गणेश सिंह धामी/मध्यान्ह
दार्चुला : भारतले नेपाली भूमि लिपुलेक जोड्ने सडक विस्फोटक पदार्थले चट्टान फुटाउँदै विस्तार गर्न थालेपछि व्यास गाउँपालिका–१ जोड्ने बाटो निर्माणमा अवरोध पुगेको छ । नेपाली सेनाले जेठ दोस्रो सातादेखि बाटो बनाइरहेको छ । भारतले आफ्नोतिर ठूला चट्टान फुटाएर महाकालीमा खसाल्दा नदीको बहाव नेपालतर्फ फर्केपछि बन्दै गरेको कटानमा परिरहेको छ ।
भारतले महाकाली किनारैकिनारबाट धार्चुला – लिपुलेक सडकको ट्रयाक खोलेर गत वैशाख २६ मा उद्घाटन गरेको थियो । नेपाली सेनाले बाटो निर्माण थालेदेखि नै भारतले सडक चौडा पार्न थालेको स्थानीयले बताए । सेनाले घोडेटोको ट्रयाक खोलिरहेको ठीक पारिपट्टि भारतले पनि निर्माणलाई तीव्रता दिएको हो ।
भारतले सडक विस्तार गर्न दैनिक ४ / ५ पटक विस्फोट गराएर चट्टान खसालिरहेको छ । विस्फोट हुँदा स - साना ढुंगा र चोइटा उछिट्टिएर आउने हुनाले ज्यान जोगाउनसमेत मुस्किल भएको घाटीबगरमा काम गर्नेहरू बताउँछन् ।
भारतले विस्फोट गराउँदै चट्टान नदीमा खसालिरहे नदीको सतह अझै माथि आउने सम्भावना रहेको कामदारहरूले बताएका छन् । उनीहरूका अनुसार अहिले सेनाले निर्माण गरिरहेको बाटोभन्दा ४ - ५ मिटर मात्रै मुनि महाकाली बगिरहेको छ भने तलबाट नदी कटान भइरहेको छ ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले सीमावर्ती पिथौरागढ जिल्लाका डीएमले सडक निर्माणका ठेकेदारलाई असर नहुने गरी तलमाथि मिलाएर काम गर्न लगाउने मौखिक आश्वासन दिएको तर त्यहीअनुसार काम नभएको बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies