केही दिन अगाडि संघीय सांसद प्रदीप यादवलाई कोरानाको संक्रमण पुष्टि भयो । महामारीको ‘हट स्पट’ बनेको पर्साका सांसद यादवलाई संक्रमणको पुष्टि भएको छ । केही दिन यता लगातार महामारीबाट मृत्यु भइरहेको पर्सामा आइतबार पनि उच्च संख्यामा संक्रमित भेटिएका छन् । पर्सामा एकै दिन ८१ जनामा संक्रमण पुष्टि भएको दिन उता नेपालसँग सीमावर्ती भारतको उत्तर प्रदेशका मन्त्रीको मृत्यु भएको छ । यूपीका मन्त्री कमला रानीको संक्रमणबाटै मृत्यु भएको छ । त्यसै दिन भारतका संघीय सरकारका गृहमन्त्री अमित साहलाई समेत कोरोना पुष्टि भएको छ । उनी चिकित्सकको सल्लाहमा अस्पताल भर्ना भएका छन् ।
बढी प्रभावित हुने विश्वका तेस्रो मुलुक बनेको भारतमा १७ लाखमा संक्रमण पुष्टि भइसकेको छ भने ३७ हजारको मृत्यु भइसकेको छ । छिमेकी मुलुक भारतको यो डरलाग्दो अवस्थाले नेपालमा पनि तरंगित हुनुपर्ने अवस्था आएको छ । किनभने, नेपालमा संक्रमण पुष्टि भएका ९५ प्रतिशत बढी भारतबाटै आएका हुन् । अहिले पर्सामा संक्रमण पुष्टि भएकाहरु पनि धेरैजसो भारतबाटै आएका थिए । तिनै भारतबाट आएकाहरुबाट समुदाय स्तरमा संक्रमण फैलदा पर्सा महामारीको ‘हट स्पट’ बन्न पुगेको छ ।
पर्सा सहित बारा, विराटनगर, बिर्तामोड, नेपालगञ्ज लगायत शहर पनि महामारीबाट बढी प्रभावित बन्न पुगेको छ । १२० दिन लामो लकडाउन सरकारले गएको साउन ७ गतेबाट खुलाए सँगै राजधानी उपत्यकामा पनि संक्रमण दर बढेको छ । राजधानीका मुख्य शहरहरुमा पनि संक्रमित भेटिएका छन् । लकडाउन खुलेसँगै राजधानी प्रवेश गर्ने नाकाहरुबाट दश हजार बढीको स्वाब संकलन गरिएको छ । तर, स्वाब रिपोर्ट आउन भने बाँकी छ । एकातिर लकडाउन खुलेको अवस्था र अर्कातिर भीभीआईपीमै संक्रमण देखिनुले नेपालमा महामारीको भय बढेको देखिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि १२ वर्ष मुनिका र ६० वर्ष माथिकाहरुलाई घर बाहिर ननिस्कन आग्रह गरिसकेको छ ।
आरडीटी प्रयोगमा रोक, स्थलगत आवागमनमा कडाइ, ठूलो जमघटमा बन्देज र मास्क तथा स्यानिटाइजर अनिवार्य जस्ता कदम सरकारले अगाडि बढाएको छ । संक्रमण बढ्नुमा भने सतर्कता नअपनाउनुलाई महत्वपूर्ण मानिएको छ । त्यसैले अहिले जस्तो भयको बातावरण सिर्जना गरिदैछ, यसको ठाउँमा उच्च सतर्कता चाहिँ बढी आवश्यक छ । किनभने, लकडाउन आफैंमा समाधान होइन । लकडाउनको मात्रै विकल्प खोज्नतिर लाग्ने र सतर्कतामा ध्यान नदिने हो भने रोगसँगै भोकको भय समेत बढेर जानेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies