काठमाडौं : परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको विवादास्पद अभिव्यक्तिको प्रष्टोक्ति दिदै यो राजनीतिक विषय नभएको जनाएको छ । मंगलबार परराष्ट्र मन्त्रालयले बक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीको अभिव्यक्तिको अर्थ राजनीतिक नभएको जनाएको छ । मन्त्रालयको बक्तव्यमा उल्लेख छ, “प्रधानमन्त्रीको अभिव्यक्ति अयोध्यादको महत्व र यसको सांस्कृतिक मूल्यको अवमूल्यन गर्नका लागि थिएन ।”
तर, परराष्ट्रका जानकारहरु भने प्रधानमन्त्रीको बक्तव्य परराष्ट्र मन्त्रालयको बक्तव्यले खण्डन योग्य नभएको बताउँछन् । पूर्व राजदूत दीपकुमार उपाध्यय दुई देशका सरकारबीच मात्रै नभएर यसले जनताको तहमा असर पारेको बताउँछन् । उनी भन्छन्, “प्रधानमन्त्रीको तहले बोल्ने भाषा होइन । धर्म राजनीति र कुटनीति भन्दा माथि हुन्छ ।” उनी प्रधानमन्त्रीबारे सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नै सोच्ने बेला आएको बताउँछन् ।
सोमबार भानु जयन्तीको अवसरमा प्रधानमन्त्री ओलीले रामको जन्मस्थल भारत नभई नेपालकै पर्साको ठोरी भएको बताएका थिए । प्रधानमन्त्रीले भारतले मान्दै आएको अयोध्या सक्कली नभएको बताएका थिए । प्रधानमन्त्री ओलीले जनकपुरका सिताको विहे भारतमा हुन नसक्ने बताएका थिए ।
उनको भनाइबारे परराष्ट्र मामलाका जानकारहरुले मात्रै नभएर स्वयम सत्तारुढ नेकपाकै नेताहरुले समेत आश्चार्य व्यक्त गरेका थिए । विदेश विभाग उपप्रमुख राम कार्की प्रधानमन्त्रीको अभिव्यक्तिले भारतीय जनताको भावनामा असर पुग्ने बताए । कार्की यस्तो अभिव्यक्तिबारे छलफल हुनुपर्ने आवश्यकता देख्छन् । उनी अहिले नेपालले जारी गरेको नयाँ नक्सामा समेटिएको भूगोल फिर्ता ल्याउनेबेला दिइएको अभिव्यक्तिलाई अस्वभाविक मान्छन् ।
भारतका सत्तारुढ पार्टी भारतीय जनता पार्टी (भाजपा) ले पनि प्रधानमन्त्री ओलीको अभिव्यक्तिको खण्डन गरेको छ । उसले भारतीय जनताको आस्थाको केन्द्र जसले जहाँ जुनसुकै अभिव्यक्ति दिए पनि ढल्न नदिने प्रतिबद्धता समेत जनाएको छ । कतिपयले भने प्रधानमन्त्रीको अभिव्यक्तिले दुई देश बीचको सम्बन्धमा नयाँ समस्या सिर्जना गरेको बताउँछन् ।
हुन पनि प्रधानमन्त्री ओलीले लगातार यस्तो अभिव्यक्ति दिदै आएका छन् । प्रधानमन्त्री ओलीले केही समय अगाडि सत्यमेव जयतेलाई सिंहमेव जयतको संज्ञा दिएका थिए भने कोरोना भाइरस पनि चिनियाँ भन्दा भारतीय कडा हुने अभिव्यक्ति दिएका थिए । यसले दुई देश बीचको जनतामा रहेको सांस्कृतिक सम्बन्धमा समस्या सिर्जना हुने धेरैले व्याख्या गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies