काठमाडौं : आफूहरुको माग पुरा गर्नेतर्फ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय गम्भीर नबनेको आरोप लगाउँदै निजी स्कुल सञ्चालकले भोलिदेखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन् ।
निजी स्कुल सञ्चालकहरुको दुई छाता संस्था प्याब्सन र एनप्याब्सनले आज संयुक्त बैठक बसेर यस्तो निर्णय गरेका हुन् । साउन एक गतेदेखि नै लागु हुनेगरि उनीहरुले सम्पूर्ण शिक्षक तथा कर्मचारीलाई बेतलबी विदा दिने निर्णय पनि गरेका छन् । उनीहरुले तत्काल पढाई सञ्चालन गर्न नसके पनि साउन एक गतेदेखि विद्यालय खोल्ने र विद्यार्थीको रजिष्ट्रेसन गर्नेलगायतका प्रशासनिक काम गर्न पाउनुपर्ने माग सरकार समक्ष राखेका थिए ।
साथै कोरोना संक्रमणका कारण समस्यामा परेका स्कुललाई ऋण दिनुपर्ने तथा अनलाइन माध्यमबाट भइरहेको पढाइलाई औपचारिकता दिएर विद्यार्थीबाट निश्चित शुल्क उठाउन पाउनुपर्ने माग पनि उनीहरुको थियो । त्यसमा सरकारसँग सहमति जुटन नसकेपछि नीजि विद्यालयले अनलाइन शिक्षा बन्द गर्ने घोषणा गरेका हुन् ।
कोरोनाका कारण निजी स्कुलहरुमा चरम आर्थिक संकटमा परेको उनीहरुको गुनासो छ। शैक्षिक गतिविधि सञ्चालन गर्न नपाउँदा शिक्षक कर्मचारीलाई तलब खुवाउन नसकेको, ऋणको ब्याज तथा किस्ता तिर्न नसकेको, घर भाडा तिर्न नसकेको लगायतका समस्या आफूहरुले बेहोर्नु परेको विद्यालय सञ्चालकको भनाइ छ ।
विद्यालय शिक्षामा आफूहरुको ३० प्रतिशत हिस्सा ओगटेको उनीहरुको दाबी छ । मुलुकभरका ६ हजार निजी विद्यालयम दुई लाख ५० हजार शिक्षक कर्मचारी कार्यरत रहेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies