सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ५ जम्बुमा गए राति परेको अविरल वर्षाका कारण भोटेकोशीमा आएको बाढीले घाइते भएकाहरुको उद्धारका लागि काठमाडौंबाट उडेको हेलिकप्टर फर्किएको छ । उद्धारका लागि उडेको सभामुख अग्नीप्रसाद सापकोटासहित टोलीको हेलिकप्टर धुलिखेलबाट फर्किएको हो ।
खराब मौसमका कारण हेलिकप्टर घटनास्थल नपुगी धुलिखेलबाटै फर्किएको सभामुख सापकोटाका सञ्चार विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए । अहिले सभामुख सापकोटा, बागमती प्रदेशको आन्तरिक मामिला मन्त्री सालिकराम जमरकट्टेल लगायतको टोली त्रिभुवन विमानस्थलमा मौसम अनुकुल हुनासाथ घटनास्थल पुग्नको लागि तयारी अवस्थामा छन् ।
यता घाइतेको उद्धारका लागि गएको नेकपाका केन्द्रीय सदस्य माधव सापकोटासहितको टोली रहेको हेलिकप्टर दुर्घटनाहुनबाट जोगिएको छ । कैलाश एयरको हेलिकप्टर उद्धारका लागि बिहान ८ बजे काठमाडौंबाट उडेको थियो । मौसम खराबका कारण झण्डै दुर्घटना भएको सापकोटाले बताए । सो हेलिकप्टर अहिले काभ्रेको मंगलटारमा अवतरण गरिएको छ ।
बाह्रबिसे नगरपालिका– ५ जम्बुमा पर्ने एल्मो ठाडो खोलामा आएको बाढीले १४ घर बगाएको छ भने २ को शव फेला परेको छ । बाह्रविसे नगरपालिका–५ जम्बु निवासी २० वर्ष निकेश बस्नेत र उनको ३ वर्षीया छोरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । ३ जना घाइतेलाई भने उद्धार गरिएको छ । उनीहरुको अवस्था गम्भीर रहेको जनाइएको छ । उनीहरुको उपचार हुन सकेको छैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies