सुमन महतारा/मध्यान्ह
गुल्मी : एउटा ठुलो रुख । रुखमा सानो कार्ड बोर्डमा ठुला अक्षरमा लेखिएको छ, - ‘ यहाँ चटपटे पाइन्छ ।’ यो स्थान हो, गुल्मीको इस्मा गाउँपालिका– ४ मौले पोखराको । रुखको फेदनिर तीन जना बालबालिकाले चटपटे बेचिरहेका छन् । न त उमेरले पाका, न सीपले पोख्त तर पनि चटपटेको व्यापार चलिरहेकै छ, उनीहरुको । धेरै बालबालिकाहरु लकडाउनले स्कुल जान पाएका छैनन् । यो समयमा उनीहरु घरमै बसिरहेको छन् । तर इस्मा– ४, मौलेपोखराका यी बालबालिकाहरु भने चटपटे बनाएर बेच्दै छन् । बिहान साढे दश बजे उनीहरु दिनहुँ त्यही रुखमुनि आउँछन् । साँझ साढे पाँच बजेसम्म चटपटे बेच्छन् । बाटोमा हिड्नेहरुले उनीहरुले बनाएको चटपटे स्वाद मानी – मानी खाइरहेका छन् ।
तीन जना बालबालिकाले रमाई – रमाई चटपटेको व्यापार गरीरहेका छन् । त्यसमध्येका एक हुन्, किस्मत तिमिल्सना । उनी अहिले दश वर्षका भए । उनी रामराज्य माध्यमिक बिद्यालयमा अहिले कक्षा ४ मा अध्ययनरत छन् । महामारीको रुपमा फैलिएको कोरोना भाइरसले विद्यालय बन्द छ । उनले बिहान – साँझको समयमा घरमा अध्ययन् गर्छन् । दिउँसोको समयमा मिलेर चटपटेको बेच्छन् । उनका बुबा विदेशमा छन् । आमा घरायसी काम गर्छिन् । घरमा खालि बस्नुभन्दा साथीहरुसँग मिलेर चटपटे बेच्दा आफुलाई कसरी व्यापार गरिन्छ भन्ने ज्ञान प्राप्त भएको अनुभव सुनाउँछन् उनी ।
उनी मात्र होइन, विशाल तिमिल्सना पनि चटपटे बेच्दै छन् । उनी अहिले १२ वर्षको भए, कक्षा ७ मा बुटवलमा रहेको रोजबर्ड एकेडेमीमा पढ्दैछन् । कोरोना भाइरसलाई मध्यनजर गर्दै गरिएको लकडाउनमा उनी घरमा आएको पनि महिना बितिसकेको छ । लकडाउनले स्कुल बन्द छ । उनी बुटवल फर्कन पाएका छैनन् । घरमा आएका बेला साथीहरुसँग मिलेर चटपटे बेच्न पाउँदा आफुलाई खुसीको अनुभुति भएको बताउँछन् उनी । यसले आफुलाई व्यवहारिक ज्ञान दिएको उनको बुझाई छ ।
किस्मत र बिशाल मात्र होइन, उनीहरुसँगै सिमा बिष्ट पनि छिन् । उनी अहिले दश वर्षकी भइन् । सिमा पनि रामराज्य माध्यमिक बिद्यालयमा अहिले कक्षा ५ मा अध्ययनरत छिन् । लकडाउने विद्यालय बन्द छ । दिउँसोको समयमा आफुहरु मिलेर चटपटे बनाएर बेच्ने गरेको सुनाइन् । बिहान – साँझको समयमा अध्ययन् गर्ने र दिउँसो समयमा चटपटे बेच्ने गरेको उनको भनाई छ । स्कुल जाँदा चटपटे बनाएको देखेका उनीहरुले अहिले आफैँले चटपटे बनाएर बचिरहेका हुन् ।
उनीहरुले यसरी चटपटेको व्यापारबाट आएको रुपैँया अध्ययन्का लागि आवश्यक कापी, कलम, पुस्तक खरिदमा खर्चिने बताए । उनीहरुको नजिकै सोही स्थानका मानप्रसाद तिमिल्सना भवन बनाउने काम गर्दै छन् । कोरोना महामारीले बिद्यालय बन्द छन् । तर यी बालबालिकाले अध्ययन्सँगै चटपटे बेचेको देख्दा आफुलाई सुखी लागेको तिमिल्सनाको भनाई छ ।
बालबालिकाहरुको सानो उमेर भएपनि मिलेर काम गरेको देख्दा आफुलाई खुसी लागेको उनले बताए । ‘जीवन चलाउन पैसा पनि चाहिन्छ, कसरी अर्थोपाजन गर्न सकिन्छ । अहिले बालबालिकाले सिक्दै छन् ।’ उनले भने, ‘यसबाट उनीहरुलाई दिर्गकालका लागि व्यवहारीक ज्ञान समेत प्राप्त भएको छ ।‘ लामो समयसम्म घरमा बालबालिका रहँदा उनीहरुलाई अभिभावकले व्यवहारीक ज्ञान प्रदान गर्न सके उनीहरुको भविष्य सहज हुने तिमिल्सनाको अनुभव छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies