काठमाडौं : निजामती कर्मचारीहरुको परम्परागत शैली भन्दा फरक टर्रो जवाफ दिने भनेर सामाजिक सञ्जालमा परिचित प्रदेश १ स्थित श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि शनिबार कार्यकक्षमै आफ्नै कर्मचारीबाट कुटपिट र अभद्र व्यवहार भएको छ ।
प्रहरीले कुटपिटमा संलग्न भएको आरोपमा सोही कार्यालयका सहयोगी कर्मचारी नेत्र भट्टराई र मेनुका सापकोटा कोइरालालाई नियन्त्रणमा लिएको छ । कार्यालय प्रमुख सञ्जेलमाथि उनीहरुले टेबुलमा कागजात थिच्ने (पेपर वेट) को डल्लो, चप्पल, पञ्चिङ मेसिन लगायतले प्रहार गरको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले बताएको छ ।
निजामती सेवामा उपसचिव सञ्जेल चर्चित र विवादित मानिँदै आएका छन् । कतिपयले भ्रष्टाचारविरुद्ध खरो अभिव्यक्ति दिने गरेको भनेर सञ्जेलको प्रशंसा गर्ने भएपनि धेरैले उनको टिप्पणी निजामति कर्मचारीको संस्कार र आचरण विपरित रहेको भन्दै आलोचना गर्ने गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले कर्मचारीहरुको कुटपिटबाट सञ्जेलको अनुहारमा चोट लागेको विषयमा छानविन भइरहेको बताएका छन् । कुटपिट गरेको आरोप लागेका कर्मचारी करारका कर्मचारीहरु हुन् । उनीहरुले आफुहरुलाई अतिरिक्त समयमा पनि काममा पेलेको र सामाजिक मर्यादा विपरित गालीगलौज गरेको दावी प्रहरीसमक्ष गरेको बताइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies