भारत : भारतीय गृहमन्त्री अमित शाहले भारतले कसैको सीमा नमिचेको बताएका छन् । भारतीय टेलिभिजन न्युज एट्टिनसँगको कुराकानीमा उनले यस्तो दावी गरेका हुन् । नेपालसहित भारतका अन्य छिमेकी राष्ट्रहरुको सम्बन्ध बिग्रिएकोबारे सोधिएको प्रश्नमा उनले भारतले सीमा उल्लंघन नगरेको उल्लेख गरेका हुन् ।
भारतीय गृहमन्त्री शाहले भारतीय सीमा र सेनाको सम्मान नगर्नेलाई भारत पाठ सिकाउन पछि नहटने समेत बताएका छन् । सीमा रक्षाका लागि भारतले सर्जिकल स्ट्राइक होस् या एयर स्ट्राइकको नीति विश्वमाझ स्थापित गरेको उनको भनाइ छ ।
पाकिस्तानी प्रधानमन्त्रीले भारतले छिमेकीसँग छदम युद्ध गरिरहेको आरोप लगाएको समयमा भारतीय गृहमन्त्रीको यस्तो भनाइ आएको हो । यसअघि भारतीय रक्षामन्त्री राजनाथ सिंहले भने लिपुलेकमा नेपालसँग उत्पन्न भएको सीमा विवाद वार्ताद्वारा नै हल गरिने बताएका थिए ।
भारतले नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनको तिब्बतस्थित मानसरोवर जाने सडकमार्गको गत बैशाख २६ गते उदघाटन गरेपछि नेपालले आपत्ति जनाउदै आएको छ ।
नेपालले अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ राजनैतिक तथा प्रशासनिक नक्सा पनि सार्वजनिक गरेको छ । नयाँ नक्सामा भारतले अतिक्रमण गरेको ३ सय ३५ वर्ग किलोमिटर जमिन समेटिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies