काठमाडौं : कोरोना भाइरस (कोभिड–१९)ले विश्वभरि महामारीको स्वरुप लिइरहेका बेला बालबालिकाको अवस्थाप्रति विशेष ध्यान दिन बालअधिकारको क्षेत्रमा कृयाशील संघ संस्थाहरुले संयुक्तरुपमा अपिल गरेका छन् ।
सरकारले कोरोना संक्रमण रोकथाम र नियन्त्रण गर्न लकडाउनको घोषणा गरेको अवस्थामा बालबालिकामाथि विभिन्न खालका जोखिम हुन सक्ने भन्दै अधिकारबादीहरुले बालबालिकाको संरक्षणको निम्ति अहिलेको समयमा राज्यका सबै निकाय अझ बढि जिम्मेवार हुनुपर्ने बताएका हुन् ।
पछिल्लो समयमा बालबालिकामाथि दुर्व्यवहारका घटना सार्वजनिक भइरहेको बताउँदै अपिलमा भनिएको छ, ‘यही १४ गते कपिलवस्तुमा १३ वर्षकी बालिकामाथि छिमेकी युवकले बलात्कार गरेको थियो । पीडितआफैले निवेदनदिंदापनि यो विषयलाई प्रहरीले त्यती गम्भिरता लिएको देखिदैन । त्यस्तै ललितपुरमा १८ वर्षीया किशोरिलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको थियो ।'
लकडाउनका कारण विद्यालयमा अध्ययनरत तथा एसईई परीक्षा एवं उच्च माध्यमिक परीक्षाको तयारीमा रहेका बालबालिकामाथि मनोसामाजिक तनाब समेत रहेकोले यो अवस्थामा सबै उत्तिकै संवेदनशील हुनुपर्ने बाल सहभागितामा कार्यरत संस्थाहरुको साझा समुह कन्सोर्टियम नेपालका अध्यक्ष किरण थापाले बताए ।
बाल हिंसाबिरुद्ध क्रियाशील राष्ट्रिय कार्य समन्वय समूह (एनएसिजी नेपाल),महिला तथा बालबालिका बेचविखन विरुद्ध सहकर्मी समूह नेपाल( एटविन), बालगृहहरुको सञ्जाल (सिनेट नेपाल), सिआरसी एचआरटिएमसिसि कमिटी , यात्रामा रहेका बालबालिकाहरुको अधिकार संरक्षण अभियान, राष्ट्रिय बाल संरक्षण सञ्जाल, बाल सहभागिताका लागि कार्यरत संस्थाहरुको साझा समूह (कन्सोर्टियम नेपाल), बालबालिक शान्ती क्षेत्र राष्ट्रिय अभियान (सिजप), बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्च, शिक्षा निगरानी समूह, समाहित शिक्षा मंच नेपाल, सिआरसि ओपिथ्रि अनुमोदनका लागि नागरिक टसमाजको राष्ट्रिय सञ्जाल, बालिका अधिकारको लागि राष्ट्रिय सञ्जाल,सामाजिक सुरक्षा नागरिक समाज सञ्जाल, नाओस र नाक्रो गरी १६ वटा संस्थाहरुले ऐक्यबद्धतासहित सो अपिल जारी गरेका हुन् ।
जारी अपिलमा अगाडि भनिएको छ, ‘बाल गृहमा रहेका बालबालिका, बेचबिखन विरुद्धको पुन: स्थापन गृह, शरणार्थी शिविरमा रहेका बालबालिका, सडक बालबालिका, अपांगता भएका, श्रममा रहेका बालबालिकाहरुको सर्वोतम हितलाई ध्यानमा राखी सामाजिक सुरक्षाको विशेष व्यवस्था मिलाउनु पर्दछ ।’
विज्ञप्तिमा गर्भवती, सुत्केरी महिलाहरु तथा नवजात शिशुहरुको स्वास्थ्य उपचार एवं आवश्यक भ्याक्सिनहरुको सर्वशुलभताको लागि आवश्यक व्यवस्था गरिनु पर्ने उल्लेख गर्दै बालसुधार गृहमा रहेका बालबालिकाहरुका सम्बन्धित अभिभावकले सम्पर्क गरि लैजान सकिने निर्णय गरिएतापनि सम्बन्धित अभिभावकसम्म सञ्चार नपुगेको र बालबालिका लैजान चाहने अभिभावकहरुले लकडाउनका कारण असम्भव रहेको अवस्थामा आवश्यक व्यवस्था मिलाउन समेत आग्रह गरिएको छ ।
यस्तै, अपिलमा संचार माध्यमहरुबाट बालबालिकाहरुको लागि सन्देशमूलक तथा ज्ञानवर्द्धक कार्यक्रमहरु सञ्चालन गर्न पहल गरिदिन र खासगरी लकडाउनको अवस्थामा पनि बाल हिंसा तथा यौन दूर्ब्यबहारको घटनाहरु आइ रहेको अवस्थामा सम्बन्धित सुरक्षाकर्मीहरुमा आवश्यक निर्देशन जारी गरिदिन समेत आग्रह गरिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies