाई तत्काल सच्याउन आग्रह गर्दै समाजले सीमानामा अलपत्र परेका नेपालीहरुलाई तत्काल देश प्रवेश गराई क्वारेन्टाइनमा राख्ने लगायत आवश्यक उपचारको व्यवस्था गर्न सरकारसंग आग्रह गरेको छ ।
विज्ञप्तिमा कोभिड १९ परीक्षणको दायरालाई व्यापक रुपमा बिस्तार गर्न र त्यस्तो परीक्षण सबैतिर निशुल्क हुनुपर्ने सुनिश्चित गर्न र अति विपन्न , विपन्नवर्गलाई यथोचित राहत उपलब्ध गराउन , आम नागरिकलाई सुपथ मुल्यमा सहज तवरमा जीवन यापन गर्ने सामग्री उपलब्ध गराउने व्यवस्था गर्न र देशभरका निजी लगायत सम्पूर्ण अस्पताल , स्वास्थ्य संस्थाहरु अनिवार्य रुपमा सञ्चालन गर्न, स्वास्थ्यकर्मीहरुलाई आवश्यक सुरक्षात्मक बस्त्र , औजार उपलब्ध गराउन, स्वास्थ्यकर्मीहरुको मनोबल बढाउन र स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन गर्न पनि सरकार समक्ष आग्रह गरिएको छ ।
समाजका महासचिव सुशिल बस्नेतद्वारा जारी बिज्ञप्तिमा हालै स्वास्थ सामग्री खरिदमा व्यापक भ्रष्टाचार पर्दाफास भएको सन्दर्भमा उच्च स्तरीय तवरमा छानविन गरी मूल दोषीमाथि कारबाही सुनिश्चित गर्न सरकारसंग आग्रह गर्र्दै सो प्रकरणमा सरकारको उच्च नेतृत्व उदासिन रहने हो भने संलग्नता पनि उच्च नेतृत्वकै मानिने अवस्था सिर्जना हुन सक्ने इंगित गरिएको छ ।
केही अनलाइनहरु सरकारले बन्द गर्न कदम चालेको सन्दर्भमा शान्ति समाजको ध्यानाकर्षण भएको भन्दै विज्ञप्तिमा अगाडि भनिएको छ - 'दर्ता भई कानुन सम्मत तवरले सञ्चालन भइरहेका सञ्चारमाध्यमहरुले कानुन उल्लंघन गरेको भए कानुन सम्मत प्रक्रिया अघि बढाउनु स्वभाविक हुन सक्छ तर ब्लक बन्द गर्ने सरकारी कदम अस्वभाविक एवं आपत्तिजनक छ । संकटको यस्तो बेला सबै सञ्चारमाध्यमहरु अझ जिम्मेवार , मर्यादित ढंगले प्रस्तुत हुनुपर्ने अपेक्षा रहेको छ भने संकट समाधानका लागि सरकार– सञ्चार जगतबिच अझ बढी सहकार्य आवश्यक छ । तर उच्चस्तरीय संलग्नताको आधारसहित भ्रष्टाचारका समाचारहरु प्रकाशित हुन थालेपछि सरकार तिल्मिलाएको देखिन्छ । विपतकालीन अवस्थामा शक्तिको दुरुपयोग गर्दै सञ्चार जगतमाथि सरकारको वक्र दृष्टि प्रहारको शान्ति समाज निन्दा गर्दछ । साथै जस्तोसुकै अवस्थामा पनि प्रेस स्वतन्त्रताको संरक्षण र पत्रकारहरुको सुरक्षा सुनिश्चित हुनुपर्ने तर्फ शान्ति समाज सरकारको ध्यानाकर्षण गराउँछ ।'
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies