काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन फेरि गर्ने वा नगर्नेबारे विषय विज्ञहरुसँग छलफल गरेका छन् । विपक्षी दलहरु नेपाली काँग्रेसका सभापति शेरबहादु देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई समेत बोलाइएको छलफलमा प्रधानमन्त्री ओलीले भने आफ्नो कुरा धेरै राखेका थिए । विज्ञहरुलाई महामारीबारे आफैं व्याख्या गरेका प्रधानमन्त्री ओली आफ्नै पार्टी नेकपाका नेताहरुविरुद्ध खनिएका हुन् ।
प्रधानमन्त्री ओलीले कोभिड–१९ महामारीबारे नेकपाकै नेताहरुले बुझ्न नसकेको बताए । प्रधानमन्त्रीले महामारीको संकट गम्भीर रुपमा लिनुपर्ने भएपनि लापरवाही र जनताप्रति उदासीन हुने काम भइरहेको बताए ।
“सरकारले २५ जना भन्दा बढी भेला हुन रोक लगाएको छ । तर, केही मानिस, केही माध्यम र केही संस्थाहरुमा अत्यन्तै गैह्रजिम्मेवारपन देखिन्छ । यथार्थमा भन्दा अन्त बुझ्न गइरहन पर्दैन, मेरै पार्टीमा देखिन्छ”, ओलीले भने । ४५० जना रहेको केन्द्रीय कमिटी बैठक बस्न नसकिने संकेत गर्दै प्रधानमन्त्री ओलीले भने, “केन्द्रीय कमिटी कहाँ बस्ने हो ? के गर्ने हो ? त्यस्तो सोच केही पनि छैन। तर, बैठक चाहिँ चाहियो भन्ने कुरा त मेरै पार्टीमा छ ।”
प्रधानमन्त्री ओलीले स्थायी कमिटी बैठक बस्नुपर्ने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाइबारे पनि ओलीले आपत्ति जनाएका थिए । छलफलमा बोलाइएपनि प्रचण्ड भने अनुपस्थित थिए ।
प्रचण्ड अनुपस्थित छलफलमा प्रधानमन्त्री ओलीले जनतामा हुने असन्तुष्टि र आक्रोशलाई आफूले स्वाभाविक रुपमा लिएको बताए । तर, फरक आस्था र विश्वासकै कारण राम्रो कामको विरोध गर्ने प्रवृत्तिसँग भने सजग रहनुपर्ने बताए । “जनताका सामान्य असन्तुष्टि र आक्रोशलाई स्वाभाविक मान्न सकिन्छ, तर जे गर्यो त्यसको आँखा चिम्लेर विरोध गर्ने जुन परिपाटी छ, त्यसले सही बाटो देखाउँदैन” प्रधानमन्त्री ओलीले भने, “विरोध एउटा विषयमा गरेको हुन्छ, विरोधको उद्देश्य अर्कै कुरासँग गाँसिएको हुन्छ । भर्खर गाउँगाउँमा निकासा दिएको रकमको हिसाब खै भन्ने शैलीको विरोध हुन्छ ।”
प्रधानमन्त्री ओलीले सबै क्षेत्र र निकाय मिलेर महामारीको सामना गर्नुपर्ने बताए । “कोभिड–१९ को विश्वव्यापी महामारी नियन्त्रण गर्न सरकारको प्रयासले मात्र सम्भव छैन । जनतामा चेतना जति बढाउन सकिन्छ, कोरोनाविरुद्धको लडाइँ जित्न त्यति सजिलो हुन्छ”, प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्र गुरागाईंले प्रतिदिन १८ हजारसम्मको पिसिआर परीक्षण गर्न सक्नेगरी ल्याब स्थापना गरिएको र हाल सम्म चार लाख जनाको परीक्षण गरिएको रिपोर्ट प्रस्तुत गरेका थिए ।
छलफलमा सहभागी काँग्रेस सभापति देउवा कोभिड–१९ को संक्रमण बढेककाले आइसोलेसन वार्ड विस्तार र भेन्टिलेटरको अत्यावश्यक प्रबन्ध गर्न सुझाव दिए । स्वास्थ सामग्रीको पर्याप्त प्रबन्ध गर्न र कोरोना संक्रमणको उपचारमा अत्यावश्यक पर्ने औषधि आयातमा तदारुकता देखाउन सरकारलाई सुझाव दिएका थिए ।
सभापति देउवाले कोरोना रोकथाम र उपचारमा हालसम्म भएका प्रगति र कमजोरीको समीक्षा गरी स्वास्थ सामग्री खरिदमा भएको भनिएको अनियमितता सम्बन्धमा कारवाही गर्न सरकारसँग माग गरे । काँग्रेसले आरडिटी परीक्षण स्थायी रुपले अन्त्य गर्न, सम्पूर्णरुपले पिसिआर परीक्षण गर्दै एक प्रदेशमा एक लाख नयाँ परीक्षण तत्काल प्रारम्भ गर्ने गरी आवश्यक बन्दोबस्त गर्न, मापदण्डअनुरुप क्वारेन्टिनको यथाशीघ्र व्यवस्थापन गर्न र विदेशमा अप्ठ्यारामा परेका नेपालीको निःशुल्क उद्धार गरी क्वारेन्टिन र परीक्षणपश्चात् घर पु¥याउने व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies