काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षसहित वैदेशिक रोजगार व्यवसायमा क्रियाशिल प्रमुख राजनीतिक दल निकट संस्थाका अध्यक्षहरुले नेपालमा उपलब्ध हुने आन्तरिक रोजगारीले मात्र श्रम बजारमा आउने ठूलो संख्याका युवायुवतीहरुलाई रोजगारी प्रदान गर्न नसकिने भन्दै सरकारले वैदेशिक रोजगार क्षेत्रकोे महत्व भुल्न नहुने सुझाव दिएका छन् ।
नेपाल सरकारको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम पारित भएको र त्यसमा आधारित भई आगामी आर्थिक वर्षका लागि बजेट तर्जुमा भइरहेको सन्दर्भमा आइतबार मध्यान्ह दैनिकले आयोजना गरेको भिडियो कन्फरेन्समा वैदेशिक रोजगार व्यवसायीहरुले कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण खाडी मुलुकहरुमा आउने आर्थिक शिथिलताले तत्काल त्यहाँको रोजगारी प्रभावित हुने भएपनि दीर्घकालका लागि भने वैदेशिक रोजगार नेपालले प्राप्त गर्ने रेमिट्यान्सको प्रमुख श्रोतका रुपमा यथावत रहने भएकाले सरकारले वैदेशिक रोजगार क्षेत्रलाई भुल्न नहुने बताए ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेले कोरोना भाइरसका कारण विदेशमा रोजगारी गुमाई बेरोजगार हुने युवायुवतीहरुका लागि स्वदेशमा रोजगारको प्रवन्ध गर्ने सरकारको कदममा व्यवसायीहरुको पनि पूर्णसाथ रहने भन्दै वार्षिक करिब ९ खर्ब रेमिट्यान्स आर्जन गर्ने वैदेशिक रोजगार व्यवसायलाई रोजगारी गुमेको क्षेत्र भनेर सरकारले भुल्न नहुने बताए ।
संसदबाट पारित भएको नीति तथा कार्यक्रमले नेपालको अर्थतन्त्रको महत्वपूर्ण पाटोको रुपमा रहेको वैदेशिक रोजगार क्षेत्रलाई कुनै सम्वोधन नगर्नु गम्भीर चिन्ताको विषय भएको बताउँदै अध्यक्ष गैरेले आगामी बजेटमा यस क्षेत्रलाई समेट्नु पर्ने भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अर्थ मन्त्रालयको ध्यानाकर्षणले वैदेशिक रोजगार व्यवसायीहरुका माग कुनै न कुनै रुपमा सम्वोधन हुनेमा आशावादी रहेका बताए ।
वार्षिक एक सय जना कामदार वैदेशिक रोजगारीमा नपठाएमा ईजाजतपत्र नवीरकण नहुने वैदेशिक रोजगार ऐन तथा नियमावलीको प्रावधान खारेज गर्ने विषय र व्यवसायीहरुले ईजाजतपत्रका लागि रोखको धरौटीबाट संकटमा रहेका व्यवसायीहरको कार्यालय सञ्चालन र बजार पवर्द्धन गर्न ५० लाख रुपैयाँ एक वर्षका लागि फिर्ता गर्ने विषयमा व्यवसायीहरुको माग सम्वोधन हुनै पर्ने अध्यक्ष गैरेले बताए ।
लकडाउनको सन्दर्भ र त्यस पछिको अवस्थामा वैदेशिक रोजगार क्षेत्रलाई सुरक्षित गर्न आफु संघका पूर्व अध्यक्ष, सल्लाहकार, राजननीतिक दल निकट तथा अन्य जातीय भेगीय संघसंस्था तथा अग्रज व्यवसायीहरुको सुझाव अनुसार अघि बढ्न तयार रहेको भन्दै अध्यक्ष गैरेले वैदेशिक रोजगार क्षेत्रको सुरक्षाका लागि संघलाई रचनात्मक सुझाव दिएर व्यवसायीहरुले सहयोग गर्नुपर्ने बताए ।
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका संयोजक राम प्रसाद भान्तनाले मञ्चले कोरोना संकटको समाधानका लागि श्रम मन्त्रालयलाई छुट्टै सुझाव दिएको भएपनि व्यवसायीहरु संघमार्फत नै अघि बढ्नुपर्ने भएकाले संघको नेतृत्वले सबै पक्षका सुझाव लिएर परिणाम आउने गरी क्रियाशिल हुनुपर्ने सुझाव दिए । संयोजक भान्तनाले कोरोना संकटका बेला विभिन्न सामाजिक संघसंस्थाहरुले राहतका विभिन्न कार्यक्रम सञ्चालन गरेर सामाजिक काममा योगदान गरिरहेका भएपनि संघले लकडाउनको समय दुई महिना बढी भइसक्दा पनि राहतका कुनै कार्यक्रम ल्याउन नसकेको भन्दै संघ नेतृत्व र कार्यसमितिको आलोचना गरे ।
सरकारले अगाडि बढाएका नीति तथा कार्यक्रम र उद्देश्यलाई सहयोग पुर्याउन संघ प्रतिवद्ध भएर आउनुपर्ने भन्दै संयोजक भान्तनाले वार्षिक एक सय जना कामदार वैदेशिक रोजगारीमा नपठाएमा ईजाजतपत्र नवीकरण नहुने प्रावधान रद्ध हुने चरणमा रहेको जानकारी आफु समक्ष रहेको भन्दै त्यस विषयलाई लिएर व्यवसायीहरु चिन्तित हुनु आवश्यक नरहेको बताए ।
वैदेशिक रोजगारीबाट फर्किएका कामदाहरको राहत, उद्धार र व्यवस्थापनदेखि आगामी दिनमा नेपालमै उनीहरुलाई रोजगारी उपलब्ध गराउने विषयमा पनि वैदेशिक रोजगार व्यवसायीहरुले भूमिका खेल्नुपर्ने भन्दै संयोजक भान्तनाले व्यवसायीहरुले आफुलाई वैदेशिक रोजगारीमा पठाएका कामदारहरुको राहत तथा उद्धारमा मात्र सिमित गर्न नहुने बताए । उनले भने, ‘व्यवसायी साथीहरुको दायित्व फर्केर आउने कामदारहरुको भविश्यप्रति पनि रहेको छ ।’
नेपाल लोकत्रान्त्रिक वैदेशिक रोजगार एसोसिएसनका अध्यक्ष नरेन्द्रप्रसाद ढकालले वैदेशिक रोजगार व्यवसाय मात्र नभई यस व्यवसायसँग जोडिएका मेडिकल, ओरियन्टेन, होटल लगायतका क्षेत्रहरु कोरोना भाइरसका कारण आर्थिक रुपमा तहशनहसको अवस्थामा पुगेको भन्दै आगामी बजेटमा सरकारले यी सबै पक्षलाई सम्वोधन गर्नुपर्ने माग गरे ।
एसोसिएसनले यस विषयमा पटक पटक श्रम मन्त्रालयको ध्यानाकर्षण गराएको भन्दै अध्यक्ष ढकालले व्यवसायीहरुको छाता संस्थाको क्रियाशिलताका आधारमा व्यवसायीहरुको समस्या समाधान हुने भएकाले संघको नेतृत्व थप क्रियाशिल हुनुपर्ने एसोसिएसनको धारणा रहेको बताए । उनले भने, ‘संघको नेतृत्व क्रियाशिल नभएसम्म व्यवसायीले चाहेको उपलब्धि हासिल गर्न सकिँदैन, उपलब्धि प्राप्त गर्न संघलाई के के सहयोग चाहिएको भन्नुप¥यो, हामी सोही अनुसार सहयोग गर्न तयार रहेका छौं ।’
एसोसिएसनका अध्यक्ष ढकालले श्रम मन्त्रालयमा प्रशासनिक परिवर्तन भएको सन्दर्भ रहेकोले अहिलेको अवस्थामा संघको नेतृत्वले तत्काल व्यवसायीहरुमा माग सुष्पष्ट रुपमा राख्न समेत संघको नेतृत्वसँग आग्रह गरे ।
कार्यक्रममा मध्यान्ह दैनिकका सम्पादक मदन कुमार श्रेष्ठले कोरोना भाइसर संक्रमणका कारण हाल वैदेशिक रोजगार क्षेत्र ईतिहासमै नराम्रोसँग प्रभावित भएको भएपनि नेपालमा वैदेशिक रोजगार क्षेत्रको भविश्य नसकिएको बताए । व्यवसायीहरु उच्च मनोबलका साथ सम्भावनाहरु खोजी गर्न लाग्नुपर्ने सुझाव दिँदै सम्पादक श्रेष्ठले व्यवसायीहरुले संघको नेतृत्वलाई समस्या समाधानका लागि रचनात्मक सुझाव दिनुपर्ने र संघको नेतृत्वले पनि व्यवसायीबाट आएका सुझावहरुलाई विना पूर्वाग्रह ग्रहण गरेर सबै पक्षलाई परिचालन गर्न सक्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा तिनै जना व्यवसायीहरुले वैदेशिक रोजगारीमा पठाएका नेपाली कामदारहरु कोरोना भाइरसका कारण उत्पन्न स्वास्थ्य समस्यामा रहेको भएपनि आइतबारसम्म अन्य गम्भीर समस्यामा परेको जनाकारी नआएको बताए । कार्यक्रम सञ्चालन मध्यान्ह दैनिकका रेशम राज पौडेलले गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies