काठमाडौं : लकडाउनका कारण संकटपूर्ण अवस्थाका सञ्चारमाध्यमका लागि विद्युत, टेलिफोन, इन्टरनेटसहितका सञ्चार सामग्रीमा छुट र अनुदानको व्यवस्था गर्न प्रेस काउन्सिल नेपालले आग्रह गरेको छ । काउन्सिलको आइतबार बसेको बोर्ड बैठकले नोबेल कोरोना भाइरस संक्रमणको अत्यन्तै कष्टकर अवस्थामा नेपाली पत्रकार र आमसञ्चारमाध्यमहरुले खेलेको भूमिका प्रशंसनीय रहेको पनि ठहर गरेको छ ।
बैठकले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सबै प्रकारका सञ्चारमाध्यमबाट सन्देशमूलक सूचना सामग्री र कार्यक्रम प्रकाशन÷प्रसारण गर्न स्वास्थ्य मन्त्रालय, संघ÷प्रदेश र स्थानीय सरकारबाट आवश्यक सहकार्य र बजेट व्यवस्था हुनुपर्ने, सोको निम्ति सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले समन्वय गरिदिन आग्रह पनि गरेको छ ।
लकडाउन अवधिमा सार्वजनिक आवतजावत बन्द हुनुका साथै वितरण गर्ने, सम्पादन, व्यवस्थापन समूह एक ठाउँमा जुट्न नसक्ने, छापाखानामा प्राविधिकहरू नआउने अवस्था हुँदा प्रकाशन अवरुद्ध पत्रपत्रिकाको हकमा लोककल्याणकारी विज्ञापन भुक्तानी र वर्गीकरणका लागि यस अवधिमा अङ्क नपुगे पनि भुक्तानी र वर्गीकरणको नीतिगत निर्णय हुनुपर्ने काउन्सिलले माग गरेको छ ।
साथै, कोरोना संक्रमण नियन्त्रणको लागि प्रभावकारी रुपमा लोककल्याणकारी विज्ञापनका नमूना बनाई आमसञ्चारमाध्यममा प्रचार÷प्रसारको व्यवस्था मिलाउन बोर्ड बैठकले आग्रह गरेको छ ।
काउन्सिल बैठकले हालै काठमाडौँ प्रेस अनलाइन न्यूज पोर्टलको निर्माणकर्ता/सेवा प्रदायकबाट नै अनलाइन सञ्चारमाध्यममा प्रवेश गरी कन्टेन्टसमेत हटाइएको प्रति ध्यानाकर्षण भएको पनि जनाएको छ ।
बैठक पछि काउन्सिलका सह प्रशासकीय अधिकृत दीपक खनालद्वारा जारी विज्ञप्तिमा नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष खातामा काउन्सिलका कावा अध्यक्षको ७ दिनको तलब, अधिकृत कर्मचारीको ५ दिनको तलब र सहायकस्तर कर्मचारी सबैको ३ दिनको तलब बराबरको रकम जम्मा गर्ने निर्णय भएको पनि जनाइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies