काठमाडौं : करिब १२ हजार नेपाली कार्यरत यूएईको एउटा कम्पनीमा २ हजार ५ सयभन्दा बढीले रोजगारी गुमाएका छन् । यूएईको ट्रान्सगार्ड ग्रुप नामको आउटसोर्सिङ कम्पनीमार्फत काम गर्दै आएका २ हजार ५ सय नेपालीले कोरोना महामारीले उत्पन्न संकटका कारण रोजगारी गुमाउनु परेको बताइएको छ ।
कम्पनीले एकैपटक उनीहरुको श्रम सम्झौता अन्त्य गरेपछि नेपालीले रोजगारी गुमाउने अवस्था आएको हो । रोजगारी गुमाएका कामदारहरुले युएईस्थित नेपाली दूतावासमा आफ्ना समस्या जानकारी गराएको बताइएको छ । कम्पनीले आफ्नै खर्चमा श्रमिकलाई नेपाल पठाउने प्रस्ताव गरेको भन्दै दूतावासले परराष्ट्र मन्त्रालयमा जानकारी पठाएको बताइएको छ । रोजगारी गुमाएका उनीहरुलाई खान बस्न कम्पनीले दिएपनि घर फर्किन नपाउँदा समस्या हुने नेपालीहरुको भनाइ छ ।
खाडी मुलुकहरुमा लकडाउन खुकुलो भएपछि पछिल्ला दिनमा कोरोना भाइरस संक्रमितको संख्यामा वृद्धि भइरहेको छ । संक्रमितहरुको संख्या बढेपछि खाडी क्षेत्रका मुलुकहरु विदेशी कामदारको संख्या घटाउनु पर्ने मान्यतामा पुगेका छन् ।
कुवेतले आप्रवासी कामदारहरुको संख्या ४० प्रतिशतमा झार्ने निर्णय गरेको छ । हाल कुवेतमा कुल जनसंख्याको ६० प्रतिशत विदेशी कामदार रहेका छन् । उक्त ६० प्रतिशतको संख्यामा रहेका कामदारलाई ४० प्रतिशतमा घटाउँदा ठूलो संख्यामा रहेका भारतीय कामदारको संख्या कम्तीमा ८ लाख कटौती हुने बीबीसीले उल्लेख गरेको छ । कुवेतमा हाल ७० हजार नेपाली कामदार कार्यरत रहेका छन् ।
विदेशी कामदार कटौती हुँदा नेपाली कामदारहरुले पनि रोजगारी गुमाउने खतरा बढेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले विशेष गरी कतार, साउदी अरब, यूएई, कुवेतमा अर्थतन्त्रको वृद्धिदर नकारात्मक (३.९५) हुने प्रक्षेपण गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies