-शैलेन्द्र घिमिरे
‘हाम्रो आन्दोलनको गौरवशाली यात्रा कुनै एक नेताको आयुसँगै सकिने नबनाइयोस् । आँखा नछोपियोस् र नभनियोस् कि म नियम मान्दिनँ । कथित घरवेटीले डेरा खोज्न थालेपछि बुुझेहुन्छ, घर भत्किँदैछ वा तिनले त्यसमा आगो झोस्ने छन् ।’
विचारविहीन सत्ता दृष्टिविहीन हुन्छ । यही बुझेर होला कवि भूपी शेरचनले २०२५ सालमा ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ शीर्षकमा कविता लेखे । सत्ता दृष्टिविहीन भएपछि शासकहरु भ्रममा नपर्ने कुरै भएन । सायद यही कारण होला नेपालमा राजा त्रिभुवनले पटक–पटक भनेका थिए रे–के नेपाली जनताले दूध–भात पनि खान पाँउदैनन् ?
सोभियत सत्ताका अन्तिम राष्ट्रपति मिखायल गोर्भाचोभलाई लाग्दथ्यो–सोभियत सत्ता अटल छ । पोलिटब्युरो बैठकमा एक सदस्यले गोर्भाचोभको सुधारलाई मजाकका रुपमा अथ्र्याउँदै भनेका थिए, “महासय तिमीले गल्ती गर्दैछौ ।” त्यतिबेला ती सदस्यको भनाइलाई कसैले पत्याएनन्, हाँसोमा उडाए ।
तर, एकाबिहानै सोभियत कम्युनिस्ट पार्टीका महासचिव तथा सोभियत संघका अन्तिम राष्ट्रपति तथा सुप्रिम सोभियतका अध्यक्ष आफ्नो कार्यालय जानै पाएनन् । सोभियत लालसेना एल्त्सिनका अगाडि रुझेको बिरालोजस्तै पिटर्सवर्गका सडकमा निरीह देखियो । सोभियत पोसाक भए पनि सेना सोभियत भएन । तात्कालिन संसद दुमामाथि पूर्व लालसेनाकै अगुवाइमा भीषण बमबारी गरियो। मिखायल गोर्भाचोभ सत्ताच्युत भए र त्यही पार्टीका पूर्व पोलिटब्युरो सदस्य वोरिस एल्त्सिन दक्षिणपन्थीको नेतृत्व गर्दै रसियाली राष्ट्रपति एवं सेना प्रमुख बने ।
एसियाको नयाँ सितारा र मुस्लिम समाजवादका नायकका रुपमा चिनिएका अफगानिस्तानका राष्ट्रपति नाजिबुल्लाह कावुलस्थित आफ्नै निवासमा सोभियत सेनाको सलामी लिँदै गर्दा साम्राज्यवादी षड्यन्त्रमा परे । राजधानी एकाएक अतिवादीहरुको कब्जामा गयो र कम्युनिस्टहरुलाई खोजीखोजी मारियो ।
पञ्चायतको अन्तिम–अन्तिम समयमा काठमाडौँ सयर गरेर फिर्ता भएका रुमानियाली राष्ट्रपति निकोलाई चाउचेस्कु एकबिहान मर्निड वाकबाट निवासमा फर्किन पाएनन् । उनलाई सीआईए परिचालित जत्थाले घेरा हाल्यो र मार्यो । सत्ताको एक विशेषता छ । प्रत्येक दिन षड्यन्त्रका तानावाना बुनिन्छन् जबसम्म षड्यन्त्र पराजित हुन्छ यो मजाको हुन्छ तर षडयन्त्र सफल भयो भने त्यो त्यतिनै क्रुर र खतरनाक हुन्छ ।
हाम्रोमा पनि सत्ता छ र कयौँपटक अन्धो भएको छ । अन्धो भएकै कारण सकिएको पनि छ । पञ्चायत ढल्नुुुभन्दा दुई वर्षअधि भएको स्थानीय निर्वाचनमा ९६ प्रतिशत स्थान पञ्चायतले जितेपछि युरोपियन देशका एक जना पत्रकारले विश्वले नेपालका राजा वीरेन्द्रमार्फत राजनीति गर्न सिक्नुपर्ने बताएका थिए । तर, दुई वर्षमै मरिचमानबाट लोकेन्द्रमा आएर पञ्चायत सकियो ।
२०६२/०६३ मा तात्कालीन शाही सेनाले बालाजुमा जनताको जुलुसमाथि स्वचालित राइफलबाट गोली चलाउँदै गर्दा कमल थापालाई लाग्दथ्यो– नेपालको सत्तामा तिनको पुस्तौनी हक छ । तर, त्यही गोलीका पर्राबाट बिजारोपित गणतन्त्र काठमाडौँमा उभिएन मात्र राजालाई एक गोली नपड्काई दरबार छाड्न बाध्य बनायो । थापालाई डेरा सर्न साँझ कुर्नुपर्ने बाध्यता प¥यो र उनी लुकीलुकी मन्त्री निवासबाट डेरा सरे । यो ज्ञानेन्द्र अतिवादको पराजय थियो । जुन पराजयलाई नेपालको राजनीतिक नेतृत्वले सुझबुझपूर्ण तरिकाले निष्कर्षमा पुर्याएको थियो ।
एक समय थियो–कम्युनिस्टहरु लुकीलुकी हिँड्थे । एक बेला थियो– कम्युनिस्टहरु आतंककारी ठहर्थे र गिरफ्तारीपछि तिनको ज्युँदै आँखा निकालिन्थ्यो, स्तन काटिन्थ्यो र उनीहरु पराजित भएको उत्सव मनाइन्थ्यो । तर, इतिहास सधैँ त्यस्तो रहेन । पराजित भए भनिएकाहरु बौरिएर सडक तथा जंगलभरी भए र उत्सव मनाउनेहरु नराम्ररी पछारिए ।
आज तिनको एजेन्डामा देश छ । जनताको लालसामा विकास छ, जो कम्युनिष्टहरुले जगाएका हुन् । आज हरेक क्रियाको प्रतिक्रिया तत्काल सडकमा देखिन्छ, जो कम्युनिस्टले बनाएका हुन् । आज नबोल्नेहरु भनिएका पनि बोल्छन किनकि तिनलाई थाहा छ– एक विस्मयकारी यात्राको महानायक तिनीहरुसँग छ । आज मान्छेले सहने कुरा गर्दैन, प्रतिकारको कुरा गर्छ, जो समाजवादको सपनाले सिकाएको छ । कहिलेकाहीँ यस्तो भइदिन्छ कि सत्तामा बसेकाहरुले एजेन्डा बिर्सिन्छन्, साँघुरा भैदिन्छन् । तिनलाई लाग्छ कि तिनको ताल नमिलेको लयमा पनि भाँती छ । जनताको मौनतालाई तिनले रमाइलो मान्छन् र जनता आफूसँगै भएको ठन्दछन् । तिनले जे गरेपनि छुट छ भन्ने मान्दछन् । तर, हकिकत त्यस्तो हुँदैन । जब जनता जाग्छन्, एक निमेषमै चित्रहरु फेरिन्छन् र नयाँ इतिहास कोरिन्छ ।
हो, हामी राष्ट्रवादी हौँ । कम्युनिस्टहरु अन्तर्राष्ट्रियतावादी अवश्य हुन र राष्ट्रवादका असल हिमायती पनि हुुन् । नेपालको इतिहासले त्यही भन्छ । कोसी, गण्डक, महाकाली सन्धि र नाकाबन्दी सबैमा कम्युनिस्टहरुले आफ्नो कित्ता प्रष्ट्याएका छन् । इतिहासको एक मोडमा नेपालको नदी छिमेकीलाई दान गर्न हदैसम्मको हर्कत गर्नेहरु एकाएक छद्म राष्ट्रवादी बन्ने कुरा सुन्नेलाई अचम्म नलागे पनि बुझ्नेलाई भने अचम्म लाग्छ ।
छलछाम राष्ट्रवाद होइन । संवाद शून्यतामा देशलाई पुर्याएर हामी चित्रमा मात्र अल्झिने विचित्रको राजनीतिमा छौँ । त्यतिमात्र होइन हामी एमसीसीको पछि छौँ । सारा ब्रमाण्डलाई थाहा छ–एमसीसीका पिर्कामा उभिएर समाजवादको सपना पूरा हुँदैन । एमसीसीमा हाम्रो अहितका विषयहरु छन् भनेर अध्ययन कार्यदलले बुझाउँदा पनि हामीलाई लागिरहेको छ कि उनीहरु हाम्रा मामातिरका हुन् । एमसीसीले हामीलाई अफगानिस्तान बनाउँछ, हैटी बनाउँछ। जर्जरता दिन्छ र भन्नेछ– तिमीले तिम्रो देश चलाउन सकेनौ । यो हकिकत हो, तर सत्तासिनहरुलाई त्यस्तो लाग्दैन एक दिन र मात्र एकछिन हाम्रो सत्ता लम्बिनुपर्छ, कुरो यत्ति छ । आफू ‘मरे के राजा’ भनेझैँ भन्ने गरिएको परलोकसम्मै सत्ता लैजान लालायितहरु विधिमा छिर्दैनन्, नियम मान्दैनन् । मानौं तिनीहरु नियम नमानेरै जन्मिएकाहरु हुन् । तिनीहरु सडकमा जान्छन् र अन्तरपार्टीको कुरालाई छताछुल्ल पार्छन् । एक टुक्रो पार्टी सदस्यता पाउन एक आधारभूत वर्गको मानिसलाई खुवाइएको सपथ र बनाइएको नियमको नौ हण्डर तिनलाई ज्ञान हुँदैन । तिनलाई जगत मिथ्या मात्र थाहा छ । तिनीहरु एक घेरामा छन्, घेरा र फेराले के भन्छ त्यही तिनको विज्ञानको अन्तिम सत्य हो ।
रेल र तेल गत निर्वाचनमा विकेको कुरा हो । यही चालाले हामीलाई न रेल दिन्छ न तेल दिन्छ । निर्वाचनको घोषणा पत्रमा के छ ? सरकारमा बसेकाहरुले बिर्सेका छन् । स्थानीय सत्ता मियो नभएझैं प्रतिवद्धताबाट खस्किएको छ । तिनलाई मियोमा हाल्न सक्दा मात्रै दुई वर्षमा हामीले आजभन्दा कयौँ गुणा प्रगति गर्न सक्छौँ । नगर्दा हामी सकिन्छौँ । मानिसले अर्को निर्वाचनमा बाल्टीमा पानी राखेर कागजको डुंगा देखाए भने हाम्रो जवाफ के हो, भोट बटुल्ने जमिनको पार्टी पंक्तिलाई ‘थाहा’ चाहिएको छ । हामीले सिकाएको विधिले भन्छ– सक्षमहरुलाई उकेरो नलगाऊ । सक्षमहरुलाई जोगाऊ र त्यो डिउटीमा लगाऊ जसले परिणाम दिन्छ ।
यसका लागि हामीले कम्युनिस्ट भएर सोचौँ । जबसम्म हामी गुटका मात्र भएर सोच्छौँ, हामीलाई यथार्थताको बोध हुँदैन । आजको टकराव गत निर्वाचनको हाम्रो प्रतिवद्धतालाई प्राण दिने प्रयत्न हो । महामारी र बाढीमा यस्तो कुरा गर्नु हुँदैन भन्ने तर्क बेइमानी हो । किनकि कठिनाई नआइ कसैको परीक्षा हुँदैन । जब पारलाग्ने देखिँदैन विकल्प सोच्न एक सेकेन्ड मात्र ढिला गर्नु जनतालाई धोका दिनु हो । यसरी भएन भनेर अर्को सत्य उत्खननको यत्न आजको नेकपाभित्रको अन्तर संघर्ष हो । यो यत्नलाई परिणामसम्म पुग्न दिऊँ । कार्यकर्तालाई नियमको चुक्लीमा कसेर आफू नियममा नछिर्नु भन्दा बेइमानी कम्युनिस्ट आन्दोलनमा अरु के हुन सक्छ । कृपया कम्युनिस्ट आन्दोलनको गौरवशाली यात्रा कुनै एक नेताको आयुसँगै सकिने नबनाइ्योस् । आँखा नछोपियोस् र नभनियोस् कि म नियम मान्दिनँ । कथित घरबेटीले डेरा खोज्न थालेपछि बुुझेहुन्छ कि घर भत्किँदैछ वा तिनले त्यसमा आगो झोस्ने छन् । यसका विरुद्ध खबरदारी गरौं । आज डबल नेकपाको विकल्प डबल नेकपा नै हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies