एजेन्सी : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हङकङलाई दिइएको विशेष हैसियत अन्त्य गर्ने आदेशमा हस्ताक्षर गरेका छन् । चीनविरूद्ध बढ्दो रूपमा कडा नीति अंगाल्ने गर्ने क्रममा ट्रम्पले पछिल्लो कदम चालेका हुन् ।
वासिङ्टनमा आयोजित पत्रकार सम्मेलनमा उनले हङकङलाई अब मुख्यभूमि चीन जसरी नै व्यवहार गरिने ट्रम्पले बताए । हङकङको स्वतन्त्रतालाई मेटाउने सबै व्यक्ति र निकायलाई त्यसप्रति जिम्मेवार ठहर्याइने उनको भनाइ छ ।
ट्रम्पले आफ्नो प्रशासनले असमान व्यापार, अभ्यास र मानव अधिकारजस्ता विषयमा चीनविरूद्ध कडा कदमहरू चालेको पनि उल्लेख गरे । उनले चीनले विश्वमा कोरोना भाइरस छाडेको आरोप समेत लगाए । बेलायतले आफ्नो फाइभ जी मोबाइल नेटवर्कमा चिनियाँ प्रविधि कम्पनी ह्वावेईका सामग्री प्रतिबन्ध लगाउन गरेको निर्णयको पनि ट्रम्पले स्वागत गरेका छन् ।
ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग कुरा गर्ने आफ्नो कुनै योजना र रुचि नभएको पनि उल्लेख गरे । ट्रम्पले हङकङमा मानव अधिकार हनन गर्ने चिनियाँ अधिकारीमाथि प्रतिबन्ध लगाउन मिल्ने एउटा विधयेकमा समेत हस्ताक्षर गरेका छन् ।
अमेरिकी संसद्बाट एकमतले पारित भएको सो विधेयक अब कानुन बनेपछि हङकङसँग व्यापार गर्दा दिइने विशेष सुविधालाई अन्त्य गरिनुका साथै बैंकहरूमाथि प्रतिबन्ध लगाउने अधिकार समेत हुनेछ । चीनले हङकङको विशेष हैसियत अन्त्य गर्ने गरी नयाँ सुरक्षा कानून लागु गरेपछि अमेरिकाले पछिल्लो कदम चालेको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies