काठमाडौं : केही वर्ष अगाडिसम्म दर्जन बढी रहेको नेताहरु अहिले एउटै दलमा आवद्ध छन्, जनता समाजवादी पार्टीमा । गएको वैशाख ८ गते मात्रै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारले दल विभाजन सम्बन्ध अध्यादेश ल्याएपछि राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी नेपाल बीच एकीकरण भइ जनता समाजवादी पार्टी बनेको हो । २०७४ को निर्वाचन अगाडि यी पार्टीहरु नौ वटा थिए । जनता समाजवादी पार्टी विभन्न ६ दल मिलेर बन्यो भने तीन दल मिलेर समाजवादी पार्टी, नेपाल बनेको थियो ।
सरकारले ल्याएको अध्यादेश हप्ता दिन टिकेन । तर, नौ पार्टीका अध्यक्षहरु एउटै दलमा आवद्ध हुने अवसर मिल्यो । तर, यी सबै दलको माग भने समान छन् । अर्थात्, यी सवै नेताहरुले संविधान संशोधनको माग गर्दै आएका छन् । र, सरकारले पनि संविधान संशोधनको तयारी अगाडि बढाएको छ । शुक्रबार मात्रै संघीय संसद सचिवालयमा संविधानको दोस्रो संशोधन विधेयक दर्ता गराएको छ । जेठ १३ गते बस्ने संसद बैठकमा यो विधेयक पारित गर्ने सरकारी तयारी छ । सरकारले लिम्पियाधुरा सहितको भूगोल समेटिएको नेपालको नयाँ नक्साबारे विधेयक संसदमा दर्ता गरेको हो । तर, नेकपा नेतृत्वको सरकारले पेश गरेको विधेयकले मधेश केन्द्रीत दल जनता समाजवादी पार्टी भने अप्ठ्यारोमा परेको देखिन्छ ।
किनभने, जसपाका नेताहरु संविधान संशोधनमा आफ्नै अजेण्डामा अडिग थिए । उक्त दलका नेताहरु बाबुराम भट्टराई लगायतले सरकारी निर्णयमा गरेको टिप्पणीका कारण विवादित बनेका छन् । अर्कोतिर, वैशाख ३१ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा जसपाले नयाँ नक्सा जारी गर्न सहमति जनाएका थिए । तर, त्यस बेला जसपाका नेताहरु नेपालको नयाँ नक्सा जारी हुनेमा विश्वस्त थिएनन् । जसपाका नेताहरुको उक्त आँकलन बिपरीत प्रधानमन्त्री ओलीले नयाँ नक्सा जारी गरिदिए । यसले जसपालाई संविधान संशोधनको पक्षमा उभिने अर्थात् विपक्षमा उभिने भन्नेमा नैतिक संकट देखिन्छ ।
शनिबार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग जसपाका नेताहरुले भेटवार्ता गर्नुले पनि त्यसको संकेत गर्छ । सभापति देउवासँग संविधानको अनुसूची ३ सँगै आफ्नो मागहरु बारे समेत समेट्न पहल गरिदिन आग्रह गरे । यस्तो सभापति देउवाले ओठे प्रतिबद्धता जनाए पनि काँग्रेस जसपाको अजेण्डा भन्दा पनि यतिबेला सरकारकै अजेण्डामा उभिने प्रष्ट छ । अर्थात्, जसपालाई मुलुकको सीमा जस्तो संवेदनशील विषयमा सरकारले चालेको कदमबारे अन्योल उत्पन्न भएको देखिन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies