काठमाडौं : वैदेशिक रोजगारीमा जान चाहने कामदारलाई सरकारका तर्फबाट दिइने श्रम स्वीकृति नपाएपछि रोजगार आकांक्षी युवाहरुको आक्रोस सडकमा पोखिन थालेको छ । रोजगारीका लागि दक्षिण कोरीया जाने सबै प्रकृया पूरा गरिसकेका युवाहरु तत्काल आफुहरुको उडानको प्रवन्ध गर्न माग गर्दै बुधबार सडकमै उत्रिएका छन् भने खाडी तथा मलेसिया जान चाहने युवाहरु पनि श्रम स्वीकृति नखुल्दा उकुश मुकुश र छट्पटीको अवस्थामा पुगेको बताएका छन् ।
दक्षिण कोरीया जान नपाएका युवाहरुले आगामी २ हप्ताभित्र सरकारले कोरिया पठाउने पहल नगरे रोजगार भिसा पाएका ३ हजारभन्दा बढी नेपाली युवाहरुले आकर्षक रोजगारी गुमाउनुपर्ने अवस्था रहको छ ।
बुधबार माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका उनीहरुले ‘कि रोजगारी दे, कि कोरिया जान दे’, ‘सरकार सक्छौ भने देशमै देउ रोजगार, सक्दैनौ भने लाखौं बेरोजगार युवाहरुको भविश्य नविगार’, ‘कोरियाका लागि अन्तर्राष्ट्रिय उडान सुचारु गर’ जस्ता नारा उल्लेखित प्लेकार्ड बोकेका थिए । सरकारकै अनिर्णयका कारण रोजगारी गुमे अहिलेसम्मको समय, लगानी र मिहेनत खेर जाने र मानसिक रुपमा डिप्रेसनको सिकार हुने कतिपयको भनाइ छ ।
विदेशमा कोरोना संक्रमण बढेपनि स्वदेशमा रोजगारीको सम्भावना नदेखेका युवाहरुमा वैदेशिक रोजगारीमा जाने हुटहुटी कम भएको छैन । सरकारले साउन ७ गतेसम्म सबै व्यवसायिक अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । नेपाल आउने चार्टर फ्लाइटका जहाजमा कामदारहरुले व्यहोर्न नसक्ने गरी हवाई भाडा अनपेक्षित रुपमा महंगो रहेको छ । व्यवसायिक अन्तर्राष्ट्रिय उडान सुचारु नहुँदा कसरी गन्तव्यमा पुग्ने कुनै टुंगो समेत देखिएको छैन ।
वैदशिक रोजगार कार्यालय ताहाचालका प्रमुख उमेश बस्नेतले बुधबारसम्म १ हजार ४ सय २० जना युवा युवतीहरुले वैदेशिक रोजगारीमा जान पुनः श्रम स्वीकृति लिएकोे मध्यान्ह राष्टिय दैनिकलाई जानकारी दिए । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले गत असार ७ गते बिदामा नेपाल आएकासहित नयाँ रोजगारीमा जाने कामदारलाई श्रम स्वीकृति दिने निर्णय गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई अख्तियारी प्रदान गरेको थियो । मन्त्रालयले सोही अख्तियारी अन्तर्गत असार १८ गतेदेखि बिदामा आएका, भिसा र करारको अवधि भएकालाई वैदेशिक रोजगारीमा जान पुनः श्रम स्वीकृति दिने निर्णय गरेको थियो ।
बिदामा घर आएकासँगै मुलुकमा रोजगारी नपाई रोजगारीमा जान चाहने नयाँ कामदारहरुमा पनि वैदेशिक रोजगारीमा जाने हुटहुटी छ । ‘श्रम’ कहिले खुल्छ ? भनी वैदेशिक रोजगार विभाग र श्रम मन्त्रालय मातहत रहेको कल सेन्टरमा दैनिक ठूलो संख्याले टेलिफोन गरी जानकारी माग गर्ने गरेका छन् ।
सीसीएमसीले बिदामा नेपाल आएकासहित नयाँ रोजगारीमा जाने कामदारलाई श्रम स्वीकृति दिने निर्णय गर्न श्रम मन्त्रालयलाई अख्तियारी प्रदान गरेपनि मन्त्रिपरिषद्ले निर्णय नगर्दा नयाँ कामदार जाने बाटो नखुलेको मन्त्रालयका प्रवक्ता घिमिरे बताउँछन् ।
प्रवक्ता घिमिरेले त्यस सम्वन्धमा मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको तर निर्णय हुन बाँकी रहेको बताए । तर पछिल्ला दिनमा श्रम मन्त्रालयले निर्णयका लागि मन्त्रिपरिषद् पठाएका फाईलहरुमा निर्णय हुन सकेका छैनन् ।
मन्त्रालयले कोरोना संक्रमणका कारण वार्षिक एक सय जना कामदार वैदेशिक रोजगारमा पठाउन नपाएका म्यानपवार कम्पनीहरुलाई छुट तथा राहत प्रदान गर्न पठाएको बहुचर्चित प्रस्तावलगायत अन्य केही प्रस्ताव मन्त्रिपरिाषद् मै रोकिएका छन् । विभागको काठमाडौं कार्यालय ताहाचलका प्रमुख बस्नेतले रोजगार आकांक्षीहरुको दवाब आएपनि सरकारको निर्णय कुर्नुको विकल्प नरहेको बताए ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले श्रम स्वीकृति बन्द र लकडाउनका कारण अन्तर्राष्ट्रिय उडान प्रतिवन्धले भिसा पाई विभागबाट श्रम स्वीकृति समेत प्राप्त गरेका १ लाख १५ हजार कामदार विदेश जान नपाएको र पूर्व स्वीकृति प्राप्त गरेका ३ लाख २८ हजार ६ सय ८१ जना कामदारको अन्तिम श्रम स्वीकृति पाउन बाँँकी रहको बताएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies