काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसीले सेवाबाट अवकास लिएका छन् । सोमबारबाट अनिवार्य अवकासमा गएका सचिव केसीलाई आइतबार मन्त्रालयमा आयोजित संक्षिप्त कार्यक्रममा मन्त्रालयका कर्मचारीहरुले उनले राष्ट्र सेवामा पु¥याएको योगदानको कदर स्वरुप दोसल्ला ओढाई मायाको चीनो उपहार दिई विदाई गरे ।
श्रम मन्त्रालयका तत्कालनि सचिव महेश दहाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सरुवा भई गएपछि सचिव केसीले २०७६ भदौ ९ गते श्रम सचिवको कार्यभार सम्हालेका थिए । त्यतिबेला मलेसियाको रोजगारी बन्द रहेको थियो । तत्कालनि सचिव दहालले नेपालको वैदेशिक रोजगार चौवाटोमा रहेकोले अत्यन्तै सावधान भएर अघि बढ्नुपर्ने भन्दै त्यसबेला मन्त्रालयमा आएका सचिव केसीलाई संवेदनशील भई काम गर्न सुझाव दिएका थिए । तर सो अनुासर काम हुन नसकेको वैदेशिक रोजगार व्यवसायीहरुको गुनासो छ ।
सहसचिव रहँदा केही समय वैदेशिक रोजगार विभागमा महानिर्देशकको जिम्मेवारी सम्हालेका केसीले वैदेशिक रोजगार क्षेत्रलाई राम्रोसँग बुझेको र उनको कार्यकालमा समस्याहरुको समाधान हुने व्यवसायीहरुको शुरुमा ठूलो आशा देखिएको थियो । सचिव केसीले पद बहाली गर्दा वैदेशिक रोजगार व्यवसायीहरुसँग छलफल गरेर समस्याहरुको समाधानमा लाग्ने संक्षिप्त प्रतिक्रिया पनि दिएका थिए ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले शुरुमै संशोधित वैदेशिक रोजगार ऐन र सरकारले २०७६ भदौ १ गते जारी गरेको वैदेशिक रोजगार (पाँचौ संसोधन) नियमावली २०७६ का बाझिएका प्रावधानहरुमा एक रुपता ल्याउन माग गर्दै सचिव केसीलाई लिखित पत्र नै बुझाएको थियो । नियमावलीमा म्यानपावर कम्पनी नवीकरण गर्न पछिल्लो दुई आर्थिक वर्ष लगातर वार्षिक एक सय कामदार अनिवार्य रुपमा पठाउनुपर्ने व्यवस्थालाई संघले परिवर्तनको माग गरेको थियो ।
वार्षिक एक सय कामदार पठाउने अनिवार्यताले नवीकरणकै लागि अस्वस्थ प्रतिस्पर्धा भई अन्ततः कामदारलाई नै भार पर्ने, सञ्चालक वा उसको परिवारलाई गम्भीर रोग लागेर उपचार गर्दा समयले नभ्याई कामदार पठाउन नपाएमा पेशा व्यवसायबाटै हात धुनुपर्ने, कामदार जाने देशमा आर्थिक मन्दीजस्ता समस्या आई कामदार जानै नसक्ने अवस्था उत्पन्न हुनसक्ने कारणले म्यानपावर कम्पनी नवीकरण गर्न एक आर्थिक वर्षमा सय जना कामदार अनिवार्य पठाउने नियम हुन नहुने भन्दै व्यवसायीहरु सचिव केसीको विगत दश महिनाको अवधिमा पटक पटक ध्यान खिच्ने प्रयास गरेपनि मन्त्रालयबाट विदा हुँदासम्म त्यसमा कुनै संशोधनको प्रयाससम्म भएन ।
कार्यकालको अन्त्यतिर त ऐन र नियमावलीमा रहेका समस्या समाधानका लागि अन्य पक्ष भन्दा सचिव केसी नै वाधकका रुपमा उभिएको भन्दै व्यवसायीहरु आपसमा कानेखुशी गर्न थालेका थिए । विदाईको क्रममा भने सचिव केसीले सुधारका लागि आफुले उच्चतम प्रयास गरेको र मुलुकको आन्तरिक तथा वैदेशिक रोजगारका क्षेत्रमा केही ऐतिहासिक काम भएको बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies