काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले भारतीय पक्षबाट एकातर्फी रुपमा सीमा क्षेत्रमा सडकरुपी बाँध बनाउँदा नेपाली भूमि डुबानमा परेको बताएका छन् । प्रतिनिधिसभाको राज्य ब्यवस्था समितिको आजको बैठकमा उनले भारतले सीमा क्षेत्रमा हस्तक्षेप गरी बनाएको बाँध र संरचना हटाउन नेपाल सरकारले पहल गरिरहेको भएपनि त्यो सार्थक हुन नसकेको बताएका हुन् ।
प्रकृतिक विपत्तिसँगै मानवीय क्रियाकलापका कारण धेरै क्षति हुने गरेको भन्दै गृहमन्त्री थापाले विपद्को न्युनिकरणका लागि एकीकृत बस्ती विकास, वैज्ञानिक रुपमा पूर्वाधार निर्मार्ण तथा जनचेतना जगाउनुपर्ने बताए ।
छलफलमा राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले देशभरका झण्डै ११ हजार घर बाढी पहिरोको उच्च जोखिममा रहेको बताए । ७ सय ४ घरहरु सुरक्षित स्थानमा तत्काल स्थानान्तरण गर्नुपर्ने प्राधिकरणको निस्कर्ष छ ।
बैठकमा गृह सचिव महेश्वर न्यौपानेले सरकारले ७७ वटै जिल्लामा विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा राखेको जानकारी दिए । यस वर्षको मनसुन शुरु भएयता बाढी र पहिरोमा परी एक सय भन्दा बढीको मृत्यु हुनका साथै ४६ जना बेपत्ता भएको गृह मन्त्रालयले जानकारी दिएको छ ।
सरकारलाई समितिको निर्देशन
यसैबीच समितिले सीमा नजिक बनेका सडक, बाँध, तटबन्ध लगायतका भौतिक संरचनाहरु तत्काल हटाउन सरकारलाई निर्देशन दिएको छ । समितिले अन्तर्राष्ट्रिय मापदण्ड विपरित सीमा नजिकैका क्षेत्रहरुमा निर्माण भएका सडक, बाँध, तटबन्ध लगायतका भौतिक संरचनाहरुलाई तत्काल हटाउन पहल गर्न नेपाल सकरार गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।
सीमा नजिक बनेका संरचनाहरुले नेपाल तर्फ डुवान परेकोले त्यस्ता संरचनाहरुलाई तत्काल हटाउनुपर्ने समिति सभापति शशी श्रेष्ठले बताइन् । समितिले भु–बनोटको जाँच गरी उच्च जोखिममा रहेका बस्तीहरुलाई अन्यत्र सुरक्षित ठाउँमा स्थानान्तरण गर्न समेत निर्देशन दिएको छ । यस्तै डुवान मुक्त घरको नमुना तयार गरी एकीकृत वस्ती बसाल्न आवस्यक व्यवस्था गर्न निर्देशन दिइएको सभापति श्रेष्ठले बताइन् ।
बाढी पहिरो र डुबानबाट प्रभावितहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी स्थायी समाधानका लागि कार्ययोजना वा गुरुयोजना तयार गर्न समेत निर्देशन दिएको छ । समितिले बाढी पहिरो र डुबानबाट पर्न सक्ने असरलाई तत्काल व्यवस्थिगत गर्न स्थानीय तहमा श्रोत साधन सहतिको विपद व्यवस्थापन कार्यालयको स्थापना गर्न समेत निर्देशन दिएको छ । बाढी पहिरो र डुबानबाट वेपत्ता भएका हरुको तत्काल खोजी उद्धार गर्ने र बाढीबाट प्रभावित सम्पूर्ण पिडितहरुलाई विभिन्न तहहरुको समन्वयद्धारा एकद्धार प्रणालीमार्फत राहत उपलब्ध गराउन समेत निर्देशन दिएको छ ।
समितिले बाढी प्रभावित क्षेत्रहरुमा स्वास्थ्य सेवा तथा सरसफाई, सर्पद्धंश तथा अन्य औषधि उपचारको अवस्यक व्यवस्था गर्न समेत निर्देशन दिएको छ । विपदको समयमा हुनसक्ने सम्भावित चोरी डकैति, बलात्कार र महिलामाथि हुन सक्ने हिंसाका घटनाहरु प्रति सजग रही भरपर्दो सुरक्षा प्रबन्ध मिलाउन समेत गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
यस्तै नेपालमा बन्दै गरेका लोकमार्गको बैज्ञानिक व्यवस्थापन गरी राजमार्ग जोडने सडकहरु, पानीधारलाई समानान्तर बनाउने, रेलमार्ग तथा सडकमा निश्चित दुरीमा पानीको निकासका लागि साइफन कलभर्ट र सडक किनारमा नालाहरु अनिवार्य बनाउने व्यवस्था गर्न समेत निर्देशन दिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies