काठमाडौं : मंगलबार बिहान नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग भेटवार्ता गरेकी छन् । बरिष्ठ नेता खनाललाई भेट्न राजदूत यान्छी डल्लु नै पुगेकी थिइन् । भेटवार्ता भएको पुष्टि भएपनि सम्वादको विषय भने सार्वजनिक भएको छैन ।
तर, स्रोतका अनुसार नेकपा भित्र बढेको विवादबारे राजदूत यान्छीले चासो राखेकी छन् । सोमबार मात्रै राजदूत यान्छीले अर्का नेकपाका बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग भेटवार्ता गरेकी छन् । नेता नेपाललाई भेट्न राजदूत यान्छी कोटेश्वर नै पुगेकी थिइन् । नेता नेपालसँग भएको भेटवार्ता दूतावास स्रोतबाटै बाहिरिएको छ ।
अर्थात्, विभाजनको मोडमा पुगेको नेकपाका नेताहरुलाई सन्देश दिनेगरी राजदूत यान्छीले भेटवार्ता गरेकी छन् । उनको भेटलाई कतिपयले नेकपालाई विभाजनबाट रोक्ने र अहिलेकै सरकारलाई निरन्तरताबारे दबाव दिन गरिएको रुपमा लिइएको छ । उच्च स्रोतका अनुसार, राजदूत यान्छीले दुई अध्यक्षसँग पनि पार्टीभित्रको समस्याबारे चासो देखाएकी छन् ।
गएको वैशाख ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि आएको संकटका बेला पनि राजदूत यान्छीले सक्रियता देखाएकी थिइन् । त्यसबेला पनि विभाजनतर्फ उन्मुख नेकपाको गतिविधि रोकिएको थियो । तसर्थ, यसपटकको सक्रियतालाई पनि चासोका साथ हेरिएको छ ।
सकारात्मक छलफल
पार्टीको आन्तरिक विवादमा सहमति खोज्न प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मंगलबार पनि तीन घण्टा बढी छलफल भएको छ । आन्तरिक विवाद बढेपछि असार १८ गतेबाट स्थायी कमिटी बैठक अनिश्चित बन्दै गएको छ । असार १६ गते बैठक बसेपछि १८ गते बोलाइएको थियो । तर, त्यसै दिन प्रधानमन्त्रीले संसद अधिवेशन अन्त्य गर्ने आकस्मिक निर्णय गरेपछि २२ असारमा बैठक बोलाइएको थियो । असार २२ गते पनि बैठक बस्न नसकेपछि आजका लागि बैठक बोलाइएको छ ।
तर, आजको बैठक भने स्थगित नगर्नेगरी दुई अध्यक्ष बीच सहमति जुटेको अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले बताए । उनका अनुसार, दुई अध्यक्षले आजको बैठक अगाडि शीर्ष नेताहरुसँग पनि सम्वाद गर्ने भएका छन् ।
गएको असार १० गतेदेखि चालु स्थायी कमिटीको बैठकमा सरकार हटाउन छिमेकी भारत र नेता भित्रभित्र लागेको भन्ने प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्ति र नेकपा (एमाले) नामक पार्टी निर्वाचन आयोगमा दल दर्ताको निवेदन परेको विषयले प्रवेश पाएपछि नेताहरु बीचको दूरी बढेको छ । यी नयाँ विषयले पूर्वानिर्धारित कार्यसूची प्रभावित हुँदै आएका छन् ।
असार १८ गते संसद अधिवेशन स्थगित गरिएपछि राजनीनितक दल सम्बन्धी खारेज भएको अध्यादेश पुनः ब्यूँतने संशयले नेकपाभित्र तरंग उत्पन्न भएको छ । तर, प्रधानमन्त्री ओलीले यस्तो कदम नचाल्ने प्रतिबद्धता जनाएपछि बैठक पुनः शुरु हुन लागेको हो ।
असार १४ गते जननेता मदन भण्डारीको जन्मजयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले आफूले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा जारी गरेबापत सरकार हटाउन भारतीय पक्ष र देशभित्रैबाट पहल भएपनि नक्सा छापेबापत सरकार परिवर्तन हुने नेपालको राष्ट्रियता त्यति कमजोर नभएको अभिव्यक्ति दिएका थिए । बैठकमा स्थायी कमिटीमा नेपालको सीमा समस्या र समाधान, सरकारको समग्र समीक्षा, कोरोना रोकथाम र उपचार, पार्टी एकताका बाँकी काम, एमसीसीलगायत कार्यसूची छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies