काठमाडौँ : मलेसियाले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण नरहेका गैरकानुनी हैसियतका विदेशी कामदारलाई स्वदेश फर्काउने भएको छ । मलेसियाका सुरक्षा मन्त्री स्माइल साब्री याकोभले मंगलवार त्यहाँको गृहमन्त्रालय सहित विभिन्न मन्त्रालयसंगको छलफल पछि उक्त निर्णय गरिएको बताएका छन् ।
उनले अवैधानिक कामदार फिर्ता पठाउन सबै सरकारी निकाय परिचालन गरिने समेत जानकारी दिएका छन् । उनले स्वदेश फर्काइनुअघि सबैलाई अनिवार्यरुपमा (कोभिड–१९) को परीक्षण गरिने पनि बताए ।
मलेसियामा हाल अवैध आप्रवासी कामदारलाई बुकित जेल, सेमेीन्हया र सेपाङ घर फिर्ति केन्द्रमा राखिएका छन् । उनीहरुको स्वाव परीक्षण भइरहेको मन्त्री याकुबले बताए । २ सय २७ विदेशी कामदार राखिएका डिपोर्टेसन सेन्टरमा हालसम्म ३ जना नेपाली कामदार संक्रमित रहेका छन् ।
कानूनी हैसियतका ५ लाख र गैरकानुनी हैसियतमा २५ हजार नेपाली रहेको मलेसियामा मंगलबारसम्म ६६ नेपाली कोरोना संक्रमित देखिएका छन् । त्यसमध्ये १३ जना निको भइसकेको नेपाली दुतावासले जनाएको छ ।
कोरोना संक्रमित विदेशी कामदारलाई मलेसियाले आफ्नै नागरिक सरह निःशुल्क उपचार गरिरहेको कारण उपचारमा कुनै समस्या नरहेको नेपाली दुतावासले जनाएको छ । मलेसियामा आवागमन नियन्त्रण आदेश (एमओसी)को अवधि जुन ५ सम्म छ । मलेसियाले आवागमन नियन्त्रण आदेश समाप्त भएको १४ दिनभित्र जनवरीयता भिसा सकिएका कामदारलाई स्वदेश फर्किन सूचना जारी गरेको छ ।
मलेसियाले गैर कानूनी हैसियतमा रहेका विदेशी कामदारलाई घर फर्काउने अभियान चलाएको छ । लुकिछिपी बस्नेहरुलाई पक्राउ नगरेको मलेसियाले गत मे १ देखि पुनः धरपकड गरिरहेको छ । तर नेपालीहरु पक्राउ नपरेको बताइएको छ । संयुक्त राष्ट्रसंघसहित स्थानीय अधिकारवादीहरूले कोभिड परीक्षण नगरी आप्रवासी कामदारहरु जथाभावी धरपकड नगर्न आग्रह गरिरहेका छन् । अनियन्त्रित रुपमा गरिने धर पकडले कोरोना भाइरसको संक्रमण बढेको उनीहरुको टिप्पणी छ ।
मलेसियामा संक्रमितहरुको संख्या खाडी मुलुकहरुको तुलनामा कम रहेपनि त्यहाँ कृषि, पयर्टन क्षेत्रका कामदार प्रभावित हुने र स्वास्थ्य उपचारमा प्रयोग हुने यन्त्र उपकरण, मास्क, पञ्जा र अन्य चिकित्सा उपकरण उत्पादन गर्ने उद्योगहरु र खाद्यान्न उत्पादन गर्ने औद्योगिक क्षेत्रका कामदार कम प्रभावित हुने आँकलन छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies