काठमाडौं : पार्टीभित्र खासै बलियो गुट नभएपनि उपाध्यक्ष वामदेव गौतम शक्तिशाली र निर्णायक पात्र बन्दै गएका छन् । यतिसम्म कि उपाध्यक्ष गौतमलाई भेट्न अध्यक्षहरू नै उनकै निवास भैसेपाटी पुग्ने अवस्था सिर्जना भएको छ । मंगलबार बिहान गौतमलाई भेट्न प्रचण्ड भैसेपाटी पुग्नुले त्यही संकेत गर्छ ।
पूर्व प्रधानमन्त्री समेत रहेका र पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड उपाध्यक्ष गौतमको निवास पुग्नुले गौतमको महत्व प्रष्ट्याएकै छ । किनभने, गौतमको निवास भैसेपाटीमा साउन १३ गते मात्रै मुलुकका शक्तिशाली प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली पुगेका थिए । पत्नी राधिका शाक्य सहित परिवार प्रधानमन्त्री भैसेपाटी पुगेको साता दिनभित्रै प्रचण्ड भैसेपाटी पुगेका छन् ।
भेटवार्तामा भएको सम्वाद सार्वजनिक नभएपनि यो भेटवार्तामा प्रचण्डले गौतमलाई मनाउने प्रयास गरेको स्रोत बताउँछन् । हुन पनि गौतमले ६ बुँदे प्रेस नोट सार्वजनिक गरेपछि नेकपा विवादले समेत मोड लिएको छ । गौतमले एकताको महाधिवेशन नभएसम्म अध्यक्ष र पाँच वर्ष नै प्रधानमन्त्री ओली हुने प्रस्ताव ल्याएका छन् । जबकी नेकपाभित्र दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने पक्षमा गौतम आफैं अगाडि बढेका थिए । आफ्नै निवासबाट गठबन्धन शुरु गरेका प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई समेत गौतमले सम्बोधन गर्ने प्रयास गरेका छन् ।
प्रचण्डलाई कार्यकारी अध्यक्षको भूमिका लिखित रुपमै प्रष्ट पार्ने प्रस्ताव गरेका छन् भने खनाल–नेपाल समूहको माग सम्बोधन हुनेगरी सवैले पार्टी निर्णय मान्नुपर्ने प्रस्ताव ल्याएका छन् । अर्थात्, गौतमको प्रस्ताव मध्यमार्गी मात्रै छैन, दुवै समूहलाई नाफा पुग्ने प्रकृतिको छ ।
त्यसैले लगभग आफू बाहेक कोही पनि नरहेका गौतम नेकपाभित्र तानातानमा परेका छन् । आइतबार देखि लगातार ओली र प्रचण्ड छलफलमा रहिरहेका बेला गौतमलाई भेट्न प्रचण्ड भैसेपाटी पुग्नुले पनि त्यसैको संकेत गर्छ । गएको असार १० गतेदेखि शुरु भएको स्थायी कमिटी बैठक लगातार अवरुद्ध भइरहेका उपाध्यक्ष गौतम भने तानातानमा परेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies