काठमाडौं : पार्टीभित्र उत्पन्न संकट समाधान गर्न बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल बीचको वार्ता सकिएको छ । केही दिन अवरुद्ध भएर आइतबारबाट सुरु भएको दुई नेताबीचको सोमबारको संवादमा पनि ठोस सहमति हुन सकेन ।
जनै पूर्णिमाको शुभकामना आदानप्रदान गरेर सुरु भएको आजको बैठक विषयवस्तुमा प्रवेश गरे पनि कुनै सहमतिमा पुग्न भने सकेन । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान करिब ९ बजेबाट सुरु भएको वार्तामा ओली, दाहालका साथै वरिष्ठ नेता झलनाथ खनाल र सुवास नेम्वाङ सहभागी थिए । दाहालको तर्फबाट वरिष्ठ नेता खनाल र नेम्वाङ ओलीका तर्फबाट वार्तामा सहभागी भएका हुन् ।
वार्तामा अध्यक्ष प्रचण्डले स्थगित भएको स्थायी समिति बैठकको तत्काल मिति तोक्न र समस्या समाधान गर्न अग्रसरता लिन ओलीलाई आग्रह गरेका थिए । तर, ओलीले पहिला सचिवालयमा सहमति गरेर मात्रै स्थायी समिति बैठक बोलाउनुपर्ने अडान दोहोर्याएका थिए ।
बैठक बोलाउने र नबोलाउने दुवै पक्षले अडान नछाडेपछि पुनः भोलि छलफल गर्नेगरी नेताहरु उठेका थिए । नेताहरुबीच करिव डेढ घण्टा संवाद भएको थियो । यसैबीच बालुवाटारको बैठक सकिए लगत्तै प्रधानमन्त्री ओली निजी निवास भक्तपुरको बालकोट पुगेका थिए ।
ओली किन निजी निवास गएका हुन् भन्नेबारे केही खुलेको छैन । आफ्नो घर नगएको धेरै समय भएकाले ओली बालकोट गएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies