काठमाडौं : मलेसियास्थित नेपाली दूतावासले कोरोना भाइरस (कोभिड–१९) का कारण रोजगार गुमाई स्वदेश फर्किनुपर्ने बाध्यतामा रहेका तर जहाज भाडा जुटाउन नसकेका नेपाली कामदारहरुलाई सरकारी खर्चमा उद्धारका लागि निवेदन लिन शुरु गरेको छ । मन्त्रिपरिषद्ले कोारेना भाइरसका कारण वैदेशिक रोजगारी गुमाई अलपत्र परेका नेपाली कामदारको उद्धार गर्ने सम्वन्धी निर्देशिका २०७७ जारी गरेपछि स्वदेश फर्काउनुपर्ने बाध्यताका नेपाली कामदारहरुको सूची तयार पार्ने जिम्मेवारी सम्बन्धित मुलुकमा रहेका नपाली दूतावासहरुले पाएका छन् ।
दूतावासमा प्राप्त निवेदनहरु परराष्ट्र मन्त्रालय हुँदै वैदेशिक रोजगार बोर्डमा आएर बोर्डमार्फत रकम निकाशा भएपछि निवेदन दिनेमध्ये मापदण्डभित्रका कामदार सरकारी खर्चमा स्वदेश फर्किन पाउने छन् । श्रम स्वीकृति वा पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको ३ वर्ष ननाघेका, सम्बन्धित सरकार, रोजगारदाता, रोजगारीमा पठाउने ईजाजतपत्रवाला संस्था वा अन्य स्रोतबाट हवाई टिकट नपाएका वा आफ्नै खर्चमा नेपाल फर्किन नसक्ने अवस्थाका कामदारहरुले सरकारी खर्चमा स्वदेश फर्किन आवेदन दिन सक्ने व्यवस्था छ ।
रोजगारीमा गएको एक वर्षभन्दा कम अवधिमा रोजगारी गुमाएको भएमा स्वदेश फर्किने टिकटको सम्पूर्ण रकम, एकदेखि तीन वर्षको अवधिमा रोजगारी गुमाएको भएमा जहाज भाडाको ७५ प्रतिशत, पुनः श्रम स्वीकृति लिएर गएको भएमा जहाज भाडाको ५० प्रतिशत, श्रम स्वीकृतिको अवधिभित्र थुनामा परेर आममाफी पाई स्वदेश फिर्ती केन्द्रमा रहेका कामदारले सम्पूर्ण खर्च र गैर आवासीय नेपाली संघजस्ता अन्य कुनै निकायबाट आंशिक सहयोग पाएका कामदारले अपुग रकम र विमानस्थलदेखि क्वारेन्टिन सेन्टरसम्म जान लाग्ने सबै खर्च कोषबाट पाउने प्रावधान छ ।
आममाफी पाएर स्वदेश फिर्ती केन्द्रमा रहेका कामदारलेसमेत सरकारी टिकटको लागि दूतावासमा निवेदन दिन पाउनेछन् । नेपाली दूतावासले सजायबाट आममाफी पाएका, घरफिर्ती केन्द्रमा रही हाल नेपाल आउन अनुमति पाएका, जुनसुकै कारणले बहिर्गमन भिसामा रहेका र रोजगारी गुमाएकालाई घर फर्काउन प्राथमिकतामा राखिएको बताएको छ ।
क्वालालम्पुरस्थित नेपाली दूतावासले बुधबार जनाएअनुसार आफू समस्यामा परेको र घर फर्किने खर्च अभाव भएको कुरा खुलाएर दूतावासको ईमेल वा हटलाइन नम्बरमा ह्वाट्स एपबाट फोन गरेर समेत निवेदन दिन सकिने छ । स्वदेश फर्किनुपर्ने कामदारले निवेदनको साथमा भिसा लागेको राहदानीको प्रति र करारपत्रको प्रतिलिपि पनि राख्नुपर्ने छ । घर फर्किनुपर्ने बाध्यतामा रहेका कामदारहरुलाई जहाज टिकट उपलब्ध नगराउने रोजगारदाताको मागपत्र ५ वर्षसम्म प्रमाणीकरण नगरिने नेपाली दूतावासले स्पष्ट पारेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies